ललितपुर, २० वैशाख । ललितपुर महानगरपालिकाले पर्या–पर्यटनमार्फत सहरी क्षेत्रको गरिबी न्यूनीकरण गर्न सुरु गरेको ‘गरिबउन्मुख सहरी पुनःस्थापना नमुना परियोजना’ (पियुआरपिपी) प्रभावकारी देखिएको छ ।
पियुआरपिपी ‘जापानी सामाजिक विकास कोष’अन्तर्गत विश्व बैंकमार्फत ललितपुर महानगरपालिकाको १६, १८, २१ र २२ वडामा सञ्चालित कार्यक्रम हो ।
उक्त परियोजना मूर्त एवम् अमूर्त सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षण सम्वद्र्धनका साथै सांस्कृतिक हस्तकलाको व्यावसायिक प्रवद्र्धन र सांस्कृतिक पर्यटनलाई विकास गरी सहरी गरिबी न्यूनीकरण गर्ने उद्देश्य हासिल गर्न प्रभावकारी भएको यहाँ आज आयोजित कार्यक्रममा जानकारी दिइयो ।
महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद दाहालले हालसम्मको प्रगति हेर्दा परियोजनाको लक्ष्यअनुसार सहभागिता कार्ययोजना पहिचान गरिएको र ७० प्रतिशत कार्यक्रम स्थानीय तहमा सञ्चालन गर्नुपर्नेमा हालसम्म ७६ प्रतिशत कार्यक्रम सञ्चालनमा आइसकेको बताए ।
परियोजनाले स्थानीय सीप, कला, पुरातात्विक सम्पदा, संस्कृतिको जगेर्ना गर्दै त्यसको उपयोगबाट गरिबी न्यूनीकरण गर्ने उद्देश्य राखिएको छ । हाल पाटन दरबार स्क्वायरमा आउने पर्यटक सीमित क्षेत्र र समय मात्र व्यतित गर्ने भएपछि महानगरले पर्यटकको समय लम्ब्याउन त्यस्ता कार्यक्रम ल्याएको जनाएको छ ।
परियोजनाअन्तर्गत पाटन दरबार क्षेत्र हेर्न आउने पर्यटकलाई पाटन हाताभित्र केही थप समय व्यतित गरुन् भन्ने उद्देश्यले समुदायको पूर्ण सहभागितामा पाटन ढोकादेखि पाटन दरबार स्क्वायरसम्म सांस्कृतिक सुविधा सम्पन्न ‘पथ’ निर्माण गरिएको महानगरपालिकाका वरिष्ठ इन्जिनियर तथा परियोजनाका संयोजक प्रविण श्रेष्ठले जानकारी दिए । उक्त पथमा पर्यटकलाई आकर्षित गर्न तीन वटा विन्डो कार्यक्रमको अवधारणाबाट कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
विन्डो एकअन्तर्गत पूर्वाधार निर्माण, विन्डो दुईअन्तर्गत समुदायमा आधारित विकास कार्यक्रम र विन्डो तीनअन्तर्गत व्यावसायिक विकासका प्रयासलाई अघि बढाउने लक्ष्यका साथ काम भइरहेको परियोजनाका संस्थागत विकास विशेषज्ञ मनोजकुमार लालले जानकारी दिए ।
हाल विन्डो एकअन्तर्गत पूर्वाधारसम्बन्धी कार्य सञ्चालन गर्न उपभोक्ता समूह स्वतःस्फूर्त अगाडि आई सबै कार्य उपभोक्ता समूहबाट सञ्चालनमा आएको उनले बताए ।
परियोजनाअन्तर्गत पहिलो चरणमा उक्त वडाका करिब तीन हजार गरिबीको रेखामुनिका जनसङ्ख्यालाई लक्षित गरी पर्यटन र सांस्कृतिक सीपमा आधारित विभिन्न आय आर्जनमूलक कार्यक्रम गरिएको छ । रासस
प्रकाशित मिति: २० बैशाख २०७४, बुधबार १७:१५