बनियानी (झापा), २ असार । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि आकर्षक योजना बोकेर उम्मेदवारहरु जनताका घरदैलोमा गइरहेका छन् ।
सम्पन्न र समृद्ध नगरपालिका-गाउँपालिका बनाउने योजना बोकेर हिँडेका उनीहरु आफूलाई प्राप्त हुने सरकारी सुविधा जनसेवामै खर्चिने बाचा पनि गरिरहेका छन् ।
नेपाली काँग्रेसका तर्फबाट बिर्तामोड नगरपालिकाका प्रमुख पदका उम्मेदवार बनेका जलकुमार गुरुङले नगरको विकास र समाजसेवा गर्ने उद्देश्यले नै आफू चुनावमा उठेको बताए ।
आफू विजयी भए सरकारले प्रदान सेवा सुविधा नागरिककै सेवा र विकास निर्माणमा खर्चने प्रतिबद्धता पनि उनले जनाएका छन् ।
त्यस्तै, काँग्रेसकै तर्फबाट कनकाई नगरपालिकाका प्रमुखका प्रत्याशी रहेका एकराज उप्रेतीले विजय भए पाउने सेवा सुविधामा अझ थपेर गरिब, अनाथ बालबालिकाको शिक्षा र स्वास्थ्यमा खर्च गर्ने बताए । “चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुग्दा धेरै नरमाइलो लाग्यो,” उप्रेतीले भने – “कतिपय ठाउँमा चरम गरिबी र अभाव देखेँ । त्यसपछि सरकारी सुविधा आफूले सक्नेजति थपेर सहयोग गर्ने विचार आयो ।”
नेकपा (माओवादी केन्द्र)का दमक नगरपालिकाका प्रमुख पदका उम्मेदवार गगन पुरीले पनि सेवा सुविधा नलिने घोषणा गरेका छन् । “आर्थिक लाभका लागि म उम्मेदवार बनेको होइन,” उनले भने – “मैले पाउने सेवा सुविधाबापतको रकम दमकको विकास निर्माणमै लगानी गर्छु ।”
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट गौरीगन्ज नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्नुभएका बाबुराजा श्रेष्ठले निःस्वार्थ रुपमा नागरिकको सेवा गर्ने उद्देश्यले उम्मेदवार भएको बताए । उनले पनि आफू निर्वाचित भए पाउने सरकारी सुविधा विपन्न समुदायको हितमा खर्चिने योजना सुनाए । रासस
प्रकाशित मिति: २ असार २०७४, शुक्रबार १६:४१