काठमाडौ १ जेठ । चीनले स्थानीय निर्वाचनसँगै नेपालको विकास र स्थायित्व सुनिश्चित हुने अपेक्षा गरेको छ । आइतबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा र चिनियाँ समकक्षी वाङ याङबीच बेइजिङमा भएको वार्तामा चीनले यस्तो बताएको हो । चिनियाँ उपप्रधानमन्त्री वाङले स्थानीय चुनाव गराएकोमा नेपाललाई बधाईसमेत दिएका छन् ।
‘स्थानीय निर्वाचनले नेपालको स्थायित्व र विकास सुनिश्चित हुनेछ । यसले नेपाली जनताको जीवनमा परिवर्तन ल्याउने चीनको अपेक्षा छ,’ नेपाली दूतावास बेइजिङका अनुसार महरासँगको भेटमा चिनियाँ उपप्रधानमन्त्री वाङले भने । अन्तर्राष्ट्रिय साझेदारीका लागि ‘बेल्ट एन्ड रोड फोरम’ को उच्चस्तरीय डायलगमा सहभागी हुने क्रममा चाइना नेसनल कन्भेन्सन सेन्टरमा महरा र वाङबीच साइडलाइन भेटवार्ता भएको थियो । भेटमा भौतिक पूर्वाधारमन्त्री रमेश लेखक र सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की पनि सहभागी थिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।
तातोपानी नाका पुनः सञ्चालन गर्ने आश्वासन
नेपाली दूतावासका अनुसार चिनियाँ उपप्रधानमन्त्रीले दुई वर्षदेखि बन्द भएको तातोपानी नाका पुनः सञ्चालन गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाउने आश्वासन दिएका छन् । उक्त नाका भूकम्पपछि बन्द छ । चीनले यसअघि पनि नाका खोल्ने आश्वासन दिएको थियो । ‘तातोपानी पुनः सञ्चालनसम्बन्धी विषयलाई हामी प्राथमिकताका साथ ध्यान दिनेछौँ,’ उपप्रधानमन्त्री वाङले भनेका छन् ।
उपप्रधानमन्त्रीद्वयको भेटमा ‘इनर्जी को–अपरेसन फ्रेमवर्क एग्रिमेन्ट’अन्तर्गत नेपालमा जलविद्युत् उत्पादन परियोजना निर्माणमा चीनले सहयोग गर्ने आश्वासन दिएको छ । यससँगै सीमापार आर्थिक क्षेत्र निर्माण, रसुवागढी स्याफ्रुबँेसी सडक स्तरोन्नति गर्नेमा चीनले सकारात्मक जवाफ दिएको छ । चीनले भूकम्पपछि पुनर्निर्माण परियोजनामा सक्दो सहयोग गर्नेसमेत वचन दिएको छ । सो अवसरमा रेलवे निर्माणका लागि नेपालका तर्फबाट चीनलाई प्रस्ताव गरिएको पनि नेपाली दूतावासले जनाएको छ । उक्त प्रस्तावलाई चीनले सकारात्मक रूपमा लिँदै सम्बन्धित निकायबीच थप छलफल गर्ने सहमति भएको छ ।
चिनियाँ नागरिकलाई नेपालको पर्यटकीय भ्रमणमा प्रोत्साहित गरिने
चिनियाँ उपप्रधानमन्त्रीले चीनको केन्द्र सरकारले गान्सु, छिङ्घाई, सिचउवान, तिब्बत स्वायत्त क्षेत्र, युनान सरकारलाई नेपालको पर्यटकीय भ्रमणमा प्रोत्साहित गर्न निर्देशन दिएको पनि महरालाई जानकारी दिए । यसैगरी, नेपालका विभिन्न सहरसँग भगिनी सम्बन्ध स्थापना गर्न र जनस्तरमा सम्बन्ध विकास गर्न पनि ती प्रान्तहरूलाई केन्द्रबाट निर्देशन दिइएको उनको भनाइ थियो ।
भेटमा पारवहन यातायात सम्झौताको प्रोटोकललाई अन्तिम रूप दिन दुवै पक्ष सहमत भएको दूतावासले जनाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा यो सम्झौता भएको थियो । नेपाल र चीनबीच ‘वान बेल्ट वान रोड’सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएकोमा चीनले धन्यवाद दिएको छ । ‘ओबिओआरअन्तर्गत दुवै देशबीच सम्पर्क विस्तार, संस्कृति र जनस्तरमा सम्पर्क आदानप्रदान हुने अपेक्षा चीनले गरेको छ’।
यसैबीच, ओबिओआरसम्बन्धी फोरममा सम्बोधन गर्दै सूचना तथा सञ्चारमन्त्री कार्कीले यसमा सहभागिता नेपालका लागि अवसर भएको बताए । पूर्वाधार कनेक्टिभिटीलाई नेपाल सरकारले उच्च महत्व दिएको कार्कीको भनाइ थियो ।
प्रकाशित मिति: १ जेष्ठ २०७४, सोमबार ०७:११