काठमाडौँ, २९ वैशाख । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले अनलाइन सेवा सुरु गरेपछि अहिलेसम्म ८२ हजार सेवाग्राहीलाई सो सञ्जालमा समेटेको छ । २०७२ साल साउन २४ गते कलङ्कीबाट सो सेवा सुरु गरिएकोमा अहिलेसम्म देशका १४ मालपोत कार्यालयमा विस्तार भएको छ ।
मन्त्रालयका अनुसार कलङ्की, डिल्लीबजार र चाबहिल तथा ललितपुर, भक्तपुर, धादिङ काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, मोरङ, पर्सा, कास्की, बाग्लुङ, बाँके, चनौली, खैरहनी, माडी, लेखनाथ र शिखरकोटमा अनलाइन सेवा उपलब्ध गराइएको छ ।
भूमिसुधार तथा व्यवस्थापन विभागका अधिकृत डम्बर सुनुवारका अनुसार विसं २०७० मा एसियाली विकास बैंक (एडिबी)ले करिब रु १३ करोड सहयोग सफ्टवेयर निर्माणका लागि उपलब्ध गराएको थियो ।
अनलाइन सेवाबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा लिन सहज हुने तथा कारोबार पारदर्शी हुने र मालपोत कार्यालयमा विचौलियाले उपभोक्तालाई ठग्न नपाउने बताइएको छ । सो सेवाबाट कस्को कहाँ, के कति जग्गा जमिन छ त्यसको अभिलेख राखिन्छ ।
आगामी दिनमा नयाँ संरचनाअनुसार सात प्रदेशमा भूमिसुधारका क्षेत्रलाई व्यवस्थित गर्न सो सेवालाई सबै प्रदेशमा विस्तार गरी प्रभावकारी बनाइने र नियमन तथा नियन्त्रण केन्द्रले गर्ने जनाइएको छ । रासस
प्रकाशित मिति: २९ बैशाख २०७४, शुक्रबार ११:१५