सुर्खेत, २९ जेठ । उमेरले २१ कटेकी चौकुने गाउँपालिका गुटुकी तुलसी घिमीरे नबविवाहित हुन । ८ कक्षा पढेर छोडेकी तुलसीलाई भर्खर विहे गरेर श्रीमानको घरमा आउँदा आफ्नो भविष्यको योजना के हो भन्ने कुरा केही पनि थाहा थिएन । अहिले नै बच्चा बनाउने की पछि बनाउने आफ्नो अधुरो पढाइलाई पुरा गर्ने की नगर्ने भन्ने बारेमा उनले सोच्नै सकेकी थिइनन् ।
आठ कक्षामा पढ्दै गर्दा प्रेम विवाह गरेकी तुलसीले सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) द्धारा सञ्चालित प्रजनन् स्वास्थ्य अन्तर्गत नवजोडी अभियानमा जनचेतनामुलक कार्यक्रममा सहभागिता जनाउन थालेदेखि आफ्नो भविष्यको बारेमा बुझ्न र सोच्न थालेकी छिन् ।
उनले भनिन् ‘मलाई पहिला केही थाहा थिएन तर अहिले गाउँमा नवजोडी अभियान थालेदेखि गणेश दाई र वालीका दिदी आएर स्वास्थ्य सम्बन्धी र आफ्नो भविष्यको बारेमा सम्झाएर जानु भयो अनि बल्ल आफ्नो भविष्यमा के गर्ने त भनेर सोच्न थालेकी छु ।’ यसो भनिरहँदा तुलसीको अनुहारमा चमक छाइरहेको थियो । तुलसीले आफुले आफ्नो खुट्टामा उभिएपछि मात्रै बच्चा जन्माउने निर्णय गरेकी छिन् ।
यस्तै चौकुने गाउँपालिका ७ की माया न्यौपानेले पनि गाउँमा भएको प्रजनन् स्वास्थ्य अन्तर्गत नवजोडी अभियानबाटै स्वास्थ्य सम्बन्धीका धेरै कुराहरु जान्ने मौका पाएको बताइन् । उनले स्वास्थ्य सम्बन्धी कुरा थाहा पाए अनुसार आफुले व्यवहारमा लागु गर्दै जाने प्रतिवद्धता गरिन् ।
त्यस्तै चौकुने गाउँपालिका ७ की देविसरा वि.क. अहिले गर्भवती भएकी छिन् । गर्भवती अवस्थामा बेला बेलामा स्वास्थ्य जाँच गराउने, पोषिलो खाने कुरा खाने, आराम गर्ने जस्ता कुराहरु उनले नवजोडी अभियानबाट नै थाहा पाएर त्यसै गर्ने गरेकी छिन् । उनले भनिन् ‘हाम्रो गाउँमा गर्भवती भएपनि काम गर्नै पर्छ, के मिठो के नमिठो जस्तो भएनि खानै पर्छ, तर अहिले आएर सबै कुरा थाहा पाए ।’
उनका अनुसार गाउँमा काम गर्ने, आराम गर्न नपाईने, पोषिलो खानेकुरा खानुपर्छ भन्ने कुराहरु कुरामा मात्रै सिमित हुने गरेको बताइन् । नवजोडी अभियान अन्तर्गत सबै कुरा थाहा पाएपछि र यी कुराहरु लागु नगरे ज्यानै जाने खतराले गर्दा पनि आफुले यी कुरामा ध्यन दिएको देविसराले बताइन् ।
यस्तै गुटुकै निर्मला जोशीले पनि आफु गर्भवती भएदेखि नै नियमित जाँच गराउने, पोषिलो खानेकुरा खाने, आराम गर्ने जस्ता कामहरु गर्न थालेको बताइन् । आफ्नो काममा सबै सहयोग श्रीमानले गर्ने गरेको निर्मला बताउँछिन् । उनले नवजोडी अभियानबाट आफुले र श्रीमानले सबै कुरा थाहा पाएपछि श्रीमानले सबै काम गर्ने गरेको बताइन् ।
यसैगरी गुटुकै शान्ती वि.क.लाई सुत्केरी अवस्थामा घरमा श्रीमान र सासुले सघाउने गरेको उनले बताइन् । शान्तीकी सासु गौरीदेवि वि.क. पहिले गाउँकी स्वयमसेविका भएकै कारण पनि घरमा त्यस्तो अप्ठेरो नआएको बताउँछिन, शान्ती । उनले गाउँमा नवजोडी अभियान अन्तर्गत सबै कुरा जान्ने मौका पनि पाइन् र घरमा सासु र श्रीमानले पनि सबै कुरा बुझेकै कारण आफुलाई अप्ठेरो नभएको बताइन् ।
