सुर्खेत २२ वैशाख । स्थानीय तहको निर्वाचनका लागि मतदानको दिन नजिकिँदै गर्दा दलहरू नतिजा आफ्नो पक्षमा पार्न अन्तिम कसरत गरिरहेका छन् । प्रदेश नम्बर ६ का १० वटै जिल्लामा चुनावको माहोल तातेको छ । तर पनि यहाँका दलहरूले वीरेन्द्रनगरको चुनावलाई मुख्य टार्गेट बनाउँदै जित्न सम्पूर्ण शक्ति लगाएका छन् ।यो प्रदेशको सम्भावित राजधानीको रूपमा चर्चा पाएको वीरेन्द्रनगर नगरपालिको चुनावलाई दलहरूले मुख्य टार्गेट बनाएका हुन् ।वीरेन्द्रनगरको चुनाव जितेमा प्रदेशभर नै पार्टीको शक्ति मापन हुने र सकारात्मक सन्देश प्रवाह हुने दलहरूको निष्कर्ष छ । यही कारण पनि यो प्रदेशमा दलहरूले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको चुनावलाई मुख्य टार्गेट बनाएका छन् ।
प्रमुख दल कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाले वीरेन्द्रनगरको नेतृत्व हात पार्न सबै शक्ति केन्द्रित गरेका छन् । वीरेन्द्रनगरको नेतृत्व हात पारे प्रदेशभर नै पार्टीको साख जोगिने निष्कर्षमा दलहरू पुगेका छन् । नगरको नेतृत्व हात पार्न ठूला पार्टीका केन्द्रीय नेतृत्वले नै कसरत गरिरहेका छन् ।
माओवादी केन्द्रले यो प्रदेशमा सबैभन्दा पहिला गत चैत ११ गते केन्द्रीय नेताको रोहबरमा मेयर र उपमेयर घोषणा गर्यो । माओवादीका केन्द्रीय सदस्य टोपबहादुर दर्लामी भन्नुहुन्छ, ‘हामीले केन्द्रीय सदस्य रत्नबहादुर गाहालाई मेयरको उम्मेदवार बनाएका छौं, हामीले सबै तहमा जित्नेगरी कसरत गरेका छौं । तर पनि मुख्य टार्गेट वीरेन्द्रनगरमा हो, यहाँको चुनाव जिते प्रदेशभर नै सकारात्मक सन्देश प्रवाह हुनेछ ।’
प्रदेशको सम्भावित राजधानीको रूपमा चर्चा पाएको वीरेन्द्रनगरको चुनाव जितेमा पार्टीको शक्ति मापन हुने र प्रदेशभर नै उत्साह प्रवाह हुने दलहरूको निष्कर्ष छ । यही कारण पनि दलहरूले वीरेन्द्रनगर नगरपालिकाको चुनावलाई प्रतिष्ठाको रूपमा लिँदै मुख्य टार्गेट बनाएका छन् ।
एमालेले यसअघि भएका दुवै स्थानीय चुनावमा वीरेन्द्रनगरमा जितेको थियो । तर दोस्रो संविधानसभामा दुई गुटमा चुनाव लडेपछि एमालेभित्र समस्या देखिएको थियो । त्यही समस्याका कारण एमालेले उम्मेदवार छनोटमा निकै कसरत गर्नुपर्यो । पार्टीलाई एकताबद्ध बनाएर नगरको नेतृत्व गुम्न नदिन एमालेले पूर्वमेयर बालाराम शर्मालाई नै अगाडि सारेको छ । शर्माको नाममा पार्टीका दुवै गुट सहमत भएकाले चुनाव जित्ने एमालेको दाबी छ । उमेर ढल्केको र शारीरिक कमजोरीका कारण शर्माले उम्मेदवार बन्ने इच्छा देखाउनुभएको थिएन ।
नगरको चुनाव जित्नै पर्ने निष्कर्षमा पुगेको कांग्रेसले अन्तिम समयमा मात्र उम्मेदवारको टुंगो लगायो । पार्टीभित्र निकै विवाद भएपछि केन्द्रीय सदस्य पूर्णबहादुर खड्का र सहकारीमन्त्री हृदयराम थानीको उपस्थितिमा कांग्रेसले वीरेन्द्रनगरमा उम्मेदवार छनोट गरेको थियो । कांगे्रसले नगर सभापति देवकुमार सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ । दुई धारमा विभाजित कांग्रेस कार्यकतासमेत नेतृत्वले वीरेन्द्रनगरको चुनाव कुनै पनि हालतमा जित्नुपर्ने बाध्यता रहेको भनेपछि सुवेदीको नाममा सहमत भएका हुन् । नगरको चुनाव जित्न कांग्रेसले पनि सबै शक्ति केन्द्रित गरेको छ । कांगे्रसका केन्द्रीय नेता र मन्त्री नै नगरको नेतृत्व हत्याउन अन्तिम कसरत गरिरहेका छन् । प्रादेशिक राजधानीको चर्चाले पनि दलहरूले जिल्लाका अन्य गाउँपालिका र नगरपालिकामा भन्दा वीरेन्द्रनगरलाई बढी महत्व दिएका छन् ।
वीरेन्द्रनगरमा मेयरका लागि १३ जनाको उम्मेदवारी दर्ता भएको छ जसमध्ये तीनजनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । राप्रपाले ईश्वर श्रेष्ठलाई मेयरको उम्मेदवार बनाएको छ । उम्मेदवारले आफ्नो मुख्य एजेन्डाका रूपमा नै वीरेन्द्रनगरलाई प्रदेशको राजधानी बनाउने विषयलाई अगाडि सारेका छन् ।
प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार ०७:२२