प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिएका छन् । उनको राजिनामा पुर्वसहमतिको पालना थियो । उनी राजनेता हुन् कि होइनन् भन्ने कुरा आफ्नो ठाँउमा छ । यो राजिनामाकै आधारमा उनलाई कुनै विशेष विशेषण दिहाल्न पर्छ झै त लाग्दैन, तर उनको समग्र पक्ष हेर्दा नेपाली राजनीतिमा तुलनात्मक रुपमा सबैभन्दा बढी चतुर नेताका रुपमा उनी रहेका छन् ।
प्रचण्डको राजिनामाका पछाडि यस्तै चातुर्यता छिपेको छ । दुईचरणमा चुनाव गराइरहदाँ उनी पहिलो चरणको चुनाव गरेर बाहिरिएका छन् । यो यस्तो वेला थियो, दोस्रो चरणको चुनावका लागि पनि उनी अग्रसर भएको भए पहिलो चरणको निर्वाचन गराएको भनेर कमाएको साख गिर्न सक्ने संभावना थियो । दोस्रो चरणको चुनाव पहिलो चरणमा जस्तै सजिलै भैहाल्छ भन्ने अवस्था छैन । संविधान संशोधन विना चुनावमा जाँदैनौ भन्ने मधेसी दलहरुको अडान र संविधान संशोधन गर्नै दिदैनौ भन्ने एमालेको जिद्दिले गर्दा चुनावको वातावरण नै सहजै बनिहाल्ने अवस्था देखिदैन । पहिलो चरणको चुनावका कारण दोस्रो चरणको चुनाव गर्नका लागि जनता आतुर देखिएता पनि जुँगाको लडाईले गर्दा केही दलहरुले चुनाव बहिस्कार गर्ने संभावना रहेको छ । अब संविधान संशोधन गरेर चुनावमा जाने वातावरण मिलाउन सहज छैन । त्यसकारण पहिलो चरणको सहज निर्वाचनपछि सत्ता छाड्दा दोस्रो चरणको चुनाव हुन नसक्दाको अपजस प्रचण्डले बोक्न चाहदैनन् । त्यो चातुर्यता उनले देखाए ।
सँगै, उनको यो राजिनामाले सहमतिको पालना र नैतिकताको ख्याल राख्ने पात्रका रुपमा आफुलाई उभ्याउन पनि मद्दत गरेको छ । जस लिने र असल पात्रका रुपमा आफुलाई उभ्याउने चातुर्यता प्रचण्डले देखाउन सफल भएका छन् ।
प्रचण्डको चातुर्यता प्रदर्शनीले अव नेपाली कांग्रेसको कोर्टमा ठूलै चुनौतिको बल पुगेको छ । यो बललाई राम्रोसँग झेल्ने क्षमता कांग्रेसले प्रदर्शन गर्न सक्छ कि सक्दैन ? भन्ने सवाल सर्वत्र उठेको छ । यो सवालको व्यवहारिक रुपमा जवाफ दिन सके मात्र दोस्रो चरणको चुनाव सहज हुन्छ र कांग्रेसको पक्षमा परिणाम आउन सक्छ ।
नेपाली कांग्रेसको एउटा विशिष्ट चरित्र के हो भने उसले राष्ट्रिय राजनीतिमा उत्पन्न सवालहरुलाई कुशलतापुर्वक समाधान गर्छ र जनताको विश्वास जित्छ । समयले कांग्रेसको कोर्टमा यस्तै चुनौतिको बल फ्याकिदिएको हुन्छ । यो पाली पनि त्यही भएको छ । कांग्रेसले स्थानीय निर्वाचनका सन्दर्भमा कुनै अभियान थालेन । कुनै विशेष कार्यक्रमका साथ कार्यकर्ता परिचालन गरेन । निर्वाचन परिचानल समितिले आयोजना गरेका प्रदेश स्तरीय सभाहरु बाहेक कांग्रेसको औपचारिक कुनै कार्यक्रम भएन ।
