सिड्नी, १ जेठ । पपुवा न्यु गिनीमा कैदीको एक ठूलो समूहले जेल ताडेर भाग्न खोज्दा सुरक्षाकर्मीसँग भएको झडपमा १७ जना कैदीको मृत्यु भएको त्यहाँका प्रहरीले सोमबार जानकारी दिएका छन् । कैदी भगौडाको यस घटनामा अझै पनि ५७ जना कैदी फरार रहेका छन् ।
प्रशान्त महासागरीय यस राष्ट्रको दोस्रो ठूलो नगर लाएमा अवस्थित बुइमो कारागारमा गत शुक्रबार जेल तोडेर भाग्न खोज्ने ती कैदीलाई कारगार परिसरस्थित सुरक्षा कर्मीले गोली प्रंहार गरेका थिए ।
‘द’ ‘रोयल पपुवा न्यु गिनी कन्स्टाबुलरी (प्रहरी कार्यालय)’ ले एक विज्ञप्ति प्रकाशन गरी उक्त घटनामा १७ जना कैदीको मृत्यु भएको र तीनजना पक्राउ परेका र अझै पनि ५७ जना बेपत्ता रहेका पुष्टि गरेको छ ।
फरार रहेका कैदीमध्ये धेरैजसो सशस्त्र डकैति, कार चोरी, आवासीय भवनका भित्ता फोरेर भित्रघुसी बस्ने मानिसलाई तर्साई, धम्काई चोरी, डकैति गर्ने जस्ता अत्यन्त आपराधिक मनोवृत्तिका रहेकाले तिनीहरुले सर्वसाधारण जनतालाई खतरा पुर्याउनसक्ने भएकाले उनीहरु पक्राउ नपरुन्जेल सतर्क रहन महानगरीय प्रहरी प्रमुखले आह्वान गरेका छन् ।
पपुवा न्यु गिनीको कूल जनसङ्ख्यामध्ये एक उल्लेखनीय हिस्सा दुर्गम क्षेत्रमा बसोवास गर्छन् । यो वर्ग अझैसम्म हात मुख जोड्न पनि धौधौ पर्ने चरम गरिबीपूर्ण र परम्परागत शैलीको जङ्गली जीवनयापन गर्न बाध्य छ ।
प्रायः गरिबीकै कारण यहाँ अराजकता र आपराधिक घटनाका सङ्ख्या पनि कहाली लाग्दो रहेका छन् । रासस -एएफपी
प्रकाशित मिति: १ जेष्ठ २०७४, सोमबार १८:३४