काठमाडौँ, ३१ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत काठमाडौँका विभिन्न मतदान स्थल र केन्द्रको आज अनुगमन गरी आवश्यक जानकारी लिए ।
त्यसक्रममा उनले मित्रपार्क, जोरपाटी, थली, गोकर्ण दक्षिण ढोकास्थित मतदान स्थल र मतदान केन्द्र पुगेर मतदाता, उम्मेदवार, राजनीतिक दलका प्रतिनिधि र निर्वाचन कार्यमा खटिएका कर्मचारीबाट समग्र निर्वाचन व्यवस्थापनका बारेमा जानकारी लिएका थिए ।
सो अवसरमा उनीहरुले मतपत्र ठूलो भए पनि मतदानमा कुनै झन्झट नभएको, शान्ति सुरक्षा र निर्वाचन व्यवस्थापनप्रति गुनासो गर्ने ठाँउ नभएको कुरा प्रमुख आयुक्त यादवसँग जानकारी गराएका थिए ।
सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले व्यवस्थित, शान्तिपूर्ण र अपार जनताको सहभागितामा भएको निर्वाचन ऐतिहासिक पर्वको रुपमा देखिएको प्रतिक्रिया दिए ।
यसैबीच, आयुक्त ईश्वरी पौडेलले ललितपुरको भूपू सैनिक प्राङ्गणमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका थिए ।
निर्वाचन आयोगका आयुक्त ईला शर्माले भक्तपुरको मतदान केन्द्रको अवलोकन गरेका छन् । उनले भक्तपुर नगरपालिका क्षेत्रमा भएका मतदान केन्द्रहरुको अवलोकन गर्दै मतदानको अवस्थाका बारेमा जानकारी लिएका थिए ।
आयोगका सचिव गोपीनाथ मैनालीले पनि काठमाडौँका विभिन्न मतदान स्थल र मतदान केन्द्रमा पुगेर मतदानमा जनसहभागिता र निर्वाचन व्यवस्थापनका बारेमा जानकारी लिएका थिए ।
उनले गोल्फुटारस्थि शान्तिमालिका उच्चमावि, महाँकाल जनजागृति उच्चमावि, चपलीस्थित वडा कार्यालय र ध्रुवतारा उच्चमावि तथा बूढानीलकष्ठस्थित नारायण सतलमा रहेको मतदानस्थल र मतदान केन्द्रको अवलोकन गरेका थिए ।
मतदान गरेपछि ज्येष्ठ नागरिकदेखि किरियापुत्री समेतले भने– “देशको शान्ति र विकासका लागि मतदान”
स्थानीय तहको निर्वाचनमा मत खसाल्न उत्साहित हुँदै मतदान गरेकी भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट निवासी ८८ वर्षकी भगवती खड्काले देशमा शान्ति र विकास भएको हेर्ने चाहना रहेको बताएकी छिन् ।
बीस वर्षपछि आफ्नै गाउँको विकासका लागि हुन लागेको चुनावमा भोट हाल्ने रहर जागेर छोरा राजु खड्कालाई आफ्नो इच्छा जाहेर गरेपछि छोरा बुहारीको साथ लागेर मतदान गर्न आएकी हुन् ।
बालकोटको बालविनायक आधारभूत विद्यालय मतदान केन्द्रमा मत खसाल्दै उनले भनिन्– “देशमा शान्ति होस्, देश र गाउँको विकास होस्, देशको मुहार फेरियोस् भनेर भोट हाले, मेरो इच्छा पूरा भएको हेर्न चाहन्छु ।”
यता सूर्यविनायक नगरपालिका–१ सिरुटारका ९२ वर्षका भीमबहादुर खड्काले पनि मतदान गरे । सिरुटार साविक गाविस भवन मतदान केन्द्रमै आएर मतदान गरेका थिए ।
त्यस्तै सूर्यविनायक नगरपालिकाका–१ सिरुटारका किरियापुत्री रमेश राउतले पनि मतदान गरेका छन् । आमाको किरियामा बसेका उनले २० वर्षपछि आएको स्थानीय चुनावमा सबै गाउँ कै उम्मेदवार उठेकाले भोट हाल्न आएको बताए ।
त्यसैगरी चाँगुनारायण नगरपालिका–७ बागेहिनीमा पनि दुई किरियापुत्रीले मतदान गरेका छन् । बाबु अर्जुन घिमिरेको किरियामा बसेका आशिष घिमिरे र सोही ठाउँका शेरबहादुर गिरीको किरियामा बसेका छोरा दीपक गिरीले बागेहिनी मतदान केन्द्रबाट मतदान गरेका हुन् । रासस
प्रकाशित मिति: ३१ बैशाख २०७४, आईतवार १९:२९