राजा महेन्द्रले कू गरेपछि न्युरोडमा ‘जनता जनार्दन हो, सावधान ! तानाशाही जन्म भयो’ भन्दै माइकिङ गर्ने काठमाडौंका पुराना कांग्रेस नेताको वैशाख २३ गते ७७ वर्षको उमेरमा निधन भएको छ । राजा महेन्द्रले जननिर्वाचित सरकारलाई कू गर्दा सडकमा उत्रने उनी पहिलो नेता थिए । यसैकारण उनले १४ वर्ष जेलमा बिताउनुपर्यो । २०१७ देखि ०४६ सालसम्मको समयमा शाक्यको न्युरोडस्थित ओमबहालको निवास आन्दोलनको हेडक्वार्टर जस्तै थियो । उनको त्यतिबेलाको अनुभवलाई यहाँ साभार गरिएको छ ।
महेन्द्रले ‘कू’ गरी बीपीलाई पक्राउ गरेपछि ‘ल भएन अब, भनेर मैले साथीहरु जम्मा पारि न्युरोड गयौं ।’ हामीले जुद्धशमशेरको दरबारपछाडि सिद्धिनारायण मानन्धरको रेडियो पसलबाट हातेमाइक लिएर गएका थियौं । तरुण दलको अधिवेशनभरि चढ्नू भनेर पार्टीले मलाई एउटा अमेरिकन जिप दिएको थियो । त्यही जिपमा हामी ४ बजे न्युरोड पुग्यौं । मानिसहरु अफिस छुटेर जब न्युरोड आए अनि मैले माइकिङ गरें ‘जनता जनार्दन हो, सावधान ! देशमा तानाशाहीको जन्म भयो, प्रजातन्त्रको हत्या भयो ।’ मैले माइकिङबाट यत्ति मात्र के भनेको थिएँ, न्युरोड मान्छेको भीडले टनाटन भइसकेको थियो । मैले माइकिङ गरेको देखेर धेरै मान्छेले जिब्रो निकाले । ‘कति सूरो मान्छे भनेका होलान् ।’
हामीले न्युरोडका केही स्थानमा घुमेर माइकिङ गर्यौं । साथीहरुले भने ‘तिमिलाई पक्रन्छ है, उम्किहाल !’ म त्यो रात घरमा सुत्न गइनँ । पुस १ गते बेलुका थापाथलीमै बसेर मिटिङ गर्यौं । भोलिपल्ट सहरभरि माइकिङ गर्ने निधो भयो । भोलिपल्ट माइकिङ गर्न जाने कुरा हुँदै गर्दा शैलजा आचार्यले ‘म पनि जान्छु मार्सलजी भनिन् ।’ मैले शैलजालाई भनें, ‘अब मलाई पक्कै पनि पक्रन्छ, सबैजना एकैपटक सबै किन पक्राउ खाने, त्यसैले तपाईं नजानुस् ।’ अनि मैले भेडासिंहको शंकर जोशी र कृष्णगोपाल झालाई साथी लिएर भोलिपल्ट पूरै सहरमा महेन्द्रको कदमविरुद्ध माइकिङ गरें । १० बजे अफिस लाग्ने हुनाले हामी ९ बजे नैं माइकिङका लागि निस्किसकेका थियौं ।
भाषा नबुझेर होकि किन हो, मैले माइकिङ गर्दा प्रहरीहरु ट्वाल्ल परेर हेरिरहन्थे । हाम्रो जिप खिचापोखरी हुँदै पाटनतिर मोडिँदै थियो । अनि उता टुँडिखेल र टेबहालतिरबाट आएका दुईवटा हाम्रो जस्तै जिपले हामीलाई पछ्यायो । यसो सम्झें, भागौं कि क्या हो । ‘हैन, भाग्दा डरपोक भन्लान् भन्ने पीर पनि लाग्यो, अनि नभाग्ने निर्णय गरें । एउटा इन्स्पेक्टर आएर मेरो कठालो समात्दै भन्यो ‘बजियाहरु, छिटो हिंड ।’ मैले भने ‘ए ! कसलाई बजिया भनिस् ? छिटो हात हटा भनेपछि उसले हस् भनेर मेरो कठालो छाडी दियो ।’ त्यसपछि मसहित कृष्णगोपाल झालाई हनुमानढोकामा ४ दिन थुन्यो । ४ दिनपछि सुरक्षा कानुनको पुर्जी दिएर भद्रगोल जेल चलान गर्यो । ३ महिनापछि घोडेजात्राको अवसर पारेर मलाई छाडे । विद्यार्थी हो, अरुको हा.. हा.. मा लागेछ भनेर छाडिदिएका रहेछन् । म त्यतिबेला त्रि–चन्द्र कलेजमा आईकम पढ्दै थिएँ ।
