स्थानीय तहको पहिलो चरणको चुनावमा कुल उम्मेदवार ४९ हजार ३ सय ३७ जना रहेकामा महिला उम्मेदवारको संख्या ३९ प्रतिशत पुगेको छ ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अध्यक्ष÷प्रमुख, उपाध्यक्ष÷उपप्रमुख, वडाअध्यक्ष र सदस्य गरी १९ हजार ३३२ महिला उम्मेदवार छन् । अध्यक्ष÷प्रमुखमा १८ सय ८० उम्मेदवार रहेकामा महिलाको संख्या १५७ अर्थात् ८.३५ प्रतिशत छ । उपाध्यक्ष÷उपप्रमुख १३ सय ८४ उम्मेदवार रहेकामा ११ सय २७All Posts अर्थात् ८१.४३ महिला छन् ।
आयोगका अनुसार, वडाध्यक्षमा ९५.८३ अर्थात् १० हजार २९६ पुरुष र ४४८ अर्थात् ४.१७ महिलाको उम्मेदवारी परेको छ । वडा सदस्य २ पदमा १७ हजार ७२९ अर्थात् ९४.७१ पुरुष र ५.२९ अर्थात् ९९१ महिला उम्मेदवार छन् । महिला सदस्यमा ९ हजार ८३ जना र दलित महिला सदस्यमा ७ हजार ५२६ जनाको उम्मेदवारी परेको छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार राजनीतिक दलले उम्मेदवारी मनोनयन गराउँदा नगरप्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्षमा ५० प्रतिशत महिला हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै वडा सदस्य पदका लागि ४० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने कानुनी व्यवस्था छ ।
कडाइपछि प्रचारशैली कम भड्किलो
निर्वाचन आचारसंहितामा गरिएको कडाइका कारण विगतमा भन्दा यसपटक प्रचार–प्रसारमा तडकभडक कम देखिएको छ ।
वैशाख ३१ को स्थानीय तह चुनावमा निर्वाचन आयोगले आचारसंहितामार्फत प्रचार–प्रसारका लागि पोस्टर टाँस्न र आमसभा गर्न कडाइ गरेपछि तडकभडक कम देखिएको हो । आचारसंहितामा धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिकस्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचनालगायत कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न, टाँस्न लगाउन, लेख्न वा लेख्न लगाउन नहुने भनेपछि चुनावसम्बन्धी प्रचार–प्रसार सामाजिक सञ्चालदेखि घरदैलो अभियानमा सीमित भएको थियो ।
यसपटकको चुनावमा आचारसंहितालाई कडाइ गरिएको हुँदा समग्रमा उम्मेदवार र पार्टीले पनि कार्यान्वयन गरेको आयोगका सहसचिव एवं प्रवक्ता सूर्यप्रसाद शर्मा बताउँछन् ।
कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत मुख्य राजनीतिक दल र तिनका उम्मेदवारले ठूला कोण सभा वा भित्तेलेखन गर्नेभन्दा पनि फेसबुक, ट्विटर, भाइबर, युट्युब, एसएमएसलगायत नयाँ प्रविधिलाई निर्वाचन प्रचार–प्रसारका माध्यमका रूपमा प्रयोग गरे । राजनीतिक पार्टीले आ–आफ्नो फेसबुक पेज बनाएर प्रचार–प्रसार थालेका थिए ।
यसपटकको चुनावमा राजनीतिक दल र उम्मेदवारले गीतमार्फत पनि मत माग्दै प्रचारप्रसारको शैली अपनाएका थिए ।
अधिकांश पार्टीले चुनावसम्बन्धी गीत युट्युबमा राखेका छन् । पहिलो चरणको चुनावमा प्रदेश नम्बर ३, ४ र ६ मा हुने ४९ हजार ७१ उम्मेदवार चुनावी मैदानमा थिए ।
(टोटल मासिकबाट)
https://www.khabarera.com/total/archives/2866
प्रकाशित मिति: १९ जेष्ठ २०७४, शुक्रबार १२:११