कञ्चनपुर, १ असार । शुक्लाफाँटा नगरपालिका–१० का दिनेश विकले सिमेन्ट, सरिया र माटोको प्रयोग गरी मूर्ति बनाई मासिक रु एक लाखसम्म आम्दानी गर्दै आएका छन् ।
ग्राहकको माग अनुसारका धार्मिक मूर्ति निर्माण गरी विकले स्थानीय झलारी बजारमा सञ्चालन गरेको पसलबाट बिक्री गर्दै आएका छन् । उनले ठूला मूर्ति ग्राहकको मागअनुसार मन्दिरमै गएर समेत निर्माण गर्ने गर्छन् ।
“एउटा मूर्ति निर्माण गरेर रु १० हजारदेखि रु २० हजारसम्म पारिश्रमिक लिने गरेको छु,” उनले भने । शिव, पार्वती, नन्दी, गणेश, श्रीकृष्ण, राम, सीता र मुसाको मूर्ति निर्माणका लागि कञ्चनपुर, कैलाली, डडेल्धुरा, बैतडी, दार्चुलालगायत जिल्लाबाट माग आउने गरेको विकको भनाइ छ ।
“बुबाको प्रेरणाबाट मूर्ति बनाउने कला सिकेको हुँ,” उनले भने । मूर्ति निर्माणकै कमाइले झलारी बजारमा रु १० लाखको जग्गा खरिद गरेको विकले बताए । दसैँ, तिहार र नयाँवर्षका अवसरमा मूर्ति निर्माणका लागि बढीजसो माग हुने गरेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रबाट विस्थापनमा परेका विक अहिले मूर्ति बनाएरै मनग्य आम्दानी गर्न सफल भएका छन् । रासस
प्रकाशित मिति: १ असार २०७४, बिहीबार १४:५०