लागोस, २९ वैशाख । इस्लामिक उग्रवादी समूह बोको हरामको नियन्त्रणबाट मुक्त भएका नाइजेरियाका ८२ बालिकाको अहिले संपूर्ण स्वास्थ्य परीक्षण भइरहेको छ ।
लामो समय अपहरणमा परेका ती बालिकालाई समाजमा पूनःस्थापित हुन सजिलो होस भन्ने उद्देश्यले स्वास्थ्य परीक्षण भइरहेको नाइजेरियाका माहिला मामिला तथा सामाजिक विकास मन्त्री अइसा अल्हासानले बताइन् ।
सन् २०१४ मा उत्तरपूर्वी नगर चिबोकको एउटा निजी विद्यालयबाट अपहरण गरिएका २७० विद्यार्थीमध्ये ८२ जना बालिका केहीदिन अघि अपहरणमुक्त भएका हुन् ।
नाइजेरियाको राजधानी सहर अबुजामा आयोजित पत्रकार सम्मेलनमा उनले ती सबै बालिकालाई मनोचिकित्सकीय उपचार र पुनःताजकिकरण सम्वन्धि शिक्षा दिइएको बताइन् ।
उनीहरु अपहरणमुक्त भएको बारेमा जानकारी दिन उनीहरुका बाबुआमालाई उनीहरुको फोटो पठाइएको उनले जानकारी दिइन् । कतिपय बालिकाको नाम पनि उही भएकाले पहिचानका लागि पनि फोटो पठाइएको उनले स्पष्ट पारीन् ।
“आमाबावुलाई उनीहरुका छोरीलाई भेट्न नदिइएको भन्ने कुरा सत्य होइन, हामी उहाँहरुलाई भेट्न दिन्छाैँ, तर प्रत्येक दिन होइन,” उनले सम्बाददातालाई भनिन्।
अधिकांश बालिकालाई सरकारी सेवा सुविधा तथा सहुलियतका लागि सिफारिस गरिएको उनले बताइन् ।
उनले आउँदो सेप्टेम्बरदेखि सुरु हुने नयाँ शैक्षिक सत्रमा मात्रै ती बालिकालाई अध्ययनको निरन्तरताका लागि विद्यालय पठाइने र त्योभन्दा अगाडि अन्य सीपहरु सिकाइने जानकारी दिइन् ।
नाइजेरिया सरकार र बोको हरामका प्रतिनिधिकाबीचमा वार्ता चलिरहेका बेला बालिका अपहरणमुक्त भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
बोको हरामको अपहरणमा परेका बालिकालाई छुटाउनका लागि राष्ट्रपति मुहामदु बुहारीको प्रशासनले स्थानीय र अन्तरराष्ट्रिय मध्यस्तकर्ताहरुको सहयोगमा लामो समयदेखि वार्ता गरिरहेको थियो ।
रातको समय पारेर गरिएको उक्त अपहरणको अन्तरराष्ट्रिय क्षेत्रबाट चर्को आलोचना भएको थियो । राष्ट्रपति बुहारीले सरकारले निरन्तर वार्ता गरिरहेको र अपहरण गरिएका बालिकाहरुलाई सुरक्षितरुपमा रिहा गराई छाड्ने अघिल्लो महिना बताएका थिए ।
उनले अरु बालिकाको बारेमा पनि आशा नमार्न उनीहरुका बाबुआमालाई आग्रह गरेका छन् । सन् २०१६ को अक्टोबरमा पनि अरु २१ जना बालिकालाई अपहरणमुक्त गराइएको थियो ।
सन् २००९ बाट बोको हरामले नाइजेरियामा द्वन्द्व सुरु गरेदेखि अहिलेसम्म २० हजारभन्दा बढी मारिएका छन् भने लाखौँ सर्वसाधारण विस्थापित भएका छन् । रासस-सिन्ह्वा
प्रकाशित मिति: २९ बैशाख २०७४, शुक्रबार १८:४३