दरबारले कदम चाल्दै छ भन्ने हल्ला ५–६ महिना अघिदेखि नै फैलिएको थियो । यस्तो हल्ला फैलिएपछि बीपीले भन्नुभो ‘हल्लाका भरमा सत्ता छाडेर कता दौडनु ?’ त्यसरी सत्ता छाडेर दौडेको भए दुनियाँले महेन्द्रलाई ठीक भनिदिन्थे होलान् । नेपाली जनतामा कस्तो नकारात्मक सोच पर्न सक्थ्यो भने ‘यिनीहरु सत्ता,या देशै छोडेर भागे ।’
पक्राउ पर्नु केही दिनअघि मैले बीपी बाबुलाई भेटेको थिएँ । उहाँले भनेर नै मैले राजाले कदम चाल्दै छन् भन्ने जानकारी पाएको थिएँ । बीपी भन्नुहुन्थ्यो ‘संसद्मा बहुमत छ, हामी भागेर चीन जान पनि मिल्दैन, सत्तामा शासक भएर बसेका मान्छेहरु हल्लाको भरमा कसरी सत्ता छाडेर हिँड्नु ?’ २०१७ पुस १ गते हामीले थापाथलीमा रहेको तोरणशमशेरको दरबारको पटांगिनीमा तरुण दलको सम्मेलन आयोजना गरेका थियौं । त्यतिबेला अहिलेको जस्तो आधुनिक हलहरु थिएनन् । तोरणशमशेर रौतहटतिर बस्ने हुनाले दरबार खाली नै थियो । सम्मेलनको मिति निश्चित भएपछि हामीले विभिन्न देशका प्रतिनिधिलाई खबर पठायौं, अनि सम्मेलन उद्घाटनका लागि तत्कालीन जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई निम्ता गर्यौं ।
त्यतिबेला म तरुण दलमा क्रियाशील थिएँ । मलाई पार्टीले मञ्च बनाउने, सिँगार्ने र मञ्चका लागि आवश्यक सामान जुटाउने जिम्मा दिएको थियो । बीपी आउने समय हुँदै थियो, म अहिलेको त्रिपुरेश्वरको टेलिकम्युनेकसन अफिसमा टेलिफोन सेट र माइक लिन गएँ । टेलिफोन सेट हाम्रो तरुण दलको कार्यालयलाई चाहिएको थियो, माइक मञ्चका लागि । त्रिपुरेश्वरको उकालो चढ्दै थिएँ, उताबाट दुईवटा लहरीमा टन्नै भरिएर मिल्टरीहरु आएको देखें । म उकालो चढ्ने मिल्टरीको लहरी त्रिपुरेश्वरको ओरालो झर्ने भयो । मलाई लाग्यो ‘ल यहाँ केही न केही हुँदै छ ।’ टेलिकम्युनिकेसनको म्यानेजरलाई भेटें र आफूलाई यो–यो सामान पठाइदिनु भनेर एउटा साथीलाई जिम्मा लगाएँ । अनि तुरुन्तै म त्यहाँबाट टाप ठोकें ।
थापाथली पुग्दा हाम्रो सम्मेलन स्थललाई चारै तिरबाट मेल्टरीले घेरेर राखेका थिए । म हत्तपत्त भित्र पसें । म भित्र पस्नासाथ मिल्टरीले आदेश दियो, ‘ल अब भित्रको भित्रै बाहिरको बाहिरै ।’ भित्र साथीहरु अवाक भएर बसेका रहेछन् । मञ्चमा न बीपी हुनुहुन्थ्यो न गिरिजाबाबु । अनि गणेशमान र किशुन’जी लाई हेर्न खोजें कसैलाई नदेखेपछि साथीहरुलाई सोधें, के भो ? ‘बीपी बाबुलाई लगिहाल्यो नि मार्सल जी !’ कोही एकजनाले काँपेको स्वरमा बोल्यो । त्यतिबेला आक्रोशले मेरो शरीर पनि काँप्न थालिसकेको थियो ।
