काठमाडौँ, ३० वैशाख । आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदानका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भएको छ ।
झन्डै दुई दशकपछि यही वैशाख ३१ गते हुन गइरहेको स्थानीय निर्वाचनमा मतदान गर्न मतदाता व्यग्र प्रतीक्षामा छन् । सो निर्वाचनअन्तर्गत गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख तथा दुवै तहका वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी जम्मा सात पदका लागि निर्वाचन हुँदैछ ।
प्रदेश नं ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा पहिलो चरणको निर्वाचन हुँदैछ । सो निर्वाचनमा छ हजार छ सय ४२ मतदान केन्द्रमा आवश्यक मतदान सामग्री तथा कर्मचारीसहित मतदान अधिकृत सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन् ।
नेपालको संविधान कार्यान्वयन मात्र होइन स्थानीयस्तरसम्म सङ्घीयता कार्यान्वयनका लागि कोसेढुङ्गा मानिएको निर्वाचनले जनताको सुख–दुःख हेर्ने तथा घर छेउको सरकारको नेतृत्व गर्ने जनप्रतिनिधि निर्वाचित गर्नेछ ।
अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई मतदानमा प्राथमिकता दिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शर्माले जानकारी दिए । दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैंँ मत सङ्केत गर्न नसकेमा परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मत सङ्केत गर्न सक्नेछन् ।
निर्वाचन गोप्य मतदानको प्रक्रियाद्वारा एक पद एक मतका आधारमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा हुँदैछ । निर्वाचनबाट चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिकाका प्रमुख उपप्रमुख तथा एक सय ८६ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष निर्वाचित हुँदैछन् ।
त्यस्तै कुल दुई हजार पाँच सय ९८ वडामा पाँच जनाका दरले १३ हजार पाँच सय ५६ प्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचनमा कुल ४९ हजार तीन सय ३७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला छन् । निर्वाचनमा एक सय ६० महिला र एक सय ६९ पुरुष उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार नौ सय २५ मतदाताले मतदान गर्दैछन् ।
गृह मन्त्रालयले निर्वाचनको सबै सुरक्षा व्यवस्था तयारी गरेको छ । मन्त्रालयका अनुसार पहिलो चरणको निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान प्रहरी गरी ६४ हजार प्रहरी परिचालन गरिएको छ । त्यस्तै नेपाली सैनिक पहिलो चरणको निर्वाचनको सुरक्षाका लागि करिब ३१ हजार खटाइएको छ । काठमाडौँ, हेटाैँडा, पोखरा र सुर्खेतमा निर्वाचनका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिएको जनाइएको छ ।
रासस
प्रकाशित मिति: ३० बैशाख २०७४, शनिबार १४:०८