काठमाडौँ, १४ जेठ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत प्राप्त गरेका छन् ।
दुईसातादेखि जारी मतगणना सम्पन्न भएपछि राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले मतपरिणाम घोषणा गरेका हुन् ।
यसैगरी उपप्रमुख पदमा नेपाली काँग्रेसका हरिप्रभा खड्गीले ५८ हजार ९५२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत प्राप्त गरे ।
कुल दुई लाख ७९ हजार ३०६ मतदाता रहेको महानगरपालिकामा एक लाख ९७ हजार २२७ मत खसेको थियो भने छ हजार १८३ मत बदर भएको थियो ।
समृद्ध र जीवन्त महानगर प्रमुखको जिम्मेवारी
राजनीतिमा तीन दशकदेखि क्रियाशील रहेर पनि आमप्रचारमा कमै सुनिने विद्यासुन्दर शाक्य अन्ततः काठमाडौँ महानगरपालिकाको प्रमुख बनेका छन्।
समृद्ध, सुन्दर र चौबीसै घन्टा जीवन्त सहर बनाउने अठोटका साथ निर्वाचनमा होमिएका शाक्यको काँधमा मुलुकको राजधानी रहेको काठमाडौँ महानगरपालिकाको प्रमुखका रुपमा आगामी पाँच वर्ष नेतृत्व गर्ने जिम्मेवारी आएको छ ।
उम्मेदवारी दिएदेखि नै शाक्यले राष्ट्रिय सञ्चारमाध्यममा स्थान पाउन थाले र मतपरिणाममा निरन्तरको अग्रताले उनलाई थप लोकप्रिय बनायो । अन्ततः भारी मतले विजयी घोषणापछि उनको राजनीतिक उचाइ एकाएक बढाएको छ ।
काठमाडौँको भित्री सहरका स्थापित राजनीतिक कार्यकर्ता शाक्यको काँधमा नयाँ संविधानपछिको अधिकारसम्पन्न स्थानीय निकायमध्ये मुलुकको केन्द्रभागको शक्तिशाली महानगरको बागडोर सम्हाल्ने चुनौतीपूर्ण जिम्मेवारी आएको छ । राजनीतिक रुपमा सिंहदरबारपछिको केन्द्र भनेकै महानगर हुन्, त्यस्तो निकायमा अत्यधिक मतले जितेपछि यहाँका नागरिक र मतदाताका सेवा सुविधाका अपेक्षा र उनले निर्वाचनका बेला गरेका वाचा पूरा गर्ने चुनौतीलाई उनले ऐतिहासिक अवसरमा रुपमा लिएका छन् ।
काठमाडौँकै लगनटोलमा विसं २०२० जेठ ९ गते जन्मिएर त्यही माटोमा हुर्किएका शाक्यले अब आफ्नो टोलबाट करिब एक–डेढ किलोमिटरको मात्र दूरीमा रहेको बागदरबारको प्रमुखको कुर्सीमा पाँच वर्ष रहेर के के गर्ने भन्ने योजना पनि बुन्न थालेका छन् ।
त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट विद्यालय प्रवेशिका उत्तीर्णपछि शाक्यले शङ्करदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पूरा गरेका थिए ।
विद्यार्थीकालदेखि नै राजनीति र समाज परिवर्तनको अठोट बोकेर हिँडेका शाक्यले आफ्नो यस सफलतालाई निरन्तरको योगदान र निष्ठाको प्रतिफल ठानेका छन्। शाक्य विसं २०३७ को जनमत सङ्ग्रहकाबेलादेखि नै राजनीतिमा सक्रिय बनेका हुन् ।
प्रजातन्त्र प्राप्तिका हरेक आन्दोलनमा उत्तिकै सक्रिय शाक्य एमालेको भ्रातृ सङ्गठन तत्कालीन राष्ट्रिय युवा सङ्गठनको काठमाडौँको संस्थापक कोषाध्यक्ष हुँदा करिब दुई दशकदेखि एमालेको जिल्ला कमिटीमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनी हाल सो कमिटीको जिल्ला सचिव छन् । विसं २०४९ मा भएको स्थानीय निकायको निर्वाचनमा काठमाडौँ वडा नं २१ को अध्यक्षका उम्मेदवार बने । सूर्य चिह्न फहराउँदै उनको विजय र जनताको प्रत्यक्ष सेवाको जिम्मेवारी यात्रा सुरु भयो ।
आफूले बढी मत पाउने अपेक्षा गरे पनि आशा गरेअनुरुप मत अझै प्राप्त नगरेको बताउने शाक्यले अब आफू एमालेको उम्मेदवार नभई जनताको साझा प्रतिनिधि भएकाले जनताको मतको सम्मान हुने काममा खट्ने दृढता व्यक्त गर्छन् ।
उनले कार्यकाल सुरु गरेको पहिलो एक सय दिनभित्र गर्ने एक सय एक कामका योजना र प्रतिबद्धता यसअघि नै सार्वजनिक गरिसकेका थिए । त्यसमध्ये ८४ वर्ष नाघेका वृद्धवृद्धालाई वार्षिक रुपमा रु १२ हजार महानगर वृद्धभत्ता र सामाजिक सुरक्षा भत्तालाई क्रमिक रुपमा बढाएर मासिक रु पाँच हजारसम्म पुर्याउनेलगायत छन् ।
नेपाली र नेपाल भाषालाई महानगरको कामकाजको भाषाका रुपमा प्रचलनमा ल्याइने, नेपालको मौलिक संवत्का रुपमा रहेको नेपाल संवत्लाई पनि प्रचलनमा ल्याइने, संस्कृति र सम्पदासम्बन्धी प्रतिबद्धतामा वसन्तपुर दरबार क्षेत्र र त्यसको वरिपरिको भित्री सहरी क्षेत्रलाई समेटेर सांस्कृतिक पर्यटकीय सहरको विकास गरिने आदि उहाँका प्राथमिकताका क्षेत्र हुनेछन् ।
उनले निर्वाचनमा भाग लिएका नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र), विवेकशील पार्टी, साझा पार्टीलगायतसँग सहकार्य गरेर अघि बढ्ने पनि बताए । शाक्यको विजय जुलुस यही जेठ १६ गते हुने र सोही दिन शपथ ग्रहण गर्ने तयारी छ । रासस
प्रकाशित मिति: १४ जेष्ठ २०७४, आईतवार १३:२१