रामपुर (पाल्पा), १६ जेठ । कुनै समय घरआँगनका वरिपरि, करेसाबारीमा शौखका रुपमा लगाइने सूर्यमुखी फूलको व्यावसायिक रुपमा खेती गर्न थालिएको छ ।
मौरी चरनका लागि सूर्यमुखी फूल उपयोगी ठानिने र यसबाट कृषकले तेब्बर फाइदा लिन सक्ने भएका कारण कृषकले व्यावसायिक रुपमा खेती गर्न थालेका हुन् । सौन्दर्यताका लागि केही बोट आँगनको डिल, छेउछाउमा लगाउँदै आएपनि सो खेतीबाट मनग्य आम्दानी हुनथालेपछि कृषक त्यसतर्फ आकर्षित भएका हुन् ।
जिल्ला कृषि विकास कार्यालयले निःशुल्क सूर्यमुखी फूलको बीउ वितरण गर्दैआएको छ । बगनासकाली गाउँपालिका– १ ठूलाचौरका कृषकले जनजागृति अगुवा कृषक समूह गठन गरेर व्यावसायिक रुपमा खेती सुरु गरेका छन् । करिब १५ रोपनी जग्गामा लगाएको सूर्यमुखी फूल खेती सोचेभन्दा राम्रोसँग फस्टाएको कृषि सेवा केन्द्र, आर्यभञ्ज्याङका कृषि प्राविधिक सन्तोष जिसीले बताए ।
यहाँका कृषकले स्रेस्ता जातको सूर्यमुखीको खेती गर्दैआएका छन् । यसका लागि कृषि कार्यालयले २० किलो बीउ तथा सिँचाइका लागि रु ६० हजार रकम अनुदानमा उपलब्ध गराएको छ । फूलको बियाँबाट तेल उत्पादन तथा डाँठलाई दाउराका रुपमा प्रयोग गर्न सकिने जनजागृति अगुवा कृषक समूहका अध्यक्ष पोषकान्त भण्डारी बताउँछन् ।
“एक पटकमा तेब्बर बाली उत्पादन गर्न सकिन्छ,” उनले भने । बगनासकालीको ठूलाचौरमा अहिले व्यक्तिगत रुपमा समेत कृषकले सूर्यमुखी फूलको खेती गरिरहेका छन् । कृषि कार्यालयले मौरीको पकेट क्षेत्रका रुपमा सो ठाउँलाई अगाडी बढाएपछि सूर्यमुखी खेतीको विस्तार गरिएको हो । सूर्यमुखी फूलको खेती गर्न थालेपछि मौरीको मह उत्पादनमा समेत वृद्धि भएको भण्डारीले बताए ।
सूर्यमुखी फूल बाह्रै महिना फुल्छ । फूलका कारण मौरीलाई चरन हुने अर्कोतर्फ बियाँबाट तेल उत्पादन गर्न सकिने जनजागृति अगुवा कृषक समूहका सचिव ज्ञानु अर्याल बताउँछन् ।
दूध बेचेर एक लाख आम्दानी
मस्याम, डुम्रेकी सीता अस्लामी गाईपालन व्यवसाय थालेपछि पाल्पामै नमुना महिला व्यवसायीका रुपमा चिनिन्छन्। विगत आठ वर्षदेखि व्यवसाय थालेकी उनले गाईपालनबाट मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्छिन् ।
बीसवटा उन्नत जातका गाई आम्दानी गर्दैआएकी उनको फार्ममा जर्सी जातका १५ वटा गाई दुहुना छन् । “दूध बेचेर दैनिक रु छ हजारसम्म आम्दानी हुन्छ,” उनले भनिन् ।
गाउँकै डुम्रे दुग्ध उत्पादक सहकारीमा अस्लामीले प्रतिलिटर रु ५० मा दूध बिक्री गर्छिन् । उनले विदेशिएका श्रीमान्लाई स्वदेश फिर्ता गरी यही व्यवसायमा संलग्न गराएकी छिन् । सो व्यवसायमा अस्लामीले रु १८ लाख लगानी गरेकी छिन् । डुम्रे दुग्ध उत्पादक सहकारीले अस्लामीलाई बिना धितो ऋण उपलब्ध गराएपछि व्यवसाय गर्न सजिलो भएको हो ।
सुरुवातमा अस्लामीले एउटा गाईबाट फार्मको सञ्चालन गरेकी हुन्। अहिले उनको फार्ममा २० वटा जर्सी जातका माउ गाई छन् । व्यवसाय सञ्चालनका लागि जिल्ला पशुसेवा कार्यालयले गोठ सुधार कार्यक्रमअन्तर्गत रु २० हजार अनुदान उपलब्ध गराएको प्राविधिक शेरबहादुर रानाले बताए । रासस
प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलवार १६:२४