रसुवा, १७ वैशाख । स्थानीय तहको निर्वाचनमा जिल्लामा पुरुषभन्दा महिलाको सङ्ख्या एक सय ७४ बढी देखिएको छ ।
यहाँ कुल मतदाता सत्ताइस हजार सात सय ५६ छन् । निर्वाचन अधिकृत नवीन खालिङले महिला मतदाता १३ हजार नौ सय ६५ र पुरुष मतदाता १३ हजार सात सय ९१ रहेको जानकारी दिए । मतदानस्थल ३४ र मतदान केन्द्र ४२ निर्धारण भइसकेको छ ।
नयाँ संरचनानुसार रसुवामा पाँच गाउँपालिका कायम भएका छन् । त्रिचालिस हजार जनसङ्ख्या रहेको रसुवाको दक्षिणी क्षेत्रमा तीन र उत्तरी क्षेत्रमा दुई गाउँपालिका छन् । ती गाउँपालिकालाई नौकुण्ड, उत्तरगया, कालिका, गोसाइँकुण्ड र पार्वतीकुण्ड नामकरण गरिएको छ । यही जिल्लामा तीर्थस्थल गोसाइँकुण्ड रहेको छ ।
पाँच गाउँपालिकामा २७ वडा छन् । तिनबाट पाँच पाँच अध्यक्ष र उपाध्यक्ष, २७ वडाध्यक्ष र एक सय आठ सदस्यसहित एक सय ४५ जनप्रतिनिधि निर्वाचित हुने छन् । ती पदमा दलित, महिला र अल्पसङ्ख्यक जाति पनि समावेश गरिनुपर्ने व्यवस्था भएको खालिङले बताए ।
निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गराउने समय नजिकिँदै गए पनि नेकपा (एमाले)ले मात्र उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टीले एक-दुई दिनभित्रै आफ्नो उम्मेदवारको टुङ्गो लगाउने बताएका छन् । एमालेले नौकुण्डका अध्यक्षमा विकास तामाङ र उपाध्यक्षमा सिर्जना तामाङ, कालिका अध्यक्षमा सीतादेवी पौडेल र उपाध्यक्षमा भवानीप्रसाद न्यौपाने, उत्तरगया अध्यक्षमा अशोककुमार घिमिरे र उपाध्यक्षमा चमेली गुरुङ, गोसाइकुण्ड अध्यक्षमा कैसाङनुर्बु तामाङ र उपाध्यक्षमा करञ्याल्पो श्रेष्ठ तामाङ र पार्वतीकुण्ड अध्यक्षमा ल्हाक्पागोम्बु तामाङ र उपाध्यक्षमा नवीना तामाङलाई उम्मेदवार बनाएको एमाले रसुवाका प्रचार विभागका प्रमुख पेम्बा तामाङले बताए ।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा भाग लिन सूचीकृत गराउने दलमा युनाइटेड ग्रीन अग्रनाइजेसन, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक, चुरेभावर लोकतान्त्रिक पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल र नेपाल कम्युनिस्ट पार्टीसमेत गरी नौ दल रहेको जनाएको छ ।
उन्नाइस वर्षपछि हुन लागेको निर्वाचनबाट सक्षम उम्मेदवार चयन भई नेपालको तेस्रो पर्यटकीय गन्तव्यको सुधार, धार्मिक एवम् ऐतिहासिक क्षेत्रको विशेष संरक्षण, जलसम्पदा र जडीबुटीको सदुपयोग, शुद्ध खानेपानीको व्यवस्थापन, सडक विस्तार, जलविद्युत् उत्पादन, युवालाई रोजगार, कृषि र पशुपालनमा आधुनिकता, सिँचाइको व्यवस्थापन, यातायात, घर घरमा टेलिफोनको व्यवस्था हुनुपर्ने यहाँका जनताको माग रहेको स्थानीयवासी भवनाथ पौडेलले बताए ।
स्थानीय तहमै गुणस्तरीय स्वास्थ्योपचार र शिक्षा जस्ता कुरामा पहिलो नजर पुग्ने विश्वास रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले व्यक्त गरे । रासस
प्रकाशित मिति: १७ बैशाख २०७४, आईतवार १६:१७