रोल्पा, १८ जेठ । रोल्पा नगरपालिकाले नगर प्रोफाइल तयारीका लागि सरोकारवालासँग सुझाव सङ्कलन गरेको छ । नगर क्षेत्रमा कार्यरत सरकारी, गैरसरकारी निकाय, नागरिक समाज, स्थानीय सञ्चारमाध्यम र पत्रकारसँग यस्तो सुझाव सङ्कलन गरेको हो ।
नगर क्षेत्रभित्र रहेका प्राकृतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, भौतिक तथा मानवीय स्रोतसाधनको पहिचान गरी नगर क्षेत्रको विकासमा ती क्षेत्रको योगदानलाई समेत समायोजन गर्दै दिगो विकासको आधार तयार गर्ने उद्देश्यका साथ प्रोफाइल तयार गर्न लागिएको रोल्पा नगरपालिकाले जनाएको छ ।
नगरवासीमा शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, खानेपानी, सरसफाइ, विद्युत्जस्ता अत्यावश्यक सेवामा पहुँचको अवस्था वृद्धि गर्दै बालविवाह, लैङ्गिक हिंसा, बहुविवाहजस्ता सामाजिक विकृतिको न्यूनीकरणका लागिसमेत मुद्दा पहिचान गरी कार्यान्वयन गरिने कार्यकारी अधिकृत कमानसिं थापामगरले जानकारी दिनुभयो । नगर क्षेत्रको विकास तथा प्रवद्र्धनात्मक बजेटलाई समेत धेरैभन्दा धेरै जनताको हितमा उपयोग गर्न अर्थपूर्ण तयारीका साथ नगर प्रोफाइल बनाइने थापाले बताए ।
कार्यक्रममा नगरपालिकाभित्र कार्यरत शिक्षा, स्वास्थ्य, वन, कृषि, पशु, घरेलु तथा साना उद्योगलगायत सरकारी सेवा प्रदायकका साथै गैरसरकारी निकायको समेत उपस्थिति थियो ।
प्रोफाइल तयार गरी नगरपरिषद्बाट अनुमोदनपश्चात् कार्यान्वयनमा ल्याइने बताइएको छ । तथ्याङ्कमा आधारित विकासका लागि प्रोफाइल तयार गर्न लागिएको नगरपालिकाले बताएको छ । नगरपालिकाका कर्मचारी तथा सामाजिक परिचालक परिचालन गरी हरेक नगरवासीको घर–घरमा पुगी उनीहरुको समग्र अवस्थाको सचित्र प्रोफाइल तयार गरिने कार्यकारी अधिकृत थापामगरले बताए ।
साबिक लिवाङ, खुमेल, धवाङ, ह्वामा, जंकोट र कोटगाउँ गाविसका पूरै वडा र कोर्चवाङ एवम् जेद्वाङ गाविसका केही वडासमेत समायोजन गरी गत फागुन २७ मा घोषित उक्त नगरपालिकामा झन्डै ६ हजार ५०० घरधुरीका ३२ हजार ७५९ नागरिकको बसोबास रहेको छ । रासस
प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहीबार १२:२०