रामपुर (पाल्पा), ३० वैशाख । गिद्धको आहार व्यवस्थापनका लागि निर्माण गरिएको कान्जिहाउस निर्माण कार्य अलपत्र अवस्थामा छ ।
रामपुर नगरपालिकाको पर्यटकीय क्षेत्र खैरेनी सामुदायिक वनमा गिद्धको लागि आवश्यक पर्ने आहार व्यवस्थापनका लागि कान्जिहाउस निर्माण कार्य थालनी गरिए पनि आर्थिक अभावमा निर्माण कार्य अहिले अलपत्र बनेको हो ।
आहार व्यवस्थापनको अभावमा गिद्धको सङ्ख्यामा कमी आउन थालेपछि स्थानीय उपभोक्ताको पहलमा यहाँ कान्जिहाउस निर्माण सुरु गरिएको हो । गाउँ घरमा मरेका गाईभैँसी जीव जनावरलाई व्यवस्थित गरी गिद्धलाई आहार लिन सहज बनाउने उद्देश्यले वन समूहका स्थानीय उपभोक्ताले कान्जिहाउस निर्माण कार्य थालनी गरेका हुन् ।
रामपुर नगरपालिकाबाट रु २५ हजार रकमको सहयोगमा यहाँ कान्जिहाउस निर्माण सुरु गरिए पनि निर्माण कार्य सम्पन्न गर्न ठूलो लागत खर्च लाग्ने हुँदा निर्माण कार्य बीचमै अलपत्र बन्न पुगेको हो ।
वन समूहका उपभोक्ता एवम् समाजसेवी एकराज अर्यालले गिद्धलाई सामान्यतया आहार लिन मिल्ने र आहार सुरक्षित राख्ने खालको बनाउन पनि दुई लाखभन्दा बढी रकम लाग्ने हुँदा निर्माण सुरु गरिएपनि आर्थिक अभावमा सम्पन्न गर्न नसकिएको बताए ।
उनी भन्छन्, “कान्जिहाउस निर्माण भएपछि मरेका गाई भैंसी जीव जनावर सुरक्षित तरिकाले केही समय राख्न मिल्नेछ” – “एकैचोटी धेरै गाई भैँसी मरेर आहार बढी हुँदा सडेर गयो भन्न पनि नपर्ने, मिलाएर आहार व्यवस्थापन गर्न सजिलो हुनेछ” ।
यहाँ कान्जिहाउस निर्माण गरियो भने दुर्गन्ध कम हुने र यहाँको पर्यटन विकासमा ठूलो टेवा पुग्नेछ । कान्जिहाउस निर्माण गरेर यस वन क्षेत्रमा पाँच सयको हाराहारीमा गिद्ध पुर्याउने लक्ष्य रहेको वन समूहका अध्यक्ष कृष्णप्रसाद अर्याल बताउँछन् ।
यस क्षेत्र जिल्लामै नमुना गिद्ध संरक्षणको क्षेत्रका रुपमा परिचित छ । यहाँको प्राकृतिक वनोट, खैरेनी वन क्षेत्रलाई कालीगण्डकीले टापु आकारमा घेरेको, कलकल बग्ने कालीगण्डकीको दृश्य, चिसो शान्त मनोरम हावापानी, शीतल छहारीमा रमाउँदै कान्जिहाउस अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या पनि ह्वात्तै बढ्ने छ । यस क्षेत्रलाई रामपुर नगरपालिकाले पर्यटकीय क्षेत्रका रुपमा पनि घोषणा गरेको छ । रासस
प्रकाशित मिति: ३० बैशाख २०७४, शनिबार ११:००