सुर्खेत, २२ जेठ । सुर्खेतमा ६ नं. प्रदेश अन्तर्गतको सत्य निरुपरण तथा मेलमिलाप आयोगले मुकाम कार्यालय स्थापना गरेको छ । आइतवार आयोगका सदस्य डा. माधवी भट्टले मुकाम कार्यालयको उद्घाटनसमेत गरेकी छन् । आयोगका अनुसन्धान महाशाखा प्रमुख गोपालप्रसाद रिजालले ६ नं. प्रदेश मुकामका अनुसन्धान संयोजक सहन्यायाधिवक्ता धर्मानन्दनाथलाई डोल्पा जिल्लाको फाइल हस्तान्तरण गरे । आयोगका सदस्य डा. भट्टले सुर्खेत मुकामका लागि आयोगले तीन महिनाभित्र सिध्याउन एक हजार फाइल दिएको र अनुसन्धान टोलीले तीव्र गतिमा काम गर्न निर्देशन दिइन् ।
सत्य निरुपरण तथा मेलमिलाप आयोगको ६ नं. प्रदेश मुकाम उद्घाटन गर्दै आयोगका सदस्य डा. माधवी भट्ट ।
उनले मुकाम कार्यालयबाट आइतवारदेखि नै काम सुरु हुने भएकोले पीडितहरुले न्याय पाउने दिन अव धेरै टाढा नभएको दावी गरिन् । आयोग पीडितमैत्री बन्नेमा कुनै शंका नगर्नपनि उनले पीडितहरुलाई आग्रह गरेकी छिन् । शक्ति र पहुँचका भरमा काम नगर्न अनुसन्धान टोलीलाई निर्देशन दिदैं सदस्य डा. भट्टले अनुसन्धानको योजना बनाएर पीडित मैत्री न्याय दिन सुझाव दिइन् ।
सुर्खेत मुकामका अनुसन्धान संयोजक सहन्यायधिवक्ता धर्मानन्द नाथले आइतवारदेखि नै छानविन र अनुसन्धानको काम सुरु गरिने बताए । द्वन्द्वपीडितहरु नन्दा बस्नेत र प्रताप पौडेलले न्यायको पर्खाइमा धेरै समय बसिसकेकोले झिनो आशामात्रै बाँकी रहेको बताए । उनीहरुले राहत मात्रै सवै कुरा होइन भन्दै सत्य तथ्य छानविन र परिपूरणको सिफारिस गरिदिए पुग्ने जनाए ।
बरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर, वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले द्वन्द्वपीडितहरुले अव न्याय पाउने हुन् कि भन्ने आशा पलाएको बताए । दुवै पक्षलाई चित्त बुझ्ने न्याय दिनुपर्ने उनीहरुको भनाइ छ ।
अनुसन्धान संयोजकमा सहन्यायाधीवक्ता धर्मानन्दनाथसहित अधिवक्ताहरु विवशकुमार बस्नेत र कौशिला योगी अनुसन्धान टोलीमा रहेका छन् ।
सत्य निरुपरण तथा मेलमिलाप आयोगको ६ नं. प्रदेश मुकाम उद्घाटन गर्दै आयोगका सदस्य डा. माधवी भट्ट ।
प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार ०९:११