कपिलवस्तु । बहादुरगन्ज चोकमा अहिले दिनहुँ युवाहरूकै भीडभाड देख्न सकिन्छ । मधेसी मोर्चाको आन्दोलनमा प्रभावित बनेको बहादुरगन्ज चोक अहिले शान्त बनेको छ । चोकमा आउने युवा चुनावमै केन्द्रित रही छलफलमा जुटेका हुन्छन् । बहादुरगन्जका अंकुश श्रीवस्ताव, मनीष गुप्ता, निरहु यादवलगायत युवाहरू अहिले स्थानीय तह चुनावपछिका परिवर्तनका बारेमा बहस चलाइरहेका हुन्छन् । उनीहरू युवालाई नेतृत्व दिए चाँडै समाजको मुहार फेरिनेमा आशावादी देखिएका छन् । कपिलवस्तुका अधिंकाश नगरपालिका र गाउँपालिकामा अहिले चुनावी सरगर्मी बढेको हो । यो क्षेत्रमा स्थानीय तह चुनाव दोस्रो चरण अर्थात् जेठ ३१ का लागि तय गरिएको छ ।
शिवराज नगरपलिका ३ का ३० वर्षीय राजु खराल वडा अध्यक्षको तयारी सँगै माहोल बनाउन व्यस्त देखिन्छन् । उनी भन्छन्, ‘राजनीतिक परिवर्तनको अग्रमोर्चामा रहेका युवालाई नेतृत्व दिनु अहिलेको आवश्यकता हो ।’ युवाहरूलाई जिम्मेवारी दिनु भनेकै समाजको विकास रहेको उनको ठम्याई छ । उनी मात्र होइन ३४ वर्षीय दीपक गैरे पनि अहिले चुनावी माहोल बनाउनमै व्यस्त छन् । गैरे भन्छन्, ‘युवा जमातलाई सदुपयोग गरी समाज विकासमा सेवा गर्ने मौका दिनु आवश्यक छ ।’ चुनावी दौडमा रहेका युवाहरुले सामाजिक सञ्जालसँगै स्थानीय पत्रपत्रिकामार्फत आफ्ना अभिव्यक्तिहरु सार्वजनिक गरिरहेका छन् ।
त्यस्तै शिवराज नगरपालिका मेयर पदका उम्मेदवार २८ वर्षीय अजय थापा भन्छन्, ‘अहिले युवाहरूले आफ्नो मनाशाय बनाएका छन् । युवालाई जिम्मेवारी दिनुपर्छ ।’ जसरी महिला र अन्य अल्पसंख्यकको प्रतिनिधित्व सुनिश्चित गरिएको छ, त्यसैगरी प्रत्येक निकायमा कम्तीमा ७५ प्रतिशत युवा प्रतिनिधित्वको वातावरण बनाइनुपर्ने थापा बताउ“छन् ।
युवाहरूले पनि राजनीतिक गतिविधिमा चासो राख्ने, असल र खराब छुट्याएर आफ्नो भूमिका निर्माण गर्ने हुँदा अवसर दिनुपर्ने उनले बताए ।
युवा नेता तौलेश्वर कुर्मी पनि अबको नेतृत्व युवामै हस्तान्तरण हुनुपर्नेमा जोड दिन्छन् । स्थानीय चुनावले युवामा उत्साह छाएको छ । १९ वर्षपछि हुन लागेको चुनावमा युवा मतदाताको जमात ठूलो देखिन्छ । ‘पछिल्लो स्थानीय चुनावताका जन्मिएका व्यक्ति अहिले मतदाता भएका छन्,’ बहादुरगन्जका २२ वर्षीय अभय सिंहले भने, ‘पहिलोपटक मतदान गर्ने मौका मिल्दै छ ।’ ‘मुलुकलाई बूढापाकाको होइन, युवा नेतृत्व आवश्यक छ,’ चन्द्रौटाका माधव घिमिरेले भने, ‘सडक, स्वास्थ्य, खानेपानी सुरक्षासँगै गाउँको विकास युवाले नै गर्न सक्छन्, युवाले विकासको महत्व बुझेका छन् ।’ पटक–पटकको चुनावमा युवालाई राष्ट्रको कर्णधार भन्दै उत्साही बनाएर प्रयोग मात्रै गरिएको समाजसेवी निसार धोबी बताउ“छन् । ‘तर युवालाई नेतृत्व, विकास र सत्ताको साझेदार बनाइएन,’ उनले भने, ‘त्यसैले मुलुकबाट युवा पलायन बढ्दै गयो, जसका कारण विकास निर्माण ठप्प भए ।’ युवा पलायन रोक्न पनि युवा नेतृत्व आवश्यक रहेको उनले बताए ।
देशको आर्थिक, सामाजिक तथा राजनीतिक गतिविधिमा जबसम्म युवाको भूमिका उच्च रहँदैन तबसम्म विकासले गति लिन सक्दैन भन्ने अहिलेको सोच बनेको छ । नेपालको राजनीतिक विकासक्रम हेर्दा पनि विभिन्न कालखण्डमा राजनीतिक परिवर्तनको आन्दोलनमा युवा भूमिका महत्वपूर्ण देखिन्छ । २००७, ०४६ र ०६२÷६३ को आन्दोलनका क्रममा युवापंक्ति उभिएको पाइन्छ । समयक्रममा देशको राजनीतिक व्यवस्था बदलिएको छ, यही अवस्थामा अब गर्नुपर्ने काम विकास र समृद्धिको नै हो।
(टोटल मासिकबाट)
https://www.khabarera.com/total/archives/2870
प्रकाशित मिति: ३० जेष्ठ २०७४, मंगलवार ०७:१९