सुर्खेत, २२ बैशाख । यही बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस सुर्खेतले नगर र जिल्लाको विकास योजनासहितको संकल्पपत्र सार्वजनिक गरेको छ । समृद्ध नगरको योजनासहितको २३ बुँदे र जिल्लाको २६ बुँदे संकल्पपत्र कांग्रेस क्षेत्रीय सभापति नारायण कोइराला र जिल्ला सभापति कमलराज रेग्मीले शुक्रवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे । कांग्रेसले सुविधासम्पन्न नगर पालिका, भवन, सडक, यातायातको समुचित व्यवस्था, संचार, शिक्षा, स्वास्थ्य र सिंचाईलाई प्राथमिकता दिएको छ ।
यस्तै स्थानीयको माग र आवश्यकताका आधारमा विशेष योजनाहरु पनि संचालन गर्ने बताइएको छ । वीरेन्द्रनगरलाई प्रदेश नं. ६ को राजनधानी बनाउन पूर्वाधारसहितको विकास गर्ने अर्को संकल्पपनि गरेको छ । सुशासन, सहरी तथा बस्ती विकास, प्रदेशको राजधानी, पर्यटन तथा सम्पदा संरक्षण, सहकारी तथा बैंकिङ प्रवद्र्धन, उद्योगधन्दा, शान्ति सुरक्षा, शिक्षा र स्वास्थ्य, सार्वजनिक यातायात, सडक, कृषि तथा पशुपालन आधुनिकीकरण लाई कांग्रेसको नगर विकासको संकल्प गरेको छ । यस्तै निजी क्षेत्र र लगानीको वातावरण, खानेपानी तथा सरसफाई, वान स्टप सप, सुरक्षित आवास, विज्ञान प्रविधि, अनुसन्धान विकास, कला संस्कृति, वातावरण, प्राकृतिक स्रोत व्यवस्थापन, प्राकृति स्रोत व्यवस्थापन, सामाजिक क्षेत्र, सुकुम्बासी तथा असुरक्षित आवासको समस्या समाधान, पूर्वाधार विकास पनि कांग्रेसको संकल्पभित्र रहेको छ । वीरेन्द्रनगरलाई कार्बन सिंक सहरको रुपमा अगाडि बढाइने, वीरेन्द्रनगरका ५ स्थानमा सहरी बनको अवधारणा अनुसार काम गर्ने, बालविवाह मुक्त सहर बनाइने, दुव्र्यसनरहित सहर बनाउन पनि अग्रसर रहने, बाढीपीडितका लागि सरकारबाट घोषणा भएको राहत यथासिघ्र उनीहरुसमक्ष पु¥याउन पहल गरिने बताइएको छ ।
यसका साथै नगरको विकासका लागि केही विशेष योजनाहरु पनि कांग्रेसले सार्वजनिक गरेको छ । वडास्तरमा शाखा रहने गरी खाद्य संस्थान स्थापना गरी कृषि उपज खरिद तथा विक्री गरिने, भूमिहीन सुकुम्बासीलाई जग्गाको व्यवस्थापन गरी आवास निर्माण गर्ने, दैनिक उपभोग्य बस्तु सहुलियतमा उपलव्ध गराउन रासन कार्ड लागू गर्ने, गरीव विपन्न, मजदुर, अशक्त र बृद्धबृद्धालाई आकस्मिक उपचार सहयोगका लागि कोषको व्यवस्था गर्ने, गरीवीको रेखामुनि रहेका घरपरिवारलाई विद्युत र पानीको महसुलमा न्यूनतम शुल्कमा अनुदान दिने, सामाजिक सुरक्षा भत्ता घरघरमै उपलव्ध गराइने, असहाय बालबालिकाको पालनपोषण र शिक्षाका लागि कोषको व्यवस्था गर्ने, स्थानीय करलाई सम्बन्धित वडाको विकासमा प्राथमिकता दिने र बैकल्पिक व्यवस्था नहुनेबेलासम्म बर्षमा कम्तीमा ३ महिना रोजगारीको व्यवस्था गर्ने संकल्प कांग्रेसले गरेको छ । कांग्रेस सभापति कमलराज रेग्मीले राजनीतिक संक्रमणको निकाससंगै आर्थिक क्रान्तिको लागि पनि स्थानीय तहमा कांग्रेसको नेतृत्व आउन जरुरी रहेको र सुर्खेतमा आउने दावीपनि गरेका छन् ।
प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार १८:४०