विश्व प्रेस स्वतन्त्रता दिवस, २०१७
प्रत्येक वर्षजस्तै यस वर्ष पनि विश्वभरि मे ३ अर्थात आजका दिन बाइसौं विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । नेपालमापनि मे ३ का दिन यो दिवस मनाउने चलन सुरु भएको डेढ दशक वितिसकेको छ । यसै दिनको अवसर पारेर संचार र पत्रकारितासँग सम्बन्धित विभिन्न संघ संस्थाले विविध कार्यक्रमको आयोजना गर्दैछन । संयुक्त राष्ट्र संघको आव्हानमा यो दिवस विश्वभरि नै मनाउने गरिन्छ । यो दिवस मनाउने सन्दर्भमा युनेस्कोले प्रत्येक वर्ष नारा तय गर्दछ र वर्षभरि नै त्यो नारासँग सम्बन्धित गतिविधि स्वयंले पनि आयोजित गर्दछ र अन्य राज्य तथा नागरिक संघ संस्थालाई वहसमा आधारित गतिविधि संचालन गर्न प्रोत्साहित गर्दछ ।यसपटक युनेस्कोले क्रिटिकल माइन्डस फर क्रिटिकल टाइम्स भन्ने नारा तय गरेको छ । नेपाल पत्रकार महासंघले यस नारालाई नेपालीमा संवेदनशील समयका लागि संवेदनशील विचार भनेर अनुवाद गरेको छ । नेपालका सन्दर्भम यसपटकको नारा अत्यन्त सामयिक ठहरिएको छ । नेपाल साँचचे संवेदनशील मोडमा छ र यसको सम्बोधन संवेदनशीद विचारमार्फत् नै गरिनु आवश्यक छ । नेपालमहाभूकम्पको प्रभावको महाविपत्तिसँग अझै जुधिरहेको छ भने दुई दशकको अन्तरालमा हुन गइरहेको पहिलो स्थानीय तहको चुनावमा होमिएको छ । यसको सोझो सम्बन्ध लोकतन्त्रलाई संस्थागत गर्ने र राज्य पुनर्संरचनालाई टुंगोमा पुर्याउने कुरासँग पनि छ । यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस हामी यसै सेरोफेरोमा मनाउन गइरहेका छौ ।
पत्रकारिता (मिडिया)लाई समाजको ऐना भनिन्छ । निश्चितरुपमा यो मान्यताले पत्रकारिता वा मिडियाको वर्तमानसँग जोडिएको महत्वको व्याख्या गर्दछ । युनेस्कोको यस वर्षको नाराको विश्लेषण गर्ने हो भने सूचनाको समुचित प्रयोग गरेर मानिसलाई अधिकारसम्पन्न बनाउन आश्वस्त गर्न खोजेको अर्थमा बुझ्न सकिन्छ र यसका लागि संवेदनशीलता आवश्यक छ भन्ने तात्पर्य निकाल्न सकिन्छ । नेपालको वर्तमानको सकसपूर्ण अवस्था हेर्ने हो भने पनि नेपाली मिडियाले यसै आधारमा आफ्नो भूमिका खोज्नु र निर्वाह गर्नु अपेक्षित छ । प्रेस स्वतन्त्रता अपरिहार्य छ । युनेस्कोले आफ्नो स्थापनाकालदेखि नै यस तथ्यलाई स्वीकार गरेको छ र यसैअनुकूल आफ्ना गतिविधि संचालन गर्दै आएको छ । आजको विश्वमा युनेस्को प्रेस स्वतन्त्रता र प्रेस र पत्रकार सुरक्षाका क्षेत्रमा चिन्ता गर्ने र तदनुरुप क्रियाशील रहने सबैभन्दा महत्वपूर्ण संस्था हो भन्दा फरक पर्दैन । यसपटकको नाराबाट पनि यो कुरा बुझ्न कठीन हुँदैन । प्रेस स्वतन्त्रताको अभावमा प्रेस न त व्यवशायिक हुन सक्छ न त नैतिक नै न त जिम्मेबार नै । सुरक्षा महत्वपूर्ण कुरा हो । सुरक्षाको अभावमा प्रेस स्वतन्त्र हुन सक्दैन, यो सत्य हो । सत्यको उद्घाट्नका लागि स्वतन्त्र प्रेसको प्रत्याभूति आवश्यक छ ।
