डोटी, २८ वैशाख । डोटीको शिखर नगरपालिका–८ तिलतालीमा बाढी आउँदा ३२ घरधुरीमा क्षति पुगेको छ । बस्ती माथिबाट बगेको खहरे खोलाले ढुङ्गामाटो तथा रूख बगाएर ल्याएपछि खोलाले धार परिवर्तन गरी गाउँमा पसेपछि सो क्षति भएको हो ।
बुधबार साँझ करिब ४ः३० बजेदेखि सुरु भएको भारी वर्षापछिको बाढी गाउँमा पसेपछि स्थानीय बासिन्दाको भागाभाग भएको थियो । बाढीले मानवीय क्षति नगरे पनि १९ घरपरिवार विस्थापित भएका छन् । घरभित्र पसेको बाढीले घरभित्र रहेका लत्ताकपडा, अन्न बगाएको र केही चौपाया र एउटा पोल्ट्री फार्म पनि बगाएको स्थानीयवासीले बताए । बाढीले स्थानीयवासीको खेतीयोग्य जमिनमा पनि ठूलो क्षति पुर्याएको छ ।
गत वर्ष मनसुन सुरु हुनुअगावै जेठ २२ र २६ गते अकस्मात आएको बाढीले त्यस क्षेत्रमा रहेको दलित बस्तीमा क्षति पुर्याएको थियो ।
“पोहोरको बाढीपछि आफूहरुले सम्बन्धित निकाय सबैलाई जानकारी गराउँदा पनि आरडिएससीको अनुकूलन परियोजनाबाहेक अन्य ठाउँबाट कुनै किसिमको सहयोग प्राप्त भएन,” स्थानीय बाढीपीडित सङ्घर्ष समितिका अध्यक्ष भक्तबहादुर बलायरले भने, “जोखिम न्यूनीकरणका लागि कसैले चासो देखाएन ।”
स्थानीयवासीले हिउँद लागेपछि मात्र चैनको श्वास लिए । उनीहरुको चैन फेरि हराएको छ । बुधबार आएको बाढीले ठूल्ठूला ढुङ्गा, माटोसहित गाउँ पसेको बाढीले गाउँलाई बगरमा परिणत गरेको छ ।
डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले भने, “उद्धारपछि तत्कालका लागि खतरा टरेपनि पानी पर्दा फेरि खतरा बढ्छ, त्यसैले यसलाई दीर्घकालीनरुपमा समाधान गर्नु पर्छ ।”
“एकाएक फेरि भूतझैँ बाढी गाउँमा पस्यो,” स्थानीयवासी चन्द्रा बलायरले
भनिन्, “भागाभाग गरेर ज्यान जोगायौँ ।” बाढीले गाउँमा ठूल्ठूला ढुङ्गा,
माटो र बालुवा ल्याएर जम्मा पारिदिएको छ, जसले घरका आँगन बगर बनेका छन् । खेतमा पूरै ढुङ्गा र बालुवा भरिएको छ ।
दर्जनौँ घरभित्र पानी पसेको छ, जसले करिब दर्जन घरपरिवार विस्थापित भएका छन् । विस्थापितहरु ग्रामीण विकास सेवा केन्द्रको जडीबुटी प्रशोधन केन्द्र भवन र स्थानीय आफन्तका घरमा आश्रय लिएर बसेका छन् ।
घटना घटेसँगै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज बिष्ट नेतृत्वको प्रहरी तथा सशस्त्र प्रहरीको टोली उद्धारका लागि परिचालित भएको थियो । यसबाहेक नेपाल रेडक्रसको टोली पनि घटनास्थलमा पुगेर त्रिपाल र कम्बल प्रदान गर्दै उद्धार कार्यमा जुटेको थियो । रासस
प्रकाशित मिति: २८ बैशाख २०७४, बिहीबार ११:५२