गोरखा, २२ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि सुरक्षाको दृष्टिले अतिसंवेदनशील आँकलन गरिएका गोरखाका विभिन्न मतदानस्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी र म्यादी प्रहरी परिचालन गरिने भएको छ ।
मतदानस्थलका दोस्रो र तेस्रो घेरामा क्रमशः सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिनेछन् । सुरक्षा समितिले गोरखाका ६८ वटा निर्वाचनस्थललाई अतिसंवेदनशील क्षेत्र पहिचान गरिसकेको छ । सो क्षेत्रमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । निर्वाचनस्थलमा परिचालन हुनका लागि ६८ जना नयाँ प्रहरी निरीक्षक जिल्ला भित्रिसकेका छन् ।
अधिकांश निर्वाचनस्थल तथा केन्द्र विद्यालय परिसरमा रहनेछन् । गोरखा नगरपालिकाको रामशाह मावि, राजदेवी प्रावि, महालक्ष्मी प्रावि, पालुङटार नगरपालिकाअन्तर्गत रहेका विभिन्न २३ निर्वाचनस्थल, गण्डकी गाउँपालिकाका सात, भीमसेन गाउँपालिकाका सात, सुलिकोट गाउँपालिकाका तीन, अजिरकोट गाउँपालिकाका पाँच, सहिद लखन गाउँपालिकाका पाँच र सिरानचोक गाउँपालिकाका १५ निर्वाचनस्थल सुरक्षाका दृष्टिले अतिसंवेदनशील रहेको बताइएको छ ।
गोरखामा रहेका दुईसय १३ निर्वाचनस्थलमध्ये एकसय १३ मतदानस्थल अतिसंवेदनशील पहिचान गरिएको छ भने १२ निर्वाचनस्थल सामान्य प्रकृतिमा राखिएका छन् । दुई फरक सिद्धान्त बोकेका पार्टीमा आस्थावान् नेता, कार्यकर्ताबीच हुनसक्ने झडप, सम्भावित आपराधिक क्रियाकलाप र विगतका निर्वाचनमा भए÷गरेका राजनीतिक विवादका कारणले हुने झडपलाई आधार मानेर निर्वाचनस्थललाई अतिसंवेदनशील र सामान्यमा वर्गीकरण गरिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।
निर्वाचनमा सुरक्षा दिनका लागि गोरखामा थप ६ सय २७ प्रहरी ल्याइएको छ । यीमध्ये ६८ जना प्रहरी निरीक्षक हुन् । गोरखामा एकहजार चारसय २६ जना म्यादी प्रहरी परिचालन गरिएको छ । म्यादी प्रहरी तोकिएको स्थानतर्फ गइसकेका छन् । एउटा मतदान केन्द्रमा प्रहरीसँगै कम्तीमा चार म्यादी प्रहरी परिचालन हुनेछन् ।
दुई नगरपालिका र नौवटा गाउँपालिका रहेको गोरखामा एकलाख ६९ हजार ४३ जना मतदाता रहेका छन् । सहरी क्षेत्रमा बसोबास गर्दै आएका मतदाता यही वैशाख ३१ गते हुने निर्वाचनका लागि गाउँ फर्कने क्रम बढेपछि गाउँघरमा चहलपहल छाएको छ । रासस
प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार ०७:४७