काठमाडौं, २ जेठ । स्थानीय तहको निर्वाचनमा सहरी क्षेत्रका मतदातामा पुराना राजनीतिक दलका प्रतिनिधिभन्दा नयाँ अनुहारप्रतिको आषर्कण देखिएको छ । ३१ जेठको पहिलो चरण निर्वाचनको प्रारम्भिक मतगणना परिणामले विशेषत सहरी क्षेत्रमा नयाँ उम्मेदवारप्रति मतदाता आकर्षित भएका देखिएको हो । लामो राजनीतिक संक्रमणबाट गुज्रिएको मुलुकमा मूलतः कांग्रेस, बामपन्थी, पूर्वराजावादीसहित तराई मधेस केन्द्रित र क्षेत्रीय दलहरूको दबदबा रहेका बेला ताजा जनादेशका प्रारम्भिक परिणामहरू भने ती दललाई झस्काउने गरी आउन थालेका छन् ।
काठमाडौं, ललितपुरलगायतका महानगरपालिकामा भर्खरै खुलेका साझा पार्टी, विवेकशील नेपाली पार्टीजस्ता नयाँ पार्टी र तिनले उठाएका नयाँ अनुहारप्रति मतदाताको आकर्षण देखिएको हो । काठमाडौं महानगरपालिकाको प्रारम्भिक मतगणनामा विवेकशीलकी रञ्जु दर्शना, साझाका किशोर थापाजस्ता उम्मेदवारले लामो इतिहास बोकेको कांग्रेसलाई मात्र उछिनेको मात्र छैन हाल सत्तासीन र विगतमा लामो सशस्त्र युद्ध लडेको नेकपा माओवादी केन्द्रलाई समेत उछिनेपछि मतदाताको रुचि नयाँ अनुहारमा देखिन थालेको पाइएको हो ।
लामो समय राजनीतिमा हावी भएर पनि जनताको अपेक्षाअनुसार काम नगर्नुजस्ता कारणले मतदाताले नयाँ पार्टी र अनुहारप्रति आकर्षण देखाएको मतदाताहरू नै बताउँछन् ।
राजकीय सत्ता नलिएका र विकास निर्माणमा समेत सहभागी नभई जनप्रतिनिधि भएर काम गर्न चाहने उम्मेदवारहरूलाई जनताले केही हदसम्म विश्वास गरेको देखिन्छ । सुरुवाती चरणमा नयाँ दलका उम्मेदवारहरूले अपेक्षाकृत अग्रता लिएका छन् । निर्वाचन भएका जिल्लाहरूमा विगतमा राजनीतितर्फ आकर्षण ्नभएका तर स्थानीयस्तरमा विकास निर्माणको कामलाई सहयोग गरेका नयाँ उम्मेदवारहरूले जनताको अभिमत लिन सफल भएका देखिन्छन् ।
सबैभन्दा बढी मतदाता भएको काठमाडौं महानगरपालिका स्थानीय तहको निर्वाचनमा मेयर परिणाम आम चासोको विषय बनेको छ । जहाँ साझा पार्टी र विवेकशील पार्टीका उम्मेदवारले राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका कांग्रेस एमाले र माओवादीलाई पनि धक्का दिने गरी मत ल्याएका छन् । सुरुवाती चरणमा विकेशील पार्टीबाट उम्मेदवार बनेकी रञ्जु दर्शाना र साझा पार्टीबाट उम्मेदवार बनेका पूर्वसचिव किशोर थापाले कांग्रेस र माओवादीका उम्मेदवारलाई पछि पार्दै अग्रता कायम गरेका थिए ।
प्रमुख राजनीतिक दलहरू कांग्रेस, एमाले, माओवादी केन्द्रजस्ता दलका लागि नयाँ दलका नयाँ उम्मेदवार चुनौती बनेसँगै साझा पार्टीका थापा र विवेकशील पार्टीका दर्शनाले ल्याएको मतलाई कम आँक्न नहुने राजनीतिक विश्लेषकहरू बताउँछन् ।
