सिन्धुली, २३ वैशाख । सिन्धुलीको सुनकोसी गाउँपालिका–५ बन्दीपुरमा आज दिउँसो पानीसँगै परेको चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
घरमा बसिरहेको अवस्थामा परेको चट्याङका कारण १३ वर्षीया सुन्तली थापामगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिए ।
चट्याङबाट स्थानीय प्रमिला थापामगर र आदित्यमाया तामाङ घाइते भएका छन् । घाइतेको अहिले स्थानीयस्तरमा नै उपचार भइरहेको छ । घटनास्थल महाभारतको विकट स्थानमा पर्ने भएकाले जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली पठाइएको छ । सदरमुकामबाट छ घन्टापछि मात्र घटनास्थलमा प्रहरी पुग्ने भएकाले घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक बोहोराले बताए ।
यस्तै, सिन्धुलीमा शुक्रबार पानीसँगै परेको चट्याङबाट फिकल गाउँपालिका–१ महादेवडाँडामा पानीसँगै परेको चट्याङले चारजना घाइते भएका छन् । स्थानीयबासी मिनबहादुर सुनुवारको घरमा परेको चट्याङबाट ३० वर्षीया मीना सुनुवार, १० वर्षीया भूमिका सुनुवार, ४० वर्षीय भैरव सुनुवार र ३५ वर्षीया जितमाया सुनुवार घाइते भएकी छिन् ।
उनीहरुको अझै स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थानीयबासी रामजी खत्रीले जानकारी दिए । चट्याङका कारण मीनबहादुर सुनुवारको घर गोठ जलेर नष्ट भएको छ । घरगोठ जलेर नष्ट हुँदा रु पाँच लाखभन्दा बढीको क्षति भएको खत्रीले जानकारी दिए ।
चट्याङका कारण घरमा जडान गरिएको सोलार, टिभी, अन्नपात भाँडाकुँडालगायतका सरसामान जलेर नष्ट भएको छ ।
सिन्धुलीका विभिन्न स्थानमा केही दिनदेखि चट्याङका कारण धनजनको क्षति भइरहेको छ । आज धेरै स्थानमा चट्याङ परेको भए तापनि अन्य स्थानमा भएको क्षतिका बारेमा जानकारी नआएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । रासस
प्रकाशित मिति: २३ बैशाख २०७४, शनिबार १८:०३