शुक्रबार मात्रै सल्यानमा दुई वटा सडक दुर्घटना भए । बिहान घरबाट विद्यालय गएका बागचौर नगरपालिका १ गैराबेतका ९ वर्षीय स्कुले बालक गोपाल बुढाथोकी विद्यालयको गाडीबाट झर्ने बित्तिकै सडक दुर्घटनाको शिकार भए । परिवारका सपना मात्रै होइन आफ्नै कलिला सपना बोकेर विद्यालय पुगेको एउटा बालकका सपनाहरु ढोरचौरको मोखला बजारमा बिसर्जन भए ।
आक्रोषित भिडले बालकलाई ठक्कर दिने गाडीमा आगजनी गरे, यति हुँदाहुँदै पीडितहरु आक्रोषित बन्दै गर्दा जिल्ला सदरमुकाम खलंगाबाट थप सुरक्षा बल समेत घटनास्थलमा बोलाउनु पर्यो । घटनाक्रम जुनसुकै कोणबाट अगाडि बढेपनि एउटा स्कुले बालकको जीवन सदाका लागि समाप्त भयो । कारण त्यही सडक दुर्घटना । यति मात्रै नभएर शुक्रबार नै शारदा नगरपालिका श्रीनगर नजिक दुई मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जना गम्भिर घाइते हुन पुगे ।
प्रश्न यही निर आउँछ दुर्घटना बढ्दै छन् तर यसका जिम्मेवार को ? बर्षेनी सवारी साधनहरुको चाप बढेको बढ्यै छ, घरघरमा मोटरसाईकल नहुनेहरु कमै छन्, यात्रु बाहक बसहरुको संख्या बढेको छ, सबैका लागि यो सुविधाको कुरा हुनु निश्चय पनि जायज कुरा होला यद्यपी यी सवारी साधनहरु गुड्ने बाटो कस्तो छ यो अवस्था प्रति कसैको ध्यान नजानु नै गम्भिर कुरा हो ।
राप्ती लोकमार्गको ओटासिलको अवस्थालाई हेर्ने हो भने अवस्था दर्दनाक छ । सडक झिया झिया बन्दै छ तर आम सरोकारवाला पक्ष मौन देखिन्छ । जताततै अवस्था यही छ जब हामी सडकमा हिड्छौ अवस्थाको बारेमा चर्चा गर्छौ तर यसले सरोेकारवाला निकायमा महत्व पाउँदैन । जब सडक दुर्घटनाहरु बढ्दै जान्छन् केही दिनका लागि केही माहोल तातिएको जस्तो देखिएपनि फेरि सेलाउँदै जान्छ, किनकी विगत हामीले यसरी नै भोग्दै आएका छौं ।
सडक सहज बनाउनु हामी सबैको दायित्व बन्नुपर्छ । यसको सामाधानका लागि आग्रह पूर्वाग्रह नराखी सबै एकजुट बनौ सडक दुर्घटना न्यून हुँदै जानेछ ।
सवारी साधनको चाप बढ्दै छ यसमा हामीले गर्व गर्दैछौं । यातायातका साधनहरु खरिद गर्ने कुरा तर तिनै सवारी साधन गुड्ने सडकको विषयमा हामीले कहिले सोचेनौं । यो सव जिम्मेवारी आम मानिसले कसैको भरमा छोडे झै गर्यौं र यो क्रमिक रुपमा सुनसान बन्दै गयो ।विभिन्न मागहरुमा बन्द हड्ताल नारा जुलुस गर्न सिकेकाहरुको बिचमा यो आम चासोको सडकको अवस्था प्राथामिकतामा पर्न सकेन । सडक अवस्थाका विषयमा हामीले विरोधपूर्ण गतिविधिहरु गर्न सकेनौं किनकी हामीले सोच्याैँ सडक त आम जनताको हो । तर यो सडकको दुर्दशा हरेकको काल बन्दै गयो ।
सडक बहसलाई प्राथाकिता ल्याउन नसक्नु अनि अवस्था खस्कदै जानु आम जनताका लागि बिडम्बना बन्दै गएको छ । तर सडक दुर्घटनाको यो एउटा कारण भएपनि यसका अन्य कारणहरु पनि हामीसँग जोडिएका छन् । दुर्घटना एउटाका कारणले मात्रै हुने कुरा होइन अर्काको दोषका कारण पनि भएका छन् । मदिरा सेवन गरी सवारी साधन हाक्दा समेत ठक्कर लागेर निर्दोष व्यक्तिहरु दुर्घटनाका शिकार बन्न पुगेका छन् । बाटोको अवस्थालाई मध्यनजर नगरेर नै बेतोडले सवारी साधन कुदाउने, ट्राफिक नियमको पालना नगर्ने जस्ता प्रबृतिले समेत सडक दुर्घटना बढ्दै गएका छन ।
यातायातका साधनहरुको गति सिमित गर्न ट्राफिक प्रहरीको चेकपोष्ट विभिन्न बजार क्षेत्रमा स्थापना गर्न आवश्यक छ । बजार क्षेत्रमा सडक बाटोे छेउमा विभिन्न सामग्री थुपार्ने जस्ता कामले बाटो साँघुरो बन्दै जाँदा दुर्घटना निम्तिएका छन् । बिचबिचमा कहिले काँही छड्के रुपमा बसेर जरिवाना काट्ने ट्राफिकको कामले मात्रै यसको सामाधान अपुरो हुन्छ । प्रहरी प्रशासनले नियमलाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने देखिन्छ । यसका लागि जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्न जरुरी छ ।
बालवालिकाहरु सडकमा बेबारिसे झै गरी छोड्ने कुरा प्रति सबैले सोच्ने बेला आएको छ । अवस्था यसरी बढ्दै जाँदा सडक दुर्घटना हामी सबैको चासो र प्राथामिकताको विषय बन्न जरुरी छ । राज्यले पूर्वाधार निर्माणमा जोड दिनु पर्दछ सडक विस्तार, स्तरोन्तिलाई महत्व दिने र आम जनताले यसमा साथ दिनुपर्दछ । सडक सहज बनाउनु हामी सबैको दायित्व बन्नुपर्छ । यसको सामाधानका लागि आग्रह पूर्वाग्रह नराखी सबै एकजुट बनौ सडक दुर्घटना न्यून हुँदै जानेछ ।
प्रकाशित मिति: ३ असार २०७४, शनिबार १८:०२