यसले भोलिका पुस्ताहरू आजका राजनीतिक दलका कार्यकर्ता वा नेताहरूबाट सन्तुष्ट छैनन् भन्ने आँकलन गर्न सकिन्छ । केन्द्रीय राजनीतिक दलले पनि नयाँ अनुहारका उम्मेदवार जनतासमक्ष उभ्याउन सकेनन् भने निकै चुनौती सामान गर्नुपर्ने अवस्था आएको छ ।
काठमाडौं महानगरपालिकाको पहिलोपटक सार्वजनिक प्रारम्भिक परिणाममा एमालेका (विद्यासुन्दर शाक्यले ४२, कांग्रेसका राजुराज जोशीले २८ मत ल्याउँदा विवेकशील पार्टीकी दर्शनाले २९ र साझा पार्टीका थापाले ३० मत प्राप्त गरे । त्यसैगरी, साझा पार्टीबाटै ललितपुर महानगरपालिकामा उम्मेदवारी दिएका रमेश महर्जनले १ सय ३६ मत पाए । पुराना दलहरूको जस्तो क्षेत्र विशेषमा पकड नभएका दलका मतलाई उत्साहजनक र प्रभावकारी मान्नुपर्ने राजनीतिक विश्लेषक एवं पत्रकारिताका अध्येता प्रा. चिरन्जीवी खनाल बताउँछन् ।‘तर, भिजन नयाँ नभए पनि मान्छेहरूका आफ्नै खालका अपेक्षा हुन्छन्, त्यो पूरा गर्न पुरानाबाट सम्भव भएन । नयाँले केही सक्छन् कि भन्ने लागेर मतदाताहरू आकर्षित भएका हुनसक्छन्, तर यो समाधान भने होइन,’ खनालले भने ।
मतदाताहरूले एकपटक जिताइसकेका व्यक्तिलाई त्यति रुचाएको अवस्था छैन । काठमाडांैका विद्यासुन्दर शाक्य दुईपटक वडा अध्यक्ष भइसकेकाले उनको अग्रतालाई स्वाभाविक मान्न सकिए पनि नयाँ पार्टीका उम्मेदवारको मतले उनीहरूको प्रभाव कमजोर बन्दै गएको उनका मतदाताहरूको विश्लेषण छ ।
‘सामाजिक सञ्जाललगायत पछिल्लोपटक युवामाझ लोकप्रिय मानिएकी रञ्जु दर्शनाको प्रारम्भिक मतलाई हेर्ने हो भने उनी भोलिका लागि राम्रो स्थान हासिल गर्न सक्ने महिला नेतृ हुन सक्छिन् भन्न कठिन छैन,’ खनाल भन्छन् ।
त्यस्तै, साझा पार्टीका उम्मेदवार किशोर थापा पनि कर्मचारी वृत्तबाट राजनीतिमा आएकाले बिकासे कामका लागि उनी पनि योग्य हुन् भन्ने मतदाताले बुझेका छन् । मतदाताहरूले किशोर थापाको बिकासे कार्यक्रमलाई मन पराएको उनीहरूको ठहर छ ।
संगठन र पार्टीको प्रभाव र कार्यकर्ताको गतिशीलतालाई ध्यान दिने हो भने मात्रै राष्ट्रिय दलका उम्मेदवारहरूले मत पाएका छन् । भर्खरै खुलेको साझा पार्टी र २०७० सालमा संविधानसभाको चुनावमा समेत भाग लिएको विवेकशील पार्टीले काठमाडौं महानगरपालिकामा बिकासे खाका प्रस्तुत गर्दै नितान्त फरक पृष्ठभूमि भएका व्यक्तिलाई मेयरको उम्मेदवार बनाएका हुन् ।
राजनीतिक दलप्रति वितृष्णा भएका युवाहरू नै रञ्जु र किशोर मतदाता भए पनि जितका लागि उनीहरूलाई यो अभिमत काफी छैन, तर भविष्यका लागि राजनीतिक दलहरूलाई भने निकै चुनौती बनेको छ ।
प्रकाशित मिति: २ जेष्ठ २०७४, मंगलवार ०७:२९