सोल, ८ जेठ । दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तर कोरियासँग नागरिक आदानप्रदान गरिनेलगायतका प्रमुख अन्तर कोरियाली मामिलाहरुमा लचिलो नीति अवलम्बन गरिने बताएको छ । साथै यस मन्त्रालय उत्तर कोरियाली नेताहरुसँग वार्ता गर्ने मनस्थितिमा रहेको समेत जनाएको छ ।
नियमित प्रेस भेटघाट कार्यक्रममा एकीकरण मन्त्रालयका प्रवक्ता लि डुक हाएङ्गले बताएअनुसार उत्तर कोरियालीमाथि अन्तर्राष्ट्रिय समुदायले लगाएको प्रतिवन्धको मर्म विपरीत नहुने गरी नागरिक आदानप्रदान, सीमा सुरक्षालगायतका मुद्दाहरुमा प्रमुख लचकतापूर्ण पुनरावलोकन गरिनेछ ।
नवनिर्वाचित वर्तमान राष्ट्रपति मुन जाए इनले एक नवीन आयामको (सन साइन पोलिसी) निति ल्याई उत्तर कोरियाली सम्बन्ध सुधारमा प्रवद्र्धन गर्न खोजेकाे समेत जनाइएको छ । यस सनसाइन पोलिसीअन्तर्गत दुई कोरियाबीच लगानी र वाणिज्यमैत्री वातावरणसमेत निर्माण गरिने छ ।
यस प्रकारको अवधारणा भूतपूर्व कोरियाली राष्ट्रपतिहरु रो मु ह्युम र किम हाए जुङ्गले समेत ल्याएका थिए । तर त्यसबखत मूर्तरुप भने लिन पाएको थिएन राष्ट्रपति मुनभन्दा लगत्तै पहिलेकी राष्ट्रपति पार्क गेउन हाइले राजनीतिक सम्बन्ध जे जस्तो भए तापनि उत्तर कोरियालाई मानवीय सहायता निरन्तर दिइरहेका थिए ।
दक्षिण कोरियाको राष्ट्रपति पदमा उदारवादी दलःडेमोक्र्याटिक पार्टीका प्रमुख नेता मुन जाए इन विजयी भएलगत्तै उनले उत्तर कोरियासँगको सम्बन्धमा देखाएको नरमपनले आशाको नयाँ किरण देखा परेको थियो ।
दक्षिण कोरियाको संविधान तथा राष्ट्रप्रमुख चयन परिपाटीअनुसार निवार्चित जन प्रतिनिधिले पुनःअन्तिम मतदान (एक्जिट पोल) गर्दा बहूमत प्राप्त उम्मेदवार नै राष्ट्रपति पदमा विजयी हुने प्रावधानअनुसार करिब दुई हप्ता अगाडि मून राष्ट्रपति पदमा निवार्चित भएका थिए ।
जन्मस्थलका हिसाबले दक्षिण कोरियाको गियोजेमा जन्म लिएका माता–पितासँगै बसाइँ सर्दै हाल उत्तर कोरियापट्टिको भूमिः दक्षिण हाम्गेयोङ्ग प्रान्तमा पुगी त्यहाँ हुर्कँदै, बढ्दै राष्ट्रपति इनले वाल्यकाल बिताएका थिए । दुई कोरियाको विभाजनपश्चात् उनका पिता मुन योङ्ग–ह्युङ्ग उत्तर कोरियाबाट पलायन भई शरणार्थीको रुपमा दक्षिण कोरिया प्रवेश गरेका थिए ।
आफ्ना पिताजीसँगसँगैै दक्षिण कोरिया आई शिक्षा आर्जनलगायत चरित्र निर्माण गरेका मून जाए–इनले उच्चतम पदमा निर्वाचित भएलगत्तै बाल्यकालमा रमाएको भूमिउपर सद्भाव प्रदर्शन गर्ने र स्थिति अनुकूल हुनासाथ अतिशीघ्र नै प्योङ्गयाङ्ग भ्रमणमा गइ बैठक, छलफल र सार्थक वार्ता गर्ने समेत सौहार्द्र संकेत देखाएका थिए । रासस -सिन्ह्वा
प्रकाशित मिति: ८ जेष्ठ २०७४, सोमबार १५:३९