काठमाडौँ, २० वैशाख । नवनारी मासिक पत्रिकाले महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील पाँच पत्रकारलाई मंगलबार ‘नवनारी सम्मान’ प्रदान गरेको छ ।
सम्मानित हुनेमा प्रेस काउन्सिल नेपालका सदस्य शुभेच्छाविन्दू तुलाधर, नेपाल टेलिभिजनका आरती चटौत, मेट्रो एफएमका रुपा शर्मा (नेहा), साँघु साप्ताहिकका अमृता लम्साल र शिक्षक मासिकका पुष्पा अधिकारी छन् ।
पत्रकारिताको माध्यमबाट उहाँहरुले महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील भई सामाजिक रुपान्तरणमा सहयोग पुर्याएको भन्दै सो सम्मान दिइएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति रञ्जुकुमारी झाले उहाँहरुलाई सम्मान गर्दै सामाजिक रुपान्तरणका लागि महिला वर्गको भूमिका महत्वपूर्ण हुने हुँदा उनीहरुलाई मूलधारमा ल्याउनुपर्ने खाँचो औँल्याए ।
उनले महिला अधिकार तथा सशक्तीकरणका क्षेत्रमा क्रियाशील महिलालाई सो पुरस्कारले थप हौसला मिल्ने विश्वास व्यक्त गरे ।
नवनारी मासिकका सम्पादक जानुका ढकालले गुल्मी जिल्लाको विकट बाम्घा गाविसमा बसोबास गर्ने एकसय ६० बालबालिकाको शिक्षामा सहयोग पु¥याइने उद्देश्यले सांस्कृतिक साँझको आयोजना गरिएको पनि जानकारी दिए । राष्ट्रियस्तरका कलाकारबाट भएको उक्त सांस्कृतिक कार्यक्रमबाट उठेको रकम ती बालबालिकालाई उपलब्ध गराइने बताइएको छ । रासस
प्रकाशित मिति: २० बैशाख २०७४, बुधबार ०७:३३