काठमाडौ २६ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीले अबको एक महिना आफ्ना लागि इजलास नतोक्ने भएकी छिन् । आगामी २५ जेठबाट उनले उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै छिन् । प्रधानन्यायाधीश कार्कीले कुनै पनि मुद्दा नहेर्ने, आफ्नो इजलास नतोक्नुका साथै अवकाश पाउनुअघि बिदा नलिने सर्वोच्च अदालत स्रोतले जनायो ।
प्रधानन्यायाधीशबाट अवकास पाउनु एक महिनाअगावै बिदा बस्ने प्रचलन रहे पनि कार्कीले भने बिदा लिने विषयमा कुनै जानकारी नदिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । ‘उहाँ (प्रधानन्यायाधीश कार्की)ले अवकाश पाउने एक महिनादेखि मुद्दा नहेर्ने पहिलादेखि भन्दै आउनुभएको थियो,’ प्रवक्ता उपाध्यायले भने, ‘त्यसैले दुई दिनदेखि उहाँले आफ्नो इजलास तोक्नुभएको छैन ।’
न्यायाधीशहरूको इजलास र पेसी भने नियमित तोक्ने
प्रधानन्यायाधीश कार्कीले न्यायाधीशहरूको इजलास र पेसी भने नियमित तोक्ने सर्वोच्चका प्रवक्ता उपाध्यायले जानकारी दिए । अबको एक महिना उनले सर्वोच्चमा प्रशासनिक काम मात्रै गर्नेछिन् । यसबीचमा उनले आफूले फैसला सुनाइसकेका मुद्दाको पूर्णपाठ तयार गर्ने, हस्ताक्षर गर्ने, पेसी तोक्ने कार्य मात्रै गर्ने भएकी छिन् । उपाध्यायका अनुसार दुई दिनदेखि कार्की आफ्नै कार्यकक्षमा बसेर प्रशासनिक काम गरिरहेकी छिन् ।
आफूपछिको प्रधानन्यायाधीश सिफारिस गरेपछि बिदा बस्ने परम्परा भए पनि धेरैले सो परम्परा पालना गरेको पाइँदैन । यसअघिका पूर्वप्रधानन्यायाधीशहरू दामोदरप्रसाद शर्मा र रामकुमारप्रसाद साहले अवकाश पाउनु एक महिनाअघि इजलास तोकेर मुद्दा हेर्दा विवादित बनेका थिए ।
१७ वैशाखमा कांग्रेस–माओवादी केन्द्रका २४९ सांसदले आफूविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रधानन्यायाधीश कार्की चार दिन निलम्बनमा परेकी थिइन् । संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै अधिवक्ता सुनीलरञ्जन सिंह र कञ्चनकृष्ण न्यौपानेले महाअभियोग खारेज गर्न मागसहित रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाइ गर्दै न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले उक्त प्रस्ताव कार्यान्वयन नगर्न र कार्कीलाई अदालती काममा फर्काउन शुक्रबार अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशपछि प्रधानन्यायाधीश कार्की आइतबारदेखि अदालतमा हाजिर भएकी थिइन् ।
प्रधानन्यायाधीश रसिया जाने कार्यक्रम स्थगित
दस दिनका लागि रसिया जाने कार्यक्रमको निमन्त्रणा आए पनि प्रधान्यायाधीश सुशीला कार्कीले सो भ्रमण नगर्ने भएकी छिन् । ‘रसियामा हुने एक कार्यक्रमका लागि निमन्त्रणा आएको थियो,’ स्रोतले भन्यो, ‘उहाँ (प्रधानन्यायाधीश) अब रसिया नजाने हुनुभएको छ ।’ कार्यक्रममा निमन्त्रणा आएपछि एक महिनाअगावै जाने नजाने विषय तय गर्नुपर्ने हुन्छ, तर उनले जाने इच्छा व्यक्त नगरेको स्रोतले जनायो । रसियाको कार्यक्रम तय भएपछि उनको विकल्पमा सर्वोच्चका कुनै न्यायाधीशलाई पठाउने तयारी भइरहेको छ ।
प्रकाशित मिति: २६ बैशाख २०७४, मंगलवार ०७:३७