काठमाडौं, २४ वैशाख । पहिलो चरणको स्थानीय तहको निर्वाचन हुन सात दिन बाँकी रहेको बेला तीनवटा प्रदेशका ३४ जिल्लामा चुनावको रौनक बढेको छ ।निर्वाचनको मिति नजिकिँदै जाँदा प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका नगरदेखि गाउँ र टोलबस्ती चुनावमय बनेका छन् । विभिन्न दलका उम्मेदवारहरू आ–आप्mना घोषणापत्र र प्रतिबद्धतापत्र लिएर मत तान्ने प्रयासअनुरूप जनताका घरदैलोमा पुग्न थालेका छन् ।
समूहसहित छिनछिनमा विभिन्न दलका उम्मेदवार घरघरमा मत माग्दै छिर्न थालेपछि १९ वर्षपछि जनताले वास्तविक स्थानीय निर्वाचनको महसुससमेत गरिरहेका छन् ।गाउँबस्ती र टोलटोलमा दलहरूको चुनावी नारासहितका गीतसंगीत घन्किन थालेका छन् ।निर्वाचनका लागि कतिपय स्थानमा दलहरूबीच तालमेल गरिएको छ भने कतिपय स्थानमा दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन् ।
भक्तपुरस्थित मध्यपुर थिमी नगरपालिकामा नेपाली कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रिएको छ भने नेकपा एमाले र मजदुर किसान पार्टीबीच तालमेल गरिएको छ । मध्यपुर थिमी नगरपालिकामा नेपाली कांग्रेस एक्लै घरदैलो कार्यक्रममा हिँडिरहेको छ ।
नेकपा एमाले र नेमकिपा भने संयुक्त रूपमा चुनावी अभियानमा घरदैलो गर्दै छन् । दुई पार्टीको तालमेलअनुसार मेयर पदका लागि एमालेका मदनसुन्दर श्रेष्ठ र उपमेयरका लागि नेमकिपाका केदार खड्का संयुक्त रूपमा प्रचारमा घरदैलोमा छन् ।
एउटै जिल्लामा पार्टीहरूबीच विभिन्न दलसँग तालेमल भएका कारण दलहरूलाई जिल्लास्तरीय घोषणापत्र बनाउन अप्ठ्यारो परे पनि स्थानीय स्तरका संयुक्त घोषणापत्र बोकेर उम्मेदवार र कार्यकर्ता भने मत तान्नमा व्यस्त हुन थालेका छन् ।
कांग्रेस, एमाले, माओवादी केन्द्रजस्ता ठूला दलसहित जिल्लाका स्थानीय तहमा राप्रपा, संघीय समाजवादी फोरम, नयाँ शक्तिलगायत अन्य दलले पनि घरदैलो कार्यक्रम गरिरहेका छन् ।
कास्कीका स्थानीय निकायमा मत माग्न पुग्ने उम्मेदवारलाई जनताले भने साँच्चै नै आप्mनो टोल र बस्तीका समस्या समाधान गरिदिने उम्मेदवार छान्ने कोसिस गरिरहेको बताइरहेको जिल्लास्थित राजधानीकर्मीले जनाएका छन् ।
स्थानीय तहको निर्वाचनमा दलका उम्मेदवारले जनता के चाहन्छन् ? भन्ने कुरालाई गम्भीर रूपमा लिनुपर्ने पोखराका उमेश कार्की बताउँछन् ।‘गाउँका मान्छेलाई राष्ट्रिय राजनीतिबारे खासै चासो पनि हुँदैन, थाहा पनि हुँदैन,’ उनले भने, ‘हाम्रा लागि त खानेपानी, बाटोघाटो, सडक, सिँचाइजस्ता सुविधा पाउनु नै ठूलो समस्या समाधान हुनु हो । त्यसैले यस्तै समस्या समाधान गर्ने व्यक्ति आउनुपर्छ ।’ उनले उम्मेदवारहरूसँग जनताका समस्या समाधान गर्ने प्रतिबद्धता माग गरिएको बताए ।यता उपत्यकाका तीनवटै जिल्लामा उमदेवारहरूले निर्वाचन प्रचार तीव्र पारेका छन् ।
बिहानैदेखि घरदैलोमा निस्किएका उम्मेदवार र कार्यकर्ताले पार्टीका झन्डाले टोल रंगाएका छन् भने मतदाताले सबै उम्मेदवारसँग भरपर्दो प्रतिबद्धता खोजिरहेका छन् । शनिबार काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ मा मत माग्न पुगेका एमाले र कांग्रेसका उम्मेदवारलाई मतदाताले समूहमा भेला भएर कार्यान्वयन हुन सक्ने प्रतिबद्धता ल्याउन दबाबसमेत दिए ।
