कोलोम्बो (श्रीलङ्का), २ जेठ । श्रीलङ्का र थाइल्यान्ड गरी पाँचदिने औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज आफ्नो भ्रमण सम्पन्न गरी स्वदेश फर्कने भएकी छिन् ।
गत वैशाख २९ गते थाइल्यान्डको बैङ्कक पुगेकी राष्ट्रपति भण्डारी सोही दिन साँझ थाइल्यान्डस्थित ग्रान्ड प्यालेसमा राखिएकोे स्वर्गीय थाई राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा मल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेकी थिइन् ।
भ्रमणको दोस्रो दिन श्रीलङ्काली समकक्षी राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा राष्ट्रपति भण्डारी थाइल्यान्डबाट श्रीलङ्काको राजधानी कोलोम्बो गएकी थिइन् ।
बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाएको संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी भइन् ।
श्रीलङ्कामा भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी सिरिसेना, पूर्वराष्ट्रपति चन्द्रिका बन्दारानायकेसँग भेटवार्ता गरीन् ।
भ्रमणको क्रममा राष्ट्रपति भण्डारीले क्यान्डीमा रहेको बुद्धको दाँतको अस्थिधातुको दर्शन गर्नुका साथै श्रीलङ्काले आयोजना गरेकोे संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिका रुपमा वैशाख ३१ गते सम्बोधन गरेकी थिइन् ।
राष्ट्रपति भण्डारी यहाँस्थित बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रीलङ्कन एयरलाइन्सको विशेष विमानबाट भारतको राजधानी नयाँदिल्ली हुँदै नेपाल एयरलाइन्सको विमानबाट बेलुका स्वदेश फर्कने कार्यक्रम छ । रासस
प्रकाशित मिति: २ जेष्ठ २०७४, मंगलवार २०:१७