यस्तै पञ्चपुरी नगरपालिका ८ की सुस्मीता सलामीले पनि आफुले प्रजनन् स्वास्थ्य सम्बन्धी नवजोडी अभियान अन्तर्गत नै सबै कुरा थाहा पाएर स्वास्थ्यचौकीमा गएर प्रसुती गराएको बताइन् । सुत्केरी अवस्थामा सासु सुराले नै घरमा सबै काम गर्ने गरेको बताइन् । आफुसँगै सासु ससुरालाई नवजोडी अभियानबाट प्रजनन् सम्बन्धी सबै जानकारी भएर नै यो सम्भव भएको बताउँछिन्, सलामी ।
पञ्चपुरी नगरपालिका कै स्वयमसेविका लक्ष्मी राम्जालीले गाउँमा गएर आफुले स्वास्थ्य सम्बन्धी सबै कुराको जानकारी गराउने गरेको बताउँछिन् । उनले भनिन् ‘म स्वयमसेविका भएदेखि कसैका घरमा प्रसुती भएका छैनन्, सबै स्वास्थ्यचौकी नै जाने गर्छन् ।’ उनले सुत्केरी बोक्न सजिलो होस् भन्नका लागि स्टे«चर आफुसँगै राखेकी छिन् ।
यस्तै चौकुने गाउँपालिकामा सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) द्धारा सञ्चालित प्रजनन् स्वास्थ्य अन्तर्गत नवजोडी गणेश देउबा र वालिका देउबाले चौकुने गाउँपालिकामा प्रजनन् स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्दै आइरहेका छन् । उनीहरुले गाउँमा नवविवाहीत जोडी, गर्भवती महिला, सुत्केरी तथा आङ खस्ने महिला तथा उनीहरुको स–परिवारहरुलाई जानकारी गराउँदै आएका छन् ।
नवजोडी अभियानका गणेश देउबा गाउँमा पहिला प्रजनन् स्वास्थ्य बुझाउनै गाह्रो हुने गरेको बताउँछन । तर अहिले सम्झाउँदै जादाँ विस्तारै विस्तारै सबैलाई जानकारी दिन सहज भएको उनको भनाइ छ ।
यसैगरी पञ्चपुरी ८ की कमला आलेलाई पाठेघर खस्ने समस्याले सताएको थियो । आफ्नो समस्या कसैलाई नभनेकै कारण उनललाई झन झन सताउन थालेको थियो सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) द्धारा सञ्चालित प्रजनन् स्वास्थ्य अन्तर्गत नवजोडी अभियानबाट उनले प्रजनन् स्वास्थ्य सम्बन्धी जानकारी पाएर नै अहिले उनले जडिबुटी र दिनहुँ व्यायाम गर्ने गरेकी छिन् । २ छोराकी आमा कमलाले स्वास्थ्यमा ध्यान नदिएकै कारण पाठेघर खस्ने समस्याबाट ग्रसित हुन परेको थियो । तर अहिले उनी निको हुँदै गइरहेकी छिन् ।
यस्तै चौकुने गाउँपालिकाकी रंगा नेपालीलाई पनि तेस्रो चरणको पाठेघर खस्ने समस्या थियो । उनले आफुलाई पाठेघर खस्ने समस्याका बारेमा घरमा कसैलाई भनेकी थिइनन् । गाउँमा नवजोडी अभियानमा उनले प्रजनन् स्वास्थ्य सम्बन्धी सबै जानकारी पाएपछि मात्रै खुलेर भन्न सकिन र अहिले उनले नियमित व्याम र जडिबुटीको प्रयोग गरिरहेकी छिन् । उनले भनिन ‘अहिले राहत महशुस गरेकी छु ।’
यस्तै बराहताल गाउँपालिका ६ की लक्ष्मी नेपालीले गाउँमा नवजोडी अभियानबाट नै प्रजनन् स्वास्थ्य सम्बन्धी जानकारी लिएका कारणले नै अहिले आफु गर्भवती अवस्थामा नियमित स्वास्थ्य जाँच जाने गरेको बताइन् । उनले आफुले नसकेको काम श्रीमानले गर्ने गरेको बताउँछिन् । उनले भनिन् ‘पहिला स्वास्थ्यका यस्ता कुरा थाहा थिएन, तर अहिले थाहा पाए, अब नियमित स्वास्थ्यचौकी जाने गर्छु ।’
सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) ले सुर्खेतको वीरेन्द्रनगर पश्चिम कुनाथरी, पोखरीकाँडा, विद्यापुर, गुटु र लेकगाउँमा प्रजनन् स्वास्थ्य सम्बन्धी नवजोडी अभियान थालेको छ । यो अभियानसँगै गाउँमा बालबालिका, महिला तथा पुरुषहरुले प्रजनन् स्वास्थ्य सम्बन्धी जानकारी लिने मौका पाएका छन् ।
प्रकाशित मिति: २९ जेष्ठ २०७४, सोमबार ०७:४०