काँकडभिट्टा (झापा), २१ जेठ । कालो कोटमा सजिएर अदालतमा वकालत गर्दै लामो अवधि बिताउनु भएकी भद्रपुरकी अधिवक्ता चन्द्रा श्रेष्ठ यतिबेला सूर्य चिन्हमा भोट माग्दै जनताको घर आँगनमा पुगिरहेकी छन् ।
कानुन व्यवसायसँगै राजनीति रोज्दै आउनुभएकी श्रेष्ठ नेकपा एमालेको तर्फबाट भद्रपुरको उपप्रमुख पदका उम्मेदवार छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेकी उनले पछिल्लो समय अनेमसङ्घमार्फत एमालेको राजनीतिक मोर्चामा सशक्त उपस्थिति देखाउँदै आएकी छन् ।
काममा लगनशील, इमान्दर र पार्टीको बफादार कार्यकर्ता मानिने श्रेष्ठलाई पार्टीले स्थानीय तहको नगरको उपप्रमुखको टिकट दिएको छ जुन पद जितेमा उनले नगरको न्यायपालिकाको प्रमुखको जिम्मेवारी नै सम्हाल्नुहुनेछ ।
विगतमा पार्टीभन्दामाथि उठेर भद्रपुर नगरवासीको सशक्तीकरण र उत्थानका लागि धेरै काम गरेको उनी बताउँछिन् । “मेरो जित्ने आधार नै हिजोको कामको मूल्याङ्कन हो, मैले कहिल्यै कसैलाई पनि जाति र पार्टीको आधारमा विभेद गरिनँ र गर्दिनँ पनि” – उनी भन्छन् ।
झापाकै पुरानो नगरपालिकाको रुपमा रहेको भद्रपुरमा आदिवासी जनजाति र अल्पसङ्ख्यकको बाहुल्यता छ । उनीहरुमाथि विभेद, हिंसा अत्यधिकरुपमा हुने गरेको श्रेष्ठको बुझाइ छ । उहाँले वकालती पेसामा हुँदासमेत उनीहरुमाथि भएको हिंसा विरुद्ध लडेर न्याय दिलाएको स्मरण सुनाउँदै भन्छिन् – “मेरो उम्मेदवारी नै समाजमा हेपिएर उत्पीडित भएकाको उत्थान गर्नका लागि हो ।”
अझै पनि महिला बाहिर निस्किनु पर्यो भने श्रीमान्सँग पैसा मागेर हिँड्नुपर्ने अवस्था भएको बताउँदै उनी भन्छिन् – “महिलालाई सीप सिकाएर उद्यमशील बनाउँछु । सहुलियतमा ऋणको व्यवस्था गरेर स्वरोजगार बनाउने मेरो लक्ष्य छ ।”
हिंसामा परेका महिलाको अझै पनि न्यायमा पहुँच नपुगेको हुँदा आफूले जित्ने बित्तिकै नगरपालिका र वडामा ‘हेल्प डेक्स’ राखेर उनीहरुको न्यायमा पहुँच पुर्याउने सोच उनको छ । जिल्लामै कानुन व्यवसायीबाट उनी एक्लो उम्मेदवार हुन् ।
उनको बुझाइमा महिलाको सशक्तीकरणका लागि दर्बिलो खुड्किलो भनेको राजनीति नै हो । राजनीतिबाटै महिलाका आवाज अगाडि बढाउनसक्ने हुँदा उपप्रमुखको रुपमा उम्मेदवार बनेको श्रेष्ठ बताउँछिन् ।
समाज रुपान्तरणको सपना साँच्नुभएकी श्रेष्ठ २०२६ सालमा आमा सुमित्रा देवी र बुबा खड्गबहादुर श्रेष्ठकी सुपुत्रीको रुपमा झापाको बुधबारेमा जन्मिनु भएको हो ।
विद्यार्थी जीवनदेखि अखिलबाट राजनीति सुरु गर्नुभएकी चन्द्राले २०५२ सालदेखि नै पार्टीको सदस्य भई सक्रिय राजनीति गर्दै आउनुभएको छ ।
उनी पार्टीको वडादेखि नगर, क्षेत्र हुँदै हाल जिल्लामा सक्रिय छिन् । श्रेष्ठ प्रगतिशील कानुन व्यवसायी सङ्घकी केन्द्रीय सदस्य तथा झापा बार इकाइको पनि सहसचिव छिन् । रासस
प्रकाशित मिति: २१ जेष्ठ २०७४, आईतवार १८:४७