काठमाडौँ, १७ वैशाख । विश्वमा १९औँ शताब्दीमा आएर महिलालाई मतदानको अधिकार प्राप्त भएपछि संसद्मा महिलाको प्रतिनिधित्व बढ्दै गएको छ ।
रुवाण्डाको संसदको तल्लो सदनमा महिलाको उपस्थिति ६४ प्रतिशत रहेको छ भने एन्डोरामा ५० प्रतिशत तथा ४८ प्रतिशत महिलाको उपस्थिति रहेको क्युबाको संसद् विश्वमै सबैभन्दा धेरै महिलाको प्रतिनिधित्व रहेको तेस्रो मुलक हो ।
सो जानकारी राष्ट्रिय महिला आयोगले आज यहाँ आयोजित पत्रकारसम्मेलनमा जानकारी दिएको हो ।
नेपालमा राणाकालीन समयमा नगरपालिकाको निर्वाचनदेखि नै महिलाले निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ । विसं २०४८ सालमा भएको निर्वाचनमा प्रतिनिधिसभामा सात र राष्ट्रिय सभामा तीन गरी कुल १० जना महिला निर्वाचित भएका थिए ।
त्यस्तै, विसं २०५६ को निर्वाचनमा २१ महिला निर्वाचित भएका थिए । २०१५ सालको संसदीय निर्वाचनमा ०.०९१ , २०४८ को संसदीय निर्वाचनमा २.४३, २०५१ को संसदीय निर्वाचनमा ३.४२, २०५६ को संसदीय निर्वाचनमा ५.८५, २०६४ को निर्वाचनमा १२.५ तथा २०७० को संसदीय निर्वाचनमा ४.१६ प्रतिशत महिला निर्वाचित भएको इतिहास छ ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष भगवती घिमिरेले आगामी स्थानीय तहको निर्वाचनमा आयोगको नेतृत्वमा महिला अधिकारको क्षेत्रमा कार्यरत विभिन्न ५० वटा संस्थाको सञ्जालले लैङ्गिक अनुगमन गर्ने जानकारी दिए । ७५ जिल्लामा निर्वाचन अनुगमन गर्न करिब एकहजार पाँचसय स्वयम्सेवक अनुगमनका लागि खटाइने उनले बताए ।
घिमिरेले महिला, सीमान्तकृत वर्ग, बहिष्कृत समुदाय जस्तै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, आदिवासी, जनजाति, मधेसी तथा दलितको निर्वाचनसँग सम्बन्धित लैङ्गिक पक्षको अनुगमन गर्ने बताए ।
स्थानीय तहको निर्वाचन लैङ्गिक अनुगमन राष्ट्रिय समितिका संयोजक जीवन शर्माले देशमा जनसङ्ख्याको हिसाबले महिलाको सङ्ख्या बढी भएपनि उम्मेदवारी दिने तथा मतदाताका रुपमा महिलाको सङ्ख्या किन बढ्न सकेन भन्ने विषयमा सञ्जालले अध्ययन गर्ने बताए ।
आयोगले निर्वाचन अवधिभर हटलाइन टेलिफोन, सञ्चारकर्मीका लागि छुट्टै डेस्कको स्थापना तथा गाउँगाउँमा मोबाइल टोली पनि खटाइने जनाएको छ । रासस
प्रकाशित मिति: १७ बैशाख २०७४, आईतवार १९:०२