काठमाडौं ३ जेठ । मतदाता शिक्षाको कमी र चुनावी तालमेलबारे दलहरूले आफ्ना कार्यकर्तालाई बुझाउन नसक्दा स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत बदर भएका छन् । एउटै पदमा उठेका दुईभन्दा बढी उम्मेदवारलाई मत संकेत गरिएका, दुई लहरमा पूरै छाप लगाइएका, एउटै चुनावचिह्नमा धेरैपटक छाप लगाइएका थुप्रै मतपत्र भेटिएको मतगणनामा सहभागी अधिकारीहरू बताउँछन् । निर्वाचन आयोगले मतदाता शिक्षाबारे मतदातालाई जानकारी नगराउँदा र दलहरूले तालमेलबारे मतदातालाई सम्झाउन नसक्दा ठूलो संख्यामा मत बदर भएको जानकारहरू बताउँछन् । ‘मतदाता शिक्षा नपुगेको त हो नै, साथै दलहरूले चुनावी तालमेलबारे आफ्ना मतदातालाई सम्झाउन नसक्दा मत बदरको संख्या बढेको देखिन्छ’, निर्वाचन आयुक्त नरेन्द्र दाहालले अन्नपूर्णसँग भन्नुभयो ।
काठमाडौं महानगरपालिकाका मंगलबार रातिसम्मको गणनामा २० वटा मत पूरै बदर भएको पाइएको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीका अनुसार दुई दिनको करिब १५ सय मतगणनामा ६ सयभन्दा बढी मत कुनै न कुनै रूपमा बदर भएका छन् जसमा मेयर पदमा २ सय ६२, उपमेयर पदमा ३ सय २० र वडा नम्बर १ मा वडाध्यक्षमा ४० मत बदर भएका हुन् । ‘एक ठाउँमा संकेत गर्नुपर्नेमा मतदाताले दुई ठाउँमा मत संकेत गरेको भेटिएको छ’, अधिकारीले भन्नुभयो । उम्मेदवार नउठेका पदमा पनि मतछाप लगाइएको मतपत्र गणनाका क्रममा भेटिएको छ । रोचक पक्ष त ग्रामीण क्षेत्रभन्दा राजधानीमै बदर मतको संख्या ठूलो छ ।
काठमाडौंका मेयरका प्रत्यासी संघीय समाजवादी फोरमका उम्मेदवार पवित्र बज्राचार्यले सबैभन्दा बढी एमाले र राप्रपाको मत बदर भएको जानकारी दिनुभयो । ‘सूर्य र गाई दुवैका उम्मेदवारलाई छाप लगाएको मत धेरै छ’, उहाँले भन्नुभयो । यस्तै एमालेको सूर्यमा मत दिनेले विवेकशील पार्टीकी रञ्जु दर्शनाको स्टकोट तथा साझा पार्टीका किशोर थापाको क्यामेरामा पनि मतदान गरेका छन्’, उहाँले भन्नुभयो, ‘केही मत एमाले र हाम्रो पार्टीको चुनावचिह्न मसाललाई एक साथ दिएकाले पनि बदर भएका छन् ।’
ललितपुर महानगरपालिकामा भने काठमाडौंमा भएभन्दा फरक ढंगबाट मत बदर भएका छन् । वडा नम्बर ४ का एमालेबाट विजयी वडाध्यक्ष नारायण केसीका प्रतिनिधि पूर्णबहादुर कार्कीका अनुसार एमाले र राप्रपाबीच तालमेल भएकोमा लस्करै सूर्यलाई मत हालेर पनि गाईलाई समेत भोट हालेका कारण धेरै मत बदर भएको भेटिएको छ । ‘एकै ठाउँमा चुनावचिह्न भएको ठाउँमा आठ छाप छ जब कि एक मतदाताले ७ जना उम्मेदवारलाई ७ छाप मात्र लगाए पुग्छ’, उहाँले अन्नपूर्णसँग भन्नुभयो, ‘वृद्धवृद्धाले धेरै मत बदर गरेको अनुमान सहजै लगाउन सकिन्छ । उनीहरूले एउटै चुनावचिह्नमा लगातार छाप हानेर चिनेजानेका उम्मेदवारलाई पनि जितून् भनी थप छाप लगाएका छन् ।’ ललितपुरमा माओवादी केन्द्रका उपमेयरकी उम्मेदवार हसिना शाक्यले धेरै मत बदर भएको बताउनुभयो ।
‘केही मतमा दुई लहरमा पूरै छाप लगाइएका मतपत्र भेटिएर बदर गर्नुपर्यो’, शाक्यले भन्नुभयो, ‘महिला सदस्य र दलित महिला सदस्यमा छाप लगाउन पनि मतदाता झुक्किएका छन् । पार्टी र व्यक्ति छानेर भोट हाल्दा पनि बदर भएका छन् ।’ ठूलो मतपत्र, दुई भागमा चुनावचिह्नका कारण मत संकेत तलमाथि र दायाँबायाँ गर्ने क्रममा अधिकांश मत बदर भएको मतगणनामा सहभागीहरू बताउँछन् । काठमाडौं, ललितपुरलगायत महानगरपालिकामा मतगणनामा ढिलाइ भएको भन्दै सर्वत्र आलोचना भएपछि आयोगले धेरैभन्दा धेरै टोली बनाएर गणना गर्न निर्देशन दिएको छ । आयोगको निर्देशनपछि काठमाडौं महानगरपालिकामा तीन ठाउँमा मतगणना सुरु भएको छ । ‘टोली थपेर गणना गर्नुबाहेक अरू विकल्प छैन’, निर्वाचन आयुक्त दाहालले भन्नुभयो, ‘हामीले धेरैभन्दा धेरै टोली बनाएर गणना गर्न सम्बन्धित क्षेत्रका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइसकेका छौं ।’
हतार भयो भन्दैमा बाली नपाक्दै काट्न नमिल्ने तर्क गर्दै दाहालले भन्नुभयो, ‘सकेसम्म छिटो रिजल्ट प्रकाशित गर्ने पक्षमा आयोग छ । केही स्थानमा मतगणनामा बसेका राजनीतिक दलका प्रतिनिधिबीच सानोसानो विवादले पनि समय धेरै लिएको दाहालले बताउनुभयो । ‘मतगणनामा बस्नेहरूले पनि सानोसानो विवादमा अल्झिएर समय खेर फाल्नु भएन’, दाहालले भन्नुभयो ।
प्रकाशित मिति: ३ जेष्ठ २०७४, बुधबार ०७:०६