संविधानसभाको दोस्रो निर्वाचनका क्रममा जनजागरण अभियान थालेको कांग्रेसले यो पाली त्यो पनि गरेन । यो पाली अब कसैले बहिस्कार नगर्ने गरी समन्वयकारी भूमिका खेलेर चुनाव गराउने हो भने जनताले यही स्थानीय चुनावमा पनि कांग्रेसलाई ठूलो पार्टी बनाइदिने छन् । तर, यो पाली त्यो नेतृत्वदायी भूमिका निर्वाह गर्न निकै चुनौतिपूर्ण छ । लोकतान्त्रिक चेतनाले ओतप्रोत भएको र जनताको सर्वोत्तम हितको पक्षमा उभिएर निर्णय गर्न सक्ने चामत्कारिक नेतृत्वको अभाव कांग्रेसले झेल्दै आएको छ । यो अवस्थामा ‘राष्ट्रियता’को चर्को नारा दिने एमाले र मधेसका नाममा सत्तारोहणको योजना बुन्न तल्लिन मधेसी दलहरुकावीचमा समन्वय गरेर सबैलाई चुनावको मैदानमा लैजान कम चुनौतिपूर्ण छैन । यसका लागि कांग्रेसको नेतृत्व गंभिर भएर सामुहिक छलफलमा लाग्न जरुरी छ । चामत्कारिक नेतृत्वको अभाव रहेको वेला सामुहिक नेतृत्वको संस्कृतिको विकास गर्दै नेताहरुले छलफल गर्दै चुनौतिको सम्बोधनको वाटो पहिल्याउन आवश्यक छ । त्यसका लागि दल भित्र विश्वासको वातावरण बनाएर अगाडि बढ्न आवश्यक छ ।
यो चुनौतिको सही सम्बोधन गर्न सकेन भने कांग्रेसले इतिहासदेखि निर्माण गर्दै आएको आफ्नो विशिष्ट चरित्रलाई कमजोर मात्र बनाउदैन, जारी रहेको स्थानीय चुनावमा नराम्रो परिणाम हात लाग्ने छ । त्यति मात्रै हैन, प्रदेश र संघीय चुनावमा पनि क्षती व्यहोर्नु पर्ने हुन्छ । कांग्रेसले आफ्नो संगठन परिचालन गरेको चुनाव लडेको इतिहास पनि छैन, र वर्तमान पनि त्यस्तो छैन । यो पालीको पहिलो चरणको निर्वाचनमा त कांग्रेसले संविधान बनाएको कुरालाई पनि जनताका सामु लैजान सकेन नै, बरु उल्टो चुनावको मुखमा राजदुत, आइजि, महाअभियोगजस्ता घटनाक्रमसँग जोडिएर पुरै ‘डिफेन्सिप’ रुपमा चुनावमा जानु परेको छ । दोस्रो चरणको चुनावको वातावरण नविग्रने गरी, पहिलो चरणका कमजोरीहरुलाई हटाउदै, कार्यकर्तालाई आफुले गरेका कामहरुको जानकारी दिनका लागि परिचालन गरेर अगाडि जाने हो भने मात्र परिणाममा सुधार आउँछ ।
प्रचण्डको राजिनामा कांग्रेसको नेतृत्वको सरकार बनाउनका लागि राजिनामा दिएको भनेका छन् । हतारमै कांग्रेस सभापतिले विज्ञप्ती मार्फत प्रचण्डको उच्च प्रशंसा गर्दै राजिनामाको स्वागत गरेका छन् र चुनाव हुने कुरामा ढुक्क हुन सबैलाई आश्वस्त पारेका छन् । यो घटनाक्रमले अव सबैको ध्यान कांग्रेसमा गएको छ । चुनाव हुन नसकेमा कांग्रेसले सकेन भनेर सम्पूर्ण रुपमा दोष जाने छ । प्रचण्ड अझ सफल भनिने छन् । यसरी दोष खानवाट कसरी बच्ने ? कांग्रेस नेतृत्व गंभिर बन्न जरुरी छ । यो गांभियर्ताको परणाम सकारात्कम ढंगले आओस् भनेर सबै इमान्दार बन्न पनि आवश्यक छ । यसो भयो भने कांग्रेसको विशिष्ट चरित्रको निरन्तरता पनि हुने छ र आसन्न चुनावमा कांग्रेसको पक्षमा राम्रो परिणाम दिलाउन सकिने छ ।
प्रकाशित मिति: ११ जेष्ठ २०७४, बिहीबार १५:५१