दमौली, ६ असार । जिल्ला समन्वय समिति तनहुँ स्थानीय विकास अधिकारीविहीन भएको छ ।
यसअघिका स्थानीय विकास अधिकारी बद्रीप्रसाद तिवारी प्रधानमन्त्रीको निजी सचिवालयमा सरुवा भई जानुभएपछि तनहुँ स्थानीय विकास अधिकारीविहीन भएको हो ।
असारको २ गते तिवारी सरुवा भई त्यसतर्फ लागेपछि जिल्ला समन्वय समितिमा यो स्थिति आएको हो । असारका बेला सम्पन्न भएका आयोजनाको रकम भुक्तानी लिन उपभोक्ता र ठेकेदार आउने गरे पनि स्थानीय विकास अधिकारी नहुँदा समस्या परेको स्रोतले बतायो ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट अञ्जन न्यौपाने स्थानीय विकास अधिकारीको रुपमा तनहुँमा आउने जिल्ला समन्वय समितिका लेखापाल अनिल गोदारले बताए ।
न्यौपाने यसअघि पनि शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा रहँदा काजमा चार महिना तनहुँमा स्थानीय विकास अधिकारीको रुपमा आउनुभएको थियो ।
पाँच म्यादी प्रहरीले राजीनामा दिए
यसैबीच, पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि नियुक्त भएका तनहुँका म्यादी प्रहरीमध्ये पाँच जनाले राजीनामा दिएका छन् ।
पाँचजना म्यादी प्रहरीले राजीनामा दिएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए । घरायसी समस्या र विदेश जानुपर्ने कारण देखाउँदै उनीहरुले राजीनामा दिएका हुन्, जोशीले भने ।
सुरुमा ५५ दिनका लागि नियुक्ति दिइएको म्यादी प्रहरीका लागि सरकारले पछि २० दिन थप गरेको थियो । तनहुँमा ७८८ जना म्यादी प्रहरी नियुक्त भई निर्वाचनमा खटिएका थिए ।
तनहुँका म्यादी प्रहरी कामप्रति लगनशील, इमान्दार र कर्तव्यनिष्ठ पाइएको बताइएको छ । अन्य म्यादी प्रहरी अहिले पनि जनपद प्रहरीसँग सहकार्य गरी शान्ति सुरक्षामा खटिरहेका छन् । रासस
प्रकाशित मिति: ६ असार २०७४, मंगलवार ०८:२३