ललितपुरको गोदावरी नगरपालिकाका उम्मेदवार पनि दलहरूले चुनावी अभियान तीव्र पारेका छन् । एमालेबाट गोदावरी नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका श्याम सिलवाल टिमसहित दुई दिनयता जनताको घरदैलोमै छन् भने कांग्रेसका प्रमुख गजेन्द्र महर्जन र माओवादी केन्द्रका श्रीगोविन्द मर्हजन पनि दुई दिनयता मतदाताकै घरदैलोमा छन् ।
उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा बाजागाजासहित गाउँगाउँ, टोलटोलमा पसेपछि स्थानीय तह निर्वाचनमय भएको छ । आफ्नो पक्षमा मतदान गराउने गीत र नाराहरू बोकेर उम्मेदवार जनताको मन जित्ने कोसिस गरिरहेका छन् । प्रचारप्रसारमा सामाजिक सञ्जालको प्रयोगसमेत उत्तिकै बढेको छ ।
उम्मेदवारहरूले गीतका माध्यमबाट विगतमा आ–आफ्ना पार्टीका तर्फबाट गरेका कामको बयान गरेका छन् भने आउँदो निर्वाचनमा आफूहरूलाई मत दिएर विजयी गराउन मतदातासँग आह्वान गरेका छन् । कांग्रेसले आफ्नो गीतमार्फत कांग्रेसको झन्डा बोकेर उम्मेदवारलाई विजयी गराउन ‘उठ हे उठ नेपाली, जाग हे जाग नेपाली, कांग्रेसलाई जिताउन लाग नेपाली, चारतारे झन्डा बोकी लाग नेपाली’ शीर्षकको गीत घन्काइरहेको छ । देशमा शान्ति ल्याउन आफूले भूमिका खेलेको भन्दै रूखमा भोट हाल्न आह्वान गरेको छ । स्थानीय तहकै निर्वाचनका लागि लोकगायक कृष्ण देवकोटाले ‘आयो कांग्रेस रूख लिएर’ एल्बम नै तयार पारेका हुन् ।
यस्तै नेकपा एमालेले पनि आफूहरूले जनताको काममा सधैं साथ दिएको भन्दै फेरि पनि एमाले गाउँ, सहर, बस्तीमा आएको गीतमार्फत बताएको छ । ‘आयो एमाले, लहै आयो एमाले, गाउँ, सहर, बस्तीबाट आयो एमाले । ‘गाउँको झुप्रोबाट आयो एमाले’ शीर्षकको गीतले एमालेले हिमाल, पहाड र तराई मधेस सबैतिर एमालेमय भएको उल्लेख गरेको छ । निर्वाचनलाई लक्षित गरी बजारमा पनि गीत ल्याएको छ, जुन ‘मै पनि एमाले’ एल्बमको संयोजन लोकगायक बद्री पंगेनीले गरेका हुन् ।
उनको गीतमा ‘हजुरबाले भन्नुहुन्छ सूर्यमा भोट हाल्ने, हजुरआमा भन्नुहुन्छ एमाले हो पाल्ने । भोट हाल्न लाहुरबाट आउँछु भन्छन् दाइले, एमालेकै झन्डा बोक्दै हिँडेको छ भाइले । जस्ता विषयले मतदाताको मन जित्ने विश्वास गरिएको छ ।
यसैगरी नेकपा माओवादीको केन्द्रको चुनावी प्रचारप्रसारका लागि ‘माओवादी केन्द्रलाई विजयी गराऔं’ शीर्षकको गीत प्रचार प्रसारमा ल्याएको छ । आफ्नो गीतसहित जनताको घरघरमा माओवादी केन्द्रका उम्मेदवार पुगेका छन् । ‘गाउँ, सहर, गल्ली, चोक, घरघर जाऔं । माओवादी केन्द्रलाई विजयी गराऔं’ बोलको गीत उनीहरूले घन्काइरहेका छन् ।
माओवादी केन्द्रले गीतमार्फत गणतन्त्र ल्याउने र राजतन्त्र फाल्ने आफूहरू भएको बताउँदै संविधान बनाउने र स्वाधीनताको निम्ति लड्ने आफूहरू भएको उल्लेख गरेको छ । अन्य दलहरूले पनि चुनावी गीतको माध्यमबाट मतदाताको घरघरमा पुगेर मत माग्ने काम गरिरहेका छन् ।
प्रकाशित मिति: २४ बैशाख २०७४, आईतवार ०६:४१