साथीहरु सुनाउँदै थिए, ‘सेनाको जर्नेल आएछ अनि बीपीलाई ‘बीपीबाबु यता आउनुस् त !’ भन्दै इशाराले बोलाएछ । अनि बीपी मञ्चबाट तल झर्नुभएछ । त्यो जर्नेलले बीपीसँग केही कुरा पनि गरेको साथीहरुले देखेका रहेछन् । कुराकानी के भयो थाहा छैन । अनि बीपीलाई जिपमा हालेर लगेछन् । गणेशमानलगायत सबैलाई तल आउनुस् भनेर बोलाउँदै जिपमा राख्दै लगेछन् ।
बीपीलाई समात्नुअघि जर्नेलले उहाँको बडीगार्डलाई कन्ट्रोल गरेछ । बीपीको बडीगार्ड ‘मिल्ट्री क्याप्टेन’ थियो, ऊ पूर्वतिरको क्षत्री हो । जर्नेलले पहिला बडीगार्डको पेस्तोल खोसेछ । साथीहरु भन्दै थिए ‘खै तेरो पेस्तोल ले त भनेछ, अनि बीपीलाई बोलाएछ ।’
सेनाले राउन्डअप गर्दागर्दै बीपीले सम्मेलन उद्घाटन गरिसक्नुभएको थियो । म फेरि हलबाहिर निस्केर बीपीलाई कहाँ लगेर राख्यो भनेर बुझ्न थालें । कसैले सिंहदरबारको बिलियार्ड हलमा लगेको छ भन्थे, कसैले बरफबागमा लग्यो भन्थे । जे होस सिंहदरबारकै कुनै हलमा लगेको रहेछ भन्ने कुरामा हामी निश्चिन्त भयौं । अहिलेको राष्ट्रिय अनुसन्धान विभागको हेडअफिसलाई बरफबाग र राणाशासकहरुले बिलियार्ड खेल्ने ठाउँलाई बिलियार्ड हल भनिन्थ्यो ।
राजा महेन्द्रले किन जननिर्वाचित सरकारलाई बर्खास्त गर्दै छन् भन्ने कुराको यकिन कसैलाई थिएन । कदम चाल्ने हल्ला दरबारबाटै चलाइएको थियो । ६ महिना अघिदेखि नै दरबारियाहरु ‘राजाले कदम चालिबक्सिन्छ भनेर हिँडिरहेका थिए ।’
महेन्द्रले नेपालगन्ज भ्रमणका क्रममा कदम चाल्ने कुराको आधिकारिक संकेत दिएका थिए । त्यतिबेला उनले भनेका थिए ‘म पनि यो मुलुकको राजा हुँ, टुलुटुलु हेरेर बस्न सक्दिनँ ।’ उनको यो भनाइबाट हामीलाई लाग्यो ‘दालमे कुछ काला हे ।’ उनले एक्सन लिएपछि बल्ल हामी रियाक्सन लिने
तयारीमा थियौं ।’
बरफबागमा बीपीलाई ३ महिना राख्यो । तारिणीप्रसाद कोइराला, लोकदर्शन वज्राचार्य, प्रयागराज सिंह सुवाल र भरतशमशेरलाई श्रीमहलमा लगेर राखेछ । सेनाले पुस १ गते र भोलिपल्ट धेरैको घरमा छापा मार्यो । धेरै साथी त्यतिबेला जंगल–जंगलबाट छ्रैमले हुँदै भागेर बोर्डर क्रस गर्न सफल भए । त्यतिबेला कम्युनिस्ट पार्टीको अफिस वसन्तपुरमा थियो । कम्युनिस्ट पार्टीका महासचिव केशरजंग रायमाझी थिए । बीपी पक्राउ परेको रात वसन्तपुरको कम्युनिस्ट पार्टीको कार्यालमा दीपावली थियो । केशरजंगले दर्जनौं प्यालामा तेल हालेर रातभर बत्ती बालेछन् ।
(टोटल मासिकबाट)
https://www.khabarera.com/total/archives/2855
प्रकाशित मिति: २१ जेष्ठ २०७४, आईतवार ०८:२१