रत्ननगर (चितवन), ३१ वैशाख । झन्डै दुई दशकदेखिको स्थानीय निर्वाचनमा मतदान गर्न पाउने प्रतीक्षाको घडी आज समाप्त भएको छ ।
लामो समयदेखि स्थानीय तहको निर्वाचन नहुँदा वाक्क बनेका मतदाता आज निर्वाचनमा सहभागी हुन पाउँदा छुट्टै उत्साहित थिए । आज बिहान ६ नबज्दै उत्साहका साथ भोट हाल्न मतदान केन्द्रमा आइपुगे मतदाता ।
बिहान ४ बजेदेखि नै मतदाताहरु लाइनमा बसे । भरतपुरकी सुमित्रा श्रेष्ठ नारायणी माविको मतदान केन्द्रमा उत्साह बोकेर लाइनको अगाडि बसेकी छिन् । “पहिला ३ बजे आ’थेँ, यसपालि ४ बजे, उनले भनिन् ।”
अर्का मतदाता बाबुराम श्रेष्ठ पनि बिहान ४ बजेदेखि लाइनमै छन् । “धेरै वर्षपछि आएको चुनाव भोट त हाल्नै पर्यो नि, श्रेष्ठले भने– म धेरै खुसी छु, अब विकास गर्ने नेता छानेर भोट हाल्छु ।”
उनीहरुजस्तै यहाँ भोट हाल्ने मतदाताको लाइन लामो भइसकेको छ । यो ऐतिहासिक अवसर गुमाउन चाहँदैनन् भन्ने कुरा आज चितवनको भरतपुरस्थित नारायणी नमुना उच्च माविको मतदान केन्द्रमा भोटहाल्न सहभागी भएका मतदाताबाट देखिन्थ्यो ।
केटाकेटीहरु रमाइलो हेर्न आएका थिए भने युवा, प्रौढ र वृद्धवृद्धाको राम्रै सहभागिता भयो ।
विगतमा स्थानीय निकायको निर्वाचन हुँदा भर्खर जन्मिएकाहरु पहिलो मतदातामात्रै भएका छैनन् पहिलो उम्मेदवार हुने मौकासमेत पाएका छन् ।
दुई दशकपछि भएको स्थानीय निकायको निर्वाचन आफैँमा महत्वपूर्ण उपलब्धि हो । त्यसमाथि गणतन्त्र स्थापनापछि नयाँ संरचनाअनुसारको निर्वाचन इतिहासकै पहिलो हो ।
मुख्यगरी लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा विकासका कामले फड्को मार्न नसकेको तर्क मतदाताहरुको छ ।
अहिलेको निर्वाचनले जनप्रतिनिधिहरु छानिने र उनीहरुमार्फत गाउँस्तरमै सुशासन कायम हुने र विकासले गति लिने विश्वास रहेको एकजना मतदाता प्रकाश भट्टराई बताउछन् ।
पाँचवटा मतदान केन्द्र रहेको नारायणी उच्च मावि मतदानस्थलमा सबै तयारी पूरा भएकाले निर्धारित समयमै मतदान सुरु हुने मतदान अधिकृत कमलप्रसाद भट्टराईले जानकारी दिए । रासस
प्रकाशित मिति: ३१ बैशाख २०७४, आईतवार ०९:५९