काठमाडाैँ, १७ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनका विषयमा अब कुनै द्विविधा नराख्न आग्रह गरेका छन् ।
निर्वाचन अनुगमनसम्बन्धी अभिमुखीकरण तथा अन्तक्र्रियामा प्रमुख निर्वाचन आयुक्त डा यादवले लोकतन्त्रका लागि निर्वाचन आधारभूत शर्त भएकाले स्वच्छ र निष्पक्ष निर्वाचन गर्न सबैको भूमिका अहम् हुने बताए ।
निर्वाचन आचारसंहिता विपरीत हुने सबैखाले कार्य नियन्त्रण गर्न निर्देशन दिँदै उनले कुनै दल वा उम्मेदवारका पक्षपोषण नगरी तटस्थ भूमिकामा रहन अनुगमनकर्तालाई सुझाव दिए ।
प्रमुख आयुक्त डा यादवले स्थानीय तहको पहिलो चरणको निर्वाचनको मनोनयन मङगलबार हुने निश्चित भइसकेकाले अनुगमनकर्तालाई ढुक्क भएर आ–आफ्नो कार्य क्षेत्रमा जान निर्देशन दिए ।
अनुगमन अधिकृतलाई प्रविधिको प्रयोग गर्दा होसियारी अपनाउन आग्रह गर्दै उहाँले जसरी भए पनि चुनाव जित्नुपर्छ भन्ने मनोविज्ञानलाई प्रोत्साहन गर्न हुदैँन भने ।
निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले राज्यका अन्य संयन्त्रको जस्तो कमजोर रुपमा नभई तटस्थ रहेर वस्तुपरक ढङ्गले अनुगमनको जिम्मेवारी बहन गर्न निर्देशन दिए ।
आयोगका सचिव गोपीनाथ मैनालीले अनुगमनकर्ताले राजनीतिक दलको प्रचारप्रसार, आमसञ्चार माध्यमले दिएका सामग्री, पर्यवेक्षकको कार्य र निर्वाचनमा संलग्न हुने कर्मचारीको अनुगमन गरी आयोगमा प्रतिवेदन दिने हुँदा सोहीअनुसारको भूमिका निर्वाह गर्नुपर्ने बताए ।
सहसचिव दीपक सुवेदीले मतदाताले कस्तो अवस्थामा मतदान गरे, उम्मेदवारले उम्मेदवारी दिँदाको वातावरण र निर्वाचनमा समग्र सुरक्षाको नियमित प्रतिवेदन दिन सुझाव दिए ।
आयोगले पहिलो चरणको निर्वाचन हुने ३४ जिल्लामा २८ जना सहसचिवलाई निर्वाचन अनुगमनका लागि खटाइएको हो ।
उनलाई वैशाख २० गतेदेखि आगामी जेठ ३ गतेसम्मका लागि स्थानीय तहको निर्वाचनको अनुगमनको जिम्मेवारी तोकिएको छ ।
अनुगमनकर्ताले निर्वाचन प्रचारप्रसार प्रचलित कानुनबमोजिम भए नभएको, पर्यवेक्षकले आचारसंहिताको पालना गरे नगरेको, निर्वाचनसम्बन्धी काम कारबाही स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा भए नभएकोबारे अनुगमन गर्नेछ ।
राजनीतिक दल तथा उम्मेदवारले सहजरूपमा प्रचारप्रसार गर्न पाए नपाएको, मतदानको दिन मतदान केन्द्रमा कसैले कुनै किसिमको डर, धाक वा त्रास देखाई वा अन्य किसिमले अनुचित प्रभाव पारी मतदानको निष्पक्षता र स्वतन्त्रतामा असर पुर्याउने कार्य गरे नगरेको विषयमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी पनि उनीहरुको हुनेछ ।
अनुगमन टोलीले आफू खटिएको मुकामबाट नियमित रूपमा गर्नुपर्ने प्रतिवेदन फ्याक्स वा इमेलमार्फत पठाउनुपर्नेछ । वैशाख ३१ गते पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा निर्वाचन हुँदैछ । रासस
प्रकाशित मिति: १७ बैशाख २०७४, आईतवार १९:१७