काठमाडौँ, १८ वैशाख । अब समय नपाएका कारण बिरामीले शल्यक्रिया गर्न लामो समय पर्खनु नपर्ने भएको छ ।
ट्रमा सेन्टरले वैशाख ५ गतेबाट ‘विस्तारित अस्पताल सेवा’ (इएचएस) अन्तर्गत नियमित समयपछि साँझ ५ देखि बेलुका ९ बजेसम्म शल्यक्रिया गरिरहेको छ।
नियमित रुपमा दैनिक १२ वटासम्म शल्यक्रिया हुने सेन्टरमा सेवा विस्तार भएपछि थप चारवटासम्म शल्यक्रिया हुने गरेको अस्पताल प्रशासनले जनाएको छ ।
विस्तारित सेवा सुरु भएपछि हिजो आइतबारसम्म ३० जनाले शल्यक्रिया गराइसकेका छन् ।
सेन्टरका कर्मचारी अश्विन बरालले नियमित बहिरङ्ग सेवा अर्थात् ओपिडी नै बिहान ९ देखि ५ बजेसम्म भएकाले हाललाई शल्यक्रिया सेवा विस्तार गरिएको जानकारी दिए ।
अस्पतालमा दैनिक करिब दुई सय बिरामी ओपिडी सेवामा उपचारका लागि आउँछन् ।
ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा विप्लव सापकोटाले विस्तारित सेवाले बिरामीलाई लामो समय कुरेर शल्यक्रिया गर्नुपर्ने झन्झटबाट मुक्ति दिने बताए ।
उनले भने– ‘‘बिरामीले नियमित शल्यक्रिया शुल्कभन्दा बढी तिरेर छिटो गराउँछु भन्छ भने उनीहरुका लागि सजिलो छ । अस्पतालले नियमित शल्यक्रिया शल्यमा ५० प्रतिशत नबढ्ने गरी मात्र विस्तारित सेवामा शुल्क तोकेको छ । त्यसैले धेरै आर्थिक भार पर्दैन ।’’
विशेषगरी दुर्घटनामा परी आपत्कालीन उपचार गराउनुपर्ने घाइतेको सहज रुपमा उपचार गराउने उद्देश्यले निर्माण गरिएको ट्रमामा आउने धेरै बिरामी हाडसँग सम्बन्धित हुने गर्छन् । रासस
प्रकाशित मिति: १८ बैशाख २०७४, सोमबार १५:५५