पोखरा, २१ वैशाख । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएपछि यतिखेर पोखरासहित आसपासका गाउँ र बस्तीमा दलका चुनावी गीत घन्कन थालेका छन् ।
विभिन्न दल निकट कलाकारले तयार गरेका गीत यतिखेर प्रचारप्रसारमा प्रयोग गरिएका गाडीका साथै आयोजित सभा समारोह र मोबाइलमा निकै प्रयोग गर्ने गरिएको छ ।
गीतमा विगतमा आ–आफ्ना पार्टीले गरेका कामको बयान गर्दै आसन्न स्थानीय तहमा आफ्ना उम्मेदवारलाई विजयी गराउने गरी लक्षित छन् । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेस कास्कीको सहयोगमा नेपाल सांस्कृतिक सङ्घ, कास्कीले बजारमा ल्याएको चारतारा शीर्षकको एल्बमका गीत यतिखेर पार्टीको चुनाव प्रचारप्रसारमा प्रयोग गरिएको छ ।
सो एल्बममा –
“उठ हे उठ नेपाली, जाग हे जाग नेपाली ।
काँग्रेसलाई जिताउन लाग नेपाली, चारतारे झन्डा बोकी लाग नेपाली ।।
देशमा शान्ति ल्याएको हो काँग्रेस पार्टीले ।
रुखमा भोट हालौँ भन्छ मेरो साथीले ।। जस्ता गीत समेटिएको छ ।
स्थानीय तहकै निर्वाचनका लागि लोक गायक कृष्ण देवकोटाले तयार गरेको ‘आयो काँग्रेस रुख लिएर’ एल्बम पनि यतिखेर बजारमा आएको छ ।
उक्त एल्बममा –
सपनीमा देखिन्छ रुखमात्रै, अरुको त हो हजुर मुख मात्रै ।
काँग्रेस पार्टी बलेको दियो हो, आन्दोलनको कमान्डर मियो हो ।।
आयो काँग्रेस रुख लिएर, जसरी नि काँग्रेसलाई जिताउँ है रुख चिह्नमा भोट दिएर ।। जस्ता गीत समेटिएको छ ।
स्थानीय तहको निर्वाचनका लागि जनसांस्कृतिक महासङ्घ कास्कीको प्रस्तुतिमा ल्याइएको ‘सुख दुःखमा एमाले’ एल्बम यतिखेर गाउँ बस्तीमा घन्कन थालेको छ ।
उक्त एल्बममा –
“आयो एमाले, लहै आयो एमाले ।
गाउँ सहर बस्तीबाट आयो एमाले ।।
गाउँको झुप्रोबाट आयो एमाले ।
हिमाल पहाड मधेस तराई आयो एमाले ।। लगायत गीत समेटिएको छ ।
निर्वाचनलाई लक्षित गरी बजारमा आएको एमालेको ‘मै पनि एमाले’ एल्बम पनि उत्तिकै चर्चित छ ।
सो एल्बममा –
हजुरबाले भन्नुहुन्छ सूर्यमा भोट हाल्ने, हजुरआमा भन्नुहुन्छ एमाले हो पाल्ने ।
भोट हाल्न लाहुरबाट आउँछु भन्छन् दाइले, एमालेकै झन्डा बोक्दै हिँडेको छ भाइले ।। जस्ता गीत समेटिएको छ ।
नेकपा (माओवादीको केन्द्र)को चुनावी प्रचारप्रसारका लागि ‘माओवादी केन्द्रलाई विजयी गराऔँ’ गीत यतिखेर सो पार्टीका चुनाव प्रचारप्रसारका लागि प्रयोग गरिएको छ ।
उक्त एल्बममा –
गाउँ, सहर, गल्ली, चोक, घर घर जाऔँ ।
माओवादी केन्द्रलाई विजयी गराऔँ ।।
गणतन्त्र ल्याउने पनि माओवादी, राजतन्त्र फाल्ने पनि माओवादी ।
संविधान बनाउने माओवादी, स्वाधीनताको निम्ती लड्ने माओवादी ।। लगायत गीत रहेका छन् ।
निर्वाचनलाई लक्षित गरी माओवादी केन्द्र निकट विभिन्न कलाकारका अन्य नयाँ नयाँ गीतले पनि गाउँ सहर गुन्जिएको छ ।
विगतका निर्वाचनमा चुनावी गीतको प्रयोग निकै कम मात्रामा हुने गरेको बताउने नयाँ बजारका श्याम तिवारी स्थानीय तहको निर्वाचनको सरगर्मी बढेसँगै चुनावी गीतको प्रयोग ह्वात्तै बढेको बताउछन् ।
चुनावी गीतलाई आफ्ना मोबाइलको रिङ टोन तथा ब्याक टोन आदिमा प्रयोग गर्ने क्रम पनि निकै बढेको छ । लोकतन्त्रमा कलाकार पनि कुनै न कुनै दलसँग निकट हुने भएका कारण कालाकारको सहयोगमा दलहरूले चुनावी गीत बनाउने क्रम निकै बढेको लोक गायक कृष्ण देवकोटा बताउछन् ।
“कलाकारले चुनावी गीत बनाएर आफू निकट दललाई ठूलो सहयोग पुर्याउने गरेका छन्,” उनले भने । चुनावी गीत निर्माणले सम्बन्धित दललाई प्रत्यक्ष फाइदा पुग्नुका साथै कलाकारको व्यावसायिकताका लागि पनि उपलब्धिमूलक बन्ने गरेको वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुली बताउछन् । रासस
प्रकाशित मिति: २१ बैशाख २०७४, बिहीबार १५:५४