यहाँका किसानले स्याउको बिरुवाबाट मनग्ये आम्दानी गर्ने गरेका छन् । जिल्ला कृषि विकास कार्यालयको ‘एक घर एक स्याउ’ बगैंचा कार्यक्रमसँगै जुम्ली स्याउको बिरुवाको माग दिन प्रतिदिन बढेको हो । गत वर्ष मात्रै स्याउको बिरुवा बिक्रीबाटै जिल्लामा झन्डै २७ लाख रुपैयाँ भित्रिएको कार्यालयको तथ्यांक छ।
यहाँका ११० फलफूल नर्सरीबाट यस वर्ष १ लाख ७ हजार बिरुवा निर्यात भएको कार्यालयले जनाएको छ । स्याउको बिरुवा प्रतिगोटा औसतमा २५ रुपैयाँले बिक्री भएको वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले बताए । उनले भने, ‘यहाँ उत्पादित स्याउका बिरुवा देशैभर पुग्छ ।’ गत वर्ष सबैभन्दा बढी २४ हजार बिरुवा डोल्पाामा निर्यात भएका छन् ।
स्याउ आत्मनिर्भर कार्यक्रम लागू भएपछि कर्णालीका पा“चै जिल्लामा स्याउका बगैंचा विस्तार भइरहेका छन् । कर्णालीका ४ जिल्लामा ४० हजार बिरुवा निर्यात भएका छन् । जिल्लाभित्रै उत्पादन हुने भए पनि जुम्लाबाट डोल्पामा २४ हजार, मुगुमा ७५ सय, कालीकोटमा ४५ सय र हुम्लामा ४ हजार बिरुवा निर्यात भएको कृषि विकास कार्यालयले जनाएको छ ।
कलमी प्रविधिबाट यहाँ उत्पादन भएका बिरुवा पूर्वाञ्चलको सोलुखुम्बु र सुदूरपश्चिमको दार्चुलासम्म पुगेको कार्यालयले जनाएको छ । कार्यालयको सिफारिस लिएर मात्रै बिरुवा जिल्लाबाहिर लैजान पाउने व्यवस्था गरिएको छ । सोलुखुम्बुमा २ हजार र दार्चुलामा ५५ सय बिरुवा पठाइएको छ ।
जिल्लामा नर्सरी धनीले एउटा बिरुवा बिक्रीबाट २० देखि ३० रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । नर्सरी धनीले जिल्लाभित्रैका किसानलाई बिक्री गरेको आम्दानीबाहेक जिल्ला बाहिरबाट करिब २७ लाख रुपैयाँ आम्दानी भएको छ ।
स्याउको माग बढ्दै गएपछि किसानले स्याउ खेतीसँगै बिरुवा उत्पादनमा पनि जोड दिन थालेको कार्यालयका सूचना अधिकारी बालकराम देवकोटाले बताए । उनले भने, ‘स्याउ र स्याउका बिरुवाबाट कृषकले फाइदा लिइरहेका छन् ।’
जिल्लामा सय बढी स्याउका बिरुवा उत्पादन गर्ने नर्सरी छन् । उनीहरुले २५ रुपैयाँमा प्रतिबिरुवा बिक्री गर्दै आए पनि कार्यालयले अनुदानमा कृषकलाई बिरुवा वितरण गर्ने गरेको छ । नर्सरीबाट २५ रुपैयाँमा खरिद गरेको बिरुवा कार्यालयले २ रुपैयाँमा बिक्री गर्छ । किसानले अनुदानमा पाएको बिरुवा हुर्काउन पनि अनुदान दिने गरेको छ । प्रतिबिरुवा वार्षिक सय रुपैयाँ दिन्छ ।
जुम्लामा ३१ सय हेक्टरमा स्याउ खेती गरिएको छ । गत वर्ष ८ सय हेक्टरमा मात्रै स्याउ फलेको थियो । एक घर एक बगैंचा अभियानले स्याउ उत्पादन वृद्धि भए पनि सहज यातायात सुविधा र उचित बजारीकरणको व्यवस्था हुन सकेको छैन । खेती गरिएको ३१ सय हेक्टरमै स्याउ उत्पादन भए र बजार पाउन सके यहाँको अग्र्यानिक स्याउ देशभरि पुग्नेछ । वार्षिक स्याउ उत्पादनबाट जिल्लामा १६ करोडभन्दा धेरै भित्रिने गरेको छ । जिल्लाका ७ गाउँपालिका र १ नगरपालिकामा स्याउ फल्छ ।
(टोटल मासिकबाट)
https://www.khabarera.com/total/?p=2910
प्रकाशित मिति: ६ असार २०७४, मंगलवार २०:१८