नेपाल र नेपालीको अबको दायित्व भनेको संवेदनशील भएर नव नेपालको निर्माणमा जुट्नु हो । अबको समय पुनर्निर्माण र राज्य पुनर्संरचनाको हो । विकासको नयाँ यात्रा गर्ने हो । यसमा प्रेस र पत्रकारको दायित्व निकै महत्वपूर्ण हुन्छ । भावी नेपालको नक्सा कोर्न र नयाँ राज्य संरचना एवं निर्माण कार्यको अनुगमनका दिशामा नेपाली मिडियाको निर्णायक भूमिकाको खोजी हुनुपर्छ । यस सन्दर्भमा पनि युनेस्कोको नारा विश्लेषण गर्न सकिन्छ । यस सन्दर्भमा हामीले एउटा कुरा के विर्सन मिल्दैन भने विकासको सम्बन्ध भौतिक संरचनाको निर्माणसँग मात्र छैन यो मानवको जीवनस्तरको वृद्धिसँग पनि जोडिएको छ ।जबजब स्वतन्त्र प्रेसको सन्दर्भको उठान हुन्छ सँगसँगै अभिव्यक्ति स्वतन्त्रताको सन्दर्भ जोडिएर आउने गर्दछ । सिद्धान्ततः विचार तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति भएको लोकतान्त्रिक वातावरणको अभावमा प्रेस स्वतन्त्रताको कल्पना गर्न सकिदैन । यसैले यहाँनिर हामीले प्रेस स्वतन्त्रताको सुनिश्चितताको चर्चा गरिरहँदा विचार तथा अभिव्यक्ति स्वतन्त्रता स्वतः प्रत्याभूत छ भन्ने बुझ्नु जरुरी छ । निश्चित पनि हो, सुन्दर र समृद्ध भविष्यका लागि वर्तमानमा सुन्दर र सुदृढ विकास सुनिश्चित हुनुपर्दछ । यसका लागि आवश्यक छ, प्रेस स्वतन्त्रता । विचार तथा अभिव्यक्तिर प्रेस स्वतन्त्रता कतिसम्म आवश्यक छ भने यसको अभावमा विकासका कार्यहरुले सार्थक आकार ग्रहण गर्न तथा सार्थक लक्ष्य हासिल गर्न सक्दैनन् भन्ने तथ्य पछिल्ला दिनमा राम्रैसँग प्रमाणित भइसकेको छ। अहिलेको विश्वमा विकासको प्रमुख बाधक भनेकै अपारदर्शिता, सूचनामा नागरिक पहुँचको अभाव, जनसहभागिताको कमी, भ्रष्टाचार र सरकारी क्षमतामा कमी हो । नेपाली प्रेस खवरदार गर्ने भूमिकामा सशक्तरुपले उभिनु जरुरी छ । यसका लागि वैचारिक संवेदनशीलता आवश्यक छ, जो सूचनाको संवेदनशील विश्लेषणका आधारमा मात्र सम्भव छ ।
युनेस्कोको नारा नेपाली संचारकर्मी र पत्रकारिताका लागि मननीय छ । नेपालको राजनीति यतिखेर संक्रमणको अवस्थामा छ । नेपाली जनतालाई अहिले स्थानीय निर्वाचनको चटारो छ । पहिलो चरणको निर्वाचन कार्यक्रमअन्तर्गत हिजो मंगलबार म्मिेदवारी मनोनयन दर्ता गरिएको छ । स्थानीय सरकारको परिकल्पनाका आधारमा हुन गइरहेको यो पहिलो निर्वाचनले प्रेस तथा अभिवयक्ति स्वतन्त्रताका दृष्टिले निकै अर्थ राख्दछ । यस्तो अवस्थामा नेपाली पत्रकारहरु आज प्रेस स्वतन्त्रता दिवस मनाइरहेका छन् । विधानतः नेपाल पत्रकार महासंघले आफ्नो महाधिवेशन आयोजनागर्ने तिथि पनि हो आज । तर यही स्थानीय तहको निर्वाचनका कारण महाधिवेशन केही पर धकेलिएको छ । निश्चय नै पत्रकारिताको सम्बन्ध सुशासन प्रवद्र्धन गर्ने र जनताको जीवनस्तर सुधार्ने कुरासँग पनि छ । मिडियाले विकासलाई दीगो बनाउँछ भन्ने मान्यता नयाँ होइन । मिडियाले प्रभावकारी र दीगो विकास र सुशासन प्रवद्र्धनका लागि पारदर्शिता, जवाफदेहिता र उत्तरायित्वजस्ता अवयवको अनिवार्यतामा जोड दिन्छ । वास्तवमा यी सबै सुशासनका तत्व हुन जसको प्रवद्र्धनमा मिडियाको निर्णायक भूमिका रहन्छ । यसका माध्यमले भ्रष्टाचार न्यूनीकरण, जनताको उल्लेखनीय सहभागिताको वृद्धि र प्रभावकारी एवं जवाफदेही सरकारको अभ्यासलाई सवल बनाउँछ । हाल हुन गइरहेको राज्य पुनर्संरचना अर्थात् स्थानीय सरकार गठन प्रक्रियाले यस मान्यतालाई वल पुर्याउने विश्वास गर्न सकिन्छ । लोकतन्त्रको लक्ष्य पनि यही हो, स्थानीय स्तरमै व्यक्ति र समुदायको सर्वोत्तम विकास एवं शान्तिको प्रत्याभूति । वस यसका लागि समयको संवेदनशीलतालाई बुझी विचारको संवेदनशीलतालाई आकार प्रदान गरिनु आवश्यक छ ।
(लेखक नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन । )
प्रकाशित मिति: २० बैशाख २०७४, बुधबार १२:०१