भोजपुर, ३० जेठ । सूचना तथा सञ्चार मन्त्रालयका पूर्व सञ्चार सल्लाहकार राजेन्द्र किराँतीले पत्रकारले पूर्वाग्रहरहित समाचार सम्प्रेषण गर्नुपर्ने बताएका छन् ।
सोमबार नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भोजपुरको आयोजनामा भएको ‘स्थानीय तहको निर्वाचनमा दलहरुको एजेन्डा तथा पत्रकारको भूमिका’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्नुहँुदै उनले सुक्ष्म अध्ययन गरेर मात्रै समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।
निर्वाचनको सन्दर्भमा दलहरुका उम्मेदवारले उठाएका एजेन्डा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउने र स्थानीय तहको विकास तथा आर्थिक समृद्धिको लागि काम गर्ने व्यक्तिका लागि जनताले मतदान गर्ने सहभागीको धारणा थियो ।
बीस वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा जनताको उत्साह भएकाले यसका लागि सञ्चारमाध्यमले समेत सकारात्मक सन्देश प्रवाह गर्नेमा विश्वस्त रहेको उनहरुको भनाइ थियो ।
बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता
यसैबीच, निर्वाचनका कुनैपनि गतिविधि सञ्चालनमा बालबालिकाको प्रयोग नगर्ने भनी सरोकारवालाले सामूहिक प्रतिबद्धता जनाएका छन् ।
चुनावी प्रचारप्रसारका लागि भोजपुरका केही दलहरुले बालबालिकाको प्रयोग गरेको भन्दै निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न बालबालिका र बाल अधिकारकर्मीले दलहरुलाई आग्रह गरेका हुन् ।
निर्वाचनमा बालबालिकाको प्रयोग निर्वाचन आचारसंहिता विपरीत हुने र बालअधिकारको हननसमेत हुने भएकाले निर्वाचनमा बालबालिका प्रयोग नगर्न अनुगमन समितिसमेत गठन गरिएको छ ।
जिल्लामा क्रियाशील १३ राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने गरी सामूहिक प्रतिबद्धता गरेका छन् । रासस
प्रकाशित मिति: ३० जेष्ठ २०७४, मंगलवार १२:४६