बनियानी (झापा), २७ जेठ । दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुन अब १६ दिनमात्र बाँकी छ । निर्वाचनको मिति नजिकिएसँगै यहाँका क्रियाशील विभिन्न राजनीतिक दलले आआफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गर्ने र मतदाता घरदैलो अभियानलाई तिब्रता दिएको छ ।
विकास निर्माणलाई नै मुख्य एजेण्डा बनाएर उनीहरु लिखित रुपमै प्रतिबद्धता जाहेर गर्दै मत माग्न घरदैलोमा जान थालेका छन् । मतदाताले पनि भोट माग्न आउने उम्मेद्वारसँग ‘तपाईंको एजेन्डा के छ’ भनेर प्रतिबद्धता–पत्र माग्ने गरेको नेपाली काँग्रेसको तर्फबाट भद्रपुर नगरपालिकाका प्रमुख पदका उम्मेदवार गणेश पोखरेलले बताए । उनले भने, “यो मतदातामा आएको जागरुकता हो, अब दलहरुले मौखिक रुपमा भनेर मात्र पुग्दैन ।”
पोखरेलले मतदातामा उम्मेदवारले आफूले भनेको कुरा गर्छन् कि गर्दैनन् भन्ने संशय रहेको बताउनुभयो । उनले भने, “लिखित रुपमै उम्मेदवार घरदैलोमा पुग्नुपर्छ, त्यसले मतदातालाई केही विश्वस्त बनाउँछ ।”
नेकपा (माओवादी) केन्द्रबाट भद्रपुर नगरपालिकाको प्रमुखका उम्मेदवार शिवकुमार राजभण्डारीले ‘समृद्ध नगर भद्रपुर सहर, माओवादी केन्द्रको विजयी लहर’ भन्ने मूल नाराका साथ १६ बुँदे प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् ।
उहाँले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, युवा सशक्तीकरण, उद्योगको विकास, वातावरण संरक्षणलगायत विषयलाई आफ्नो मुख्य एजेडा बनाउनु भएको छ । “अब बोलेर मात्र हुँदैन, परिणाममुखी काम गर्नुपर्छ”–उनले भने ।
नेकपा एमालेबाट भद्रपुर नगरप्रमुख पदका उम्मेद्वार जीवन श्रेष्ठले पुरानो नगरपालिका भनेर चिनिने भद्रपुरलाई विकास र समृद्धिका हिसाबले अब्बल बनाउने लक्ष्यका साथ अघि बढेको बताए । उनले भने, “लिखित प्रतिबद्धासहित घरदैलो अभियानमा लागेको छु, मतदाता शिक्षित छन् अब ढाट्न सकिँदैन ।”
यस्तै राप्रपाबाट भद्रपुर नगरप्रमुखका उम्मेदवार नवराज पनेरुले मेची पुललाई हुलाकी राजमार्गसँग जोड्ने र समृद्ध नगरपालिका बनाउने बताए ।
भद्रपुर नगरपालिका–८ का मतदाता सौरभ प्रदानले सुन्दर र समृद्ध नगरपालिका बनाउने खाकासहितको प्रतिबद्धता जनाउने उम्मेदवारलाई मत दिने स्पष्ट पारे ।
स्थानीय तहको पुनर्संरचनापछि साविक चन्द्रगढी र महेशपुर मिसिएर भद्रपुर नगरपालिका बनेको छ । भद्रपुर नपाको जनसङ्ख्या ६५ हजार ५३३ छ भने कूल मतदाता सङ्ख्या ४२ हजार ५७ छन् । तीमध्ये २१ हजार २३२ पुरुष र २० हजार ८२५ महिला छन् । दस वडा रहेको भद्रपुरमा निर्वाचनमार्फत प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी ५२ जनप्रतिनिधि छानिने छन् । रासस
प्रकाशित मिति: २७ जेष्ठ २०७४, शनिबार १३:३०