रामपुर (पाल्पा), २२ वैशाख । पशुपालनको सङ्ख्या घट्दै जाँदा गिद्धको आहार व्यवस्थापनमा समस्या आएको छ ।
गिद्धको मुख्य आहारका रुपमा मरेका पशुपक्षी रहे पनि घरपालुवा पशुपालनमा कमी आउँदा आहारमा समस्या थपिएको हो । लोपोन्मुख पक्षीका रुपमा रहेका गिद्धको आहार कम हुँदै जाँदा त्यसको व्यवस्थापनका लागि खैरेनी सामुदायिक वन समूह रामपुरलाई समस्या परेको छ ।
प्रकृतिको कुचिकारका रुपमा मानिने गिद्धले गाउँघरमा मरेका पशुपक्षीलाई मुख्य आहार बनाउँदै आएको छ ।
रामपुर नगरपालिकाको खालिवन क्षेत्रमा अहिले पशु पाल्नेको सङ्ख्या एकदमै न्यून रहेको र केहीले बडो मुस्किलले एक दुई वटासम्म पशु पाल्ने गरेको पाइएको छ । रामपुर खालिवनका समाजसेवी एकराज अर्यालले पशुपालनमा कमी हुँदै जाँदा गिद्धको आहारमा समस्या परेको बताए । “पहिला सबैका घरमा प्रशस्त मात्रामा पशु पालिन्थ्यो, दिनमा एक दुई वटा पशु मरेकै हुन्थे”, “गिद्धको आहारमा कुनै समस्या रहँदैनथ्यो” – उनले बताए ।
कालीगण्डकीको तटमा अवस्थित यस वनमा गिद्धले वर्षौंदेखि मुख्य वासस्थानको थलो बनाउँदै आएको छ । पछिल्लो समय पशुआहार अभावमा गिद्ध सङ्कटमा परेको छ । वन क्षेत्रका उपभोक्तालाई गिद्धको आहार व्यवस्थापनले पिरोलेको उपभोक्ता बताउँछन् । वन क्षेत्रमा हाल २५० को हाराहारीमा गिद्ध भेटिन्छन् । यी गिद्धलाई मरेका पशुचौपायाको अभावमा आहारमा कमी आएको छ ।
वन उपभोक्ता समितिले गिद्ध संरक्षणका लागि २०६५ बाट घर घरमा मरेका पशु चौपायालाई परीक्षण गरेरमात्र अनिवार्य रुपमा वन क्षेत्रमा पुर्याउने व्यवस्था गरेको छ । पहिला पहिला स्थानीयवासीले जथाभावी रुपमा नदी किनारका तटमा मरेका पशुपक्षी फ्याँक्ने गरेकोमा हाल वन समूहले मरेका पशु फ्याँक्नका लागि निश्चित स्थान तोकेको वन समूहका अध्यक्ष कृष्णप्रसाद अर्यालले बताए । उनले भने – “पशुपालनको सङ्ख्या बाक्लो हुँदा गिद्धको आहारमा कमी थिएन, अहिले त एक महिनामा एउटा मरेको पशु पाउन मुस्किल परेको छ ।”
गिद्ध संरक्षणका रुपमा चिनिएको यस वनमा पर्याप्त मात्रामा गिद्ध आहारको व्यवस्थापन गर्न सके गिद्धको सङ्ख्यामा ह्वात्तै बढ्ने अनुमान छ । रामपुर नगरपालिकाको खालिवनमात्र नभई सिङ्गो नगर क्षेत्र, कालीगण्डकीपारि रहेको चापाकोट नगरपालिकाका मरेका पशुचौपाया यस क्षेत्रमा ल्याउने व्यवस्था मिलाउन सके गिद्धको आहारमा कुनै कमी आउने छैन । रासस
प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार १५:४५