चितवन, १९ वैशाख । चितवन राष्ट्रिय निकुञ्जपारीको माडी नगरपालिकाका बासिन्दा सदरमुकाम भरतपुरबाट घर जाँदा र आउँदा निकुञ्जलाई शुल्क तिर्नुपर्ने बाध्यतामा छन् ।
निकुञ्जको बाटो प्रयोग गर्दा दुई पाङ्ग्रे सवारीसाधनका चालकले एक पटकमा रु १० तथा चार पाङ्ग्रे र सो भन्दा ठूला सवारीसाधनका चालकले रु ५० तिर्नुपर्छ । मूल्य अभिवृद्धि कर जोड्दा साना सवारीसाधनको ११ रुपैयाँ ३० पैसा हुने भए पनि निकुञ्जका कर्मचारीले रु १५ लिने गरेका छन् ।
यस्तै ठूला सवारीसाधनको मूल्य अभिवृद्धि करसहित ५६ रुपैयाँ ५० पैसा हुने भए पनि रु ६० तिर्दैआएका स्थानीय समाजसेवी हरिप्रसाद पौडेलले बताउनुभयो । खुद्रा पैसा नभएको भन्दै बढी रकम असुल्ने गरेको उनको भनाइ छ ।
माडी पुग्न निकुञ्ज भित्रबाट करिब ९ किलोमिटर बाटो पार गर्नुपर्छ । माडी क्षेत्रमा सोही बाटो प्रयोग भएर दैनिक ३५ भन्दा बढी ठूला सवारीसाधन र एक सयभन्दा बढी मोटरसाइकलको प्रयोग गर्ने गरेका स्थानीयवासी श्रीप्रसाद दवाडी बताउनुहुन्छ । माडीको जनसङ्ख्या करिब ४० हजा रहेको छ । सोही बाटो हुँदै ठोरीसम्म जान सकिन्छ ।
माडी क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद विक्रम पाण्डे भूमिसुधार तथा व्यवस्था मन्त्री हुनुहुन्छ भने माडीवासी धनीराम पौडेल शिक्षामन्त्री छन् । “एउटै नगरपालिकाबाट दुई÷दुई मन्त्री रहे पनि माडीवासीको समस्याको सुनवाई हुन सकेको छैन,” दवाडीले भने ।
विसं २०६९ मा माडी महोत्सवको उद्घाटन गर्न आउँदा प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत गुनासो गरिएको भए पनि आजसम्म सुनुवाई नभएको दवाडीको गुनासो छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले राष्ट्रिय निकुञ्ज ऐनले निकुञ्जको बाटो प्रयोग गर्दा राजस्व उठाउन निर्देश गरेअनुरुप राजस्व उठाउँदै आएको बताए । रासस
प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार १३:३५