
जलविद्युत् आयोजना निर्माणमा रसुवा नमुना बन्दै गएको छ । पर्याप्त पानीका स्रोत रहेकाले जलविद्युत् आयोजना निर्माणको सम्भावना पनि उत्तिकै देखिन्छ । यहाँ ९ जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । एउटा भने निर्माण हुन सकेको छैन ।
१४.८ मेगावाटको साङजेन तथा ४२.५ मेगावाटको माथिल्लो साङजेन, २१६ मेगावाटको माथिल्लो त्रिशूली एक, १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना, ५ मेगावाटको मैलुङ जलविद्युत् आयोजना, ६ मेगावाटको न्याम न्याम हाइड्रोपावर कम्पनी प्रालि, माथिल्लो त्रिशूली थ्री बी, १२० मेगावाटको लाङ्टाङ भोटेकोसी हाइड्रोपावर कम्पनी प्रालि, ५५ मेगावाटको मध्य त्रिशूली गंगा नदी जलविद्युत् आयोजना, ५ मेगावाटको फलाखु खोला जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । सहिद दीक्षा जलविद्युत् आयोजना धुन्चेमा निर्माण गर्ने बताइए पनि काम सुरु हुन सकेको छैन ।
निर्माणाधीन अवस्थाका आयोजनाको चिलिमे, भोटेकोसी, लाङ्टाङ, मैलुङ खोलाका गतिशील बहाब उत्पादनका स्रोत हुन् । जिल्लाको अन्य क्षेत्रमा भन्दा यी क्षेत्रका पानीमा विद्युत् उत्पादन बढी छ । भौगोलिक हिसाबले पनि लामो दूरीबाट पानी खसाल्न सक्ने भएकाले आयोजना निर्माणमा समस्या छैन । निर्माणाधीनमध्ये ३ आयोजनाको निर्माण २ वर्षभित्र पूरा हुने गरी अघि बढेको छ ।
जिल्लाको थुमन र टिमुरेमा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी, चिलिमे गाविसको तिलोचेमा निर्माणाधीन १४.८ मेगावाट क्षमताको सान्जेन र ४२.५ मेगावाटको माथिल्लोे सान्जेनको काम तीव्र गतिमा भइरहेको छ । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सहायक यी तीनै आयोजना भूकम्प र नाकाबन्दीले केही समय प्रभावित भए पनि लक्ष्यअनुसार सन् २०१९ सम्ममा निर्माण पूरा गर्ने योजना छ ।
चिलिमे मोडलमा निर्माण हुँदै
जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाहरु चिलिमे मोडलमा हुँदै छन् । ती आयोजनाका सुरुङ मार्गका संरचना निर्माण को गति पनि तीव्र छ । २२ मेगावाट क्षमताको चिलिमे २ अर्ब ५२ करोडको लागतमा निर्माण भएको हो । चिलिमेमा विद्युत् प्राधिकरणको ५१, विद्युत् प्राधिकरण र कर्मचारीको २५, आयोजना प्रभावित स्थानीयको १० र साधारण १४ प्रतिशत सेयर रहेको छ । यस्तै कम्पनीले २२.१ मेगावाट चिलिमे केन्द्रको पूर्ण स्वामित्व, चिलिमे इन्जिनियरिङ तथा सर्भिस कम्पनीको पूर्ण स्वामित्व, १११ मेगावाट रसुवागढी जलविद्युत् कम्पनी लि.को ३३ प्रतिशत, ५७.३ मेगावाट सान्जेन जलविद्युत् कम्पनी लि.को ३८ प्रतिशत र १०२ मेगावाट मध्य भोटेकोसी जलविद्युत् कम्पनी लि.को ३८ प्रतिशत सेयर रहने गरी आयोजनाको काम अघि बढाएको जनाएको छ । चिलिमे मोडलबाट उत्पादित आयोजनाले जिल्लाका बासिन्दाको जीवन स्तरमै परिवर्तन ल्याएको छ । चिलिमेले भूमिगत संरचनाबाट देशकै नमुनाका रुपमा स्वदेशी पुँजी र प्राविधिकबाट निर्माण गरी २०६० भदौ १२ देखि विद्युत् उत्पादन थालेको हो । जिल्लाका बासिन्दालाई २०६७ मा सेयर जारी गरेको हो ।
यस्तै, थुमन तथा टिमुरेमा रसुवागढी जलविद्युत् आयोजना १३ अर्ब ६८ करोडको लागतमा निर्माणाधीन छ । आयोजनाको अहिलेसम्म ३३ प्रतिशत काम पूरा भएको साइट इन्चार्ज नागेन्द्रनाथ ज्ञवालीले बताए ।
साङ्जेन जलविद्युत् कम्पनीले दुई भाग गरी ५७.३ मेगावाट विद्युत् उत्पादन गर्न निर्माणलाई तीव्रता दिएको छ । सालासुंगी हिमालबाट आएको सान्जेन खोलाको पानी सदुपयोग गर्दै सुरुङ निर्माणको काम पूरा भइसकेको छ । सन् २०१९ सम्ममा निर्माणको काम पूरा हुने आयोजनाले जनाएको छ । यस्तै माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना, दÔिण कोरियाको कोसेप, डेलिम र केर्योङलगायत विश्व बैंकको आईएफसी, जेड पावर र स्थानीय जनताको संयुक्त लगानीमा मैलुङमा निर्माण भइरहेको छ । २१६ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको आयोजनाले सन् २०२२ सम्ममा निर्माण पूरा हुने लक्ष्य लिएको छ । अन्य आयोजनाले पनि समयमै निर्माण पूरा गर्नका लागि धमाधम काम गरिरहेका छन् ।
राष्ट्रिय प्रशारण लाइनमा जोडिँदै
गोल्जुङमा निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रशारण लाइन निर्माणले गति लिँदै गएको छ । सब–स्टेसन निर्माणका लागि जग्गा अधिग्रहण गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ । २ वर्षभित्र निर्माण पूरा हुने प्रशारण लाइन गोल्जुङ, गत्लाङ, हाकु, ठूलोगाँउ, नुवाकोटको मनकामनास्थित त्रिशूली थ्री बी हुँदै राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजना प्रमुख केदार सिलवालले जानकारी दिए । २ वर्षभित्र निर्माण पूरा हुने प्रशारण लाइन गोल्जुङ, गत्लाङ, हाकु, ठूलोगाँउ हुँदै नुवाकोटको मनकामनास्थित त्रिशूली थ्री बी हबमा गएर जोडिने भएको छ । आव ०७५÷७६ मा राष्ट्रिय प्रसारण लाइनको निर्माण सक्ने गरी काम भइरहेको छ ।
चिलिमे मोडलबाट रसुवामा उत्पादित आयोजनाले यहाँको विकासले फड्को मारेको छ । रसुवाको स्याँफ्रुबेंसीमा उत्पादित चिलिमे जलविद्युत् कम्पनीले यहाँका बासिन्दालाई सेयर वितरणमा सुनिश्चित गरेको छ । यो आयोजनाले २ वर्षभित्र करिब १७० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।
(टोटल मासिकबाट)
https://www.khabarera.com/total/archives/2838
प्रकाशित मिति: १७ जेष्ठ २०७४, बुधबार ०७:२९