काठमाडौँ, १२ जेठ । साहित्यकार पारिजातको २४ औँ स्मृति दिवसका अवसरमा उनका कथाका प्रवृत्तिबारे चर्चा गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा यहाँ आज आयोजित ‘पारिजातका कथाका प्रवृत्तिहरू’ विषयको गोष्ठीमा साहित्यकारले पारिजातका कथा, व्यक्तित्व, र समाजमा पुर्याएको योगदानबारे छलफल गरे । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली साहित्यका क्षेत्रमा जस्तै सामाजिक रूपान्तरणका आन्दोलनमा समेत पारिजातको अतुलनीय योगदान रहेको स्मरण गराए ।
वरिष्ठ साहित्यकार प्रदीप नेपालले पारिजातले सुरूमा लेखेका कथामा यौन कुण्ठा रहेको टिप्पणी गरे । “हाम्रो काम लेख्ने मात्र हो, बुझे बुझ्छन्-नबुझे बुझ्दैनन् भन्न लेखकले पाउँदैनन्, त्यो ढङ्गले विश्लेषण गर्ने हो भने कथामा पारिजात दिदी अटाउनुुहुन्न, त्यसैले जनताले बुझ्ने भाषामा लेख्नुपर्छ”, उनले भने ।
नेपाली लेखक सङ्घका अध्यक्ष तथा प्राज्ञ श्रवण मुकारुङले आफू काठमाडौँ आएपछि सबैभन्दा पहिला आफूले पारिजातलाई कविता सुनाएको जानकारी दिए । पारिजात स्मृति केन्द्रका अध्यक्ष रायन र प्रज्ञा–प्रतिष्ठानका सदस्य एवम् प्राज्ञ मात्रिका पोखरेलले पारिजात लेखक मात्र नभएर एउटा अभियानकर्मीसमेत भएको बताए ।
साहित्यकार डिआर पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै पारिजातले नेपाली साहित्यमा दिएको योगदान प्रेरणादायी रहेको बताए । कार्यक्रममा ‘आदिम देश’, ‘सडक र प्रतिभा’, ‘साल्गीको बलात्कृत आँसु’ र ‘बधशाला जाँदा आउँदा’ लगायत कृतिका रचयिता पारिजातका कथाको प्रवृत्तिमाथि चर्चा गरिएको थियो । विसं १९९४ मा जन्मिएकी पारिजातले कविता, नाटक, आख्यान र निबन्धसहित नेपाली साहित्यका चारै विधामा कलम चलाएकी छिन् । विसं २०५० मा उनको निधन भएको थियो । रासस
प्रकाशित मिति: १२ जेष्ठ २०७४, शुक्रबार १८:०२