पोखरा,२६ वैशाख । पोखरा–लेखनाथ महानगरपालिकाको समृिद्ध नै आफूहरुको प्राथमिकतामा रहेको महानगरपालिका प्रमुखका उमेदवारले बताएका छन् ।
पोखरा जेसिज, पोखरा लेडी जेसिज र लेखनाथ जेसिजको संयुक्त आयोजनामा आज यहाँ भएको ‘उम्मेदवारीको औचित्य र आवश्यकता’ विषयक बहस कार्यक्रममा उनीहरुले पोखरालाई स्मार्टसिटी, बेरोजगारविहीन, सफा सडक, बसपार्क र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजनाहरु पेस गरेका छन् ।
सो अवसरमा नेकपा (एमाले)बाट प्रमुख पदका उम्मेदवार मानबहादुर जिसीले पोखरा लेखनाथ महानगरलाई समृद्ध बनाउने आफ्नो लक्ष्य रहेको बताउँदै पोखरालाई प्रविधि र सेवाग्राही मैत्री, उद्यमीको सहर, वातावरणमैत्री, स्वच्छ पिउने पानी र दिगो विकासको नमूना सहर बनाउने आफ्नो मुख्य एजेन्डा रहेको धारणा व्यक्त गरे ।
नेकपा (माओवादी केन्द्र)बाट उपप्रमुखकी उम्मेदवार गोमा ढकालले पोखरालाई समृद्ध नमुना महानगर बनाउने तथा महानगरका युवालाई यही नै रोजगारीका अवसर सृजना गर्ने योजना ल्याउने जानकारी दिइन् ।
सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबाट प्रमुख पदका उम्मेदवार हुमबहादुर गुरुङले भौतिक विकासभन्दा पनि मानव संसाधनको विकासमा आफुले ध्यान दिने विचार व्यक्त गरीन् ।
अखण्ड नेपाल पार्टीका मोती गिरी, नेकपा (माले)का टेकनाथ भण्डारी, राष्ट्रिय जनमोर्चाका चन्द्रबहादुर खत्री क्षेत्री, नेपाल परिवार दलका कल्पना बराल, फोरम लोकतान्त्रिकका अमनकुमार थापा, राष्ट्रिय मुक्ति आन्दोलन पार्टीका ऋषिप्रसाद तिमिल्सिना, स्वतन्त्र उम्मेदवार रेशमराज पन्थी, महेन्द्रकुमार थापालगायतले पोखरालाई एक घर एक रोजगार, चक्रपथ, बसपार्क र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आफ्नो प्राथमिकतामा रहेको विचार व्यक्त गरे ।
पोखरा जेसिजका अध्यक्ष शिवप्रसाद कोइरालाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महानगरका १० जना प्रमुख पदका उम्मेदवारको सहभागिता थियो । स्थानीय तहको निर्वाचनमा उक्त महानगरपालिकाका प्रमुख पदमा १६ जनाले उम्मेदवारी दिएका छन् । रासस
प्रकाशित मिति: २६ बैशाख २०७४, मंगलवार १८:३५