बागलुङ, १६ वैशाख । बागलुङ नगरपालिका–३ निवासी शिक्षासेवी कुलप्रसाद श्रेष्ठलाई सार्थक प्रकाशन बागलुङले शुक्रबार अभिनन्दन गरेको छ ।
शिक्षा र समाजसेवाका क्षेत्रमा पु¥याएको योगदानस्वरुप श्रेष्ठ अभिनन्दित भएका हुन् । धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्याय र प्रकाशनका संयोजक काजी रोशनले श्रेष्ठलाई दोसल्ला र अभिनन्दनपत्र प्रदान गरे ।
सोही अवसरमा सार्थक प्रकाशनद्वारा प्रकाशित ‘शिक्षा एवम् समाजसेवी कुलप्रसाद श्रेष्ठ व्यक्तित्व र योगदान’ नामक पुस्तकसमेत विमोचन गरिएको थियो । पुस्तकमा १९ व्यक्तिले श्रेष्ठका बारेमा लेखेका लेख समाविष्ट छन् । पुस्तकमा श्रेष्ठले रचना गरेका भजन पनि राखिएको छ । कार्यक्रममा क्याम्पस प्रमुख उपाध्यायले श्रेष्ठ बागलुङको शैक्षिक, सामाजिक विकासको अगुवा अभियानकर्मी भएको बताए ।
एकानब्बेवर्षीय श्रेष्ठको व्यक्तित्वको सम्मानमा पुस्तक प्रकाशन गरिएको प्रकाशनका संयोजक रोशनले बताउनुभयो । श्रेष्ठ बागलुङको शैक्षिक, सामाजिक, राजनीतिक, सांस्कृतिक जागरणमा जीवनभर सक्रिय रहेको उहाँको भनाइ छ । विसं ११९७ मा विद्यामन्दिर ‘हाइस्कुल’ र २००३ सालमा विद्यामन्दिर पुस्तकालय स्थापनाका लागि श्रेष्ठले अगुवाइ गरेका थिए ।
पछि सोही विद्यालयमा अध्यापनसमेत गर्नुभएका श्रेष्ठ २०११ सालमा विद्यामन्दिर पुस्तकालयको पहिलो निर्वाचित अध्यक्षसमेत भएका थिए । व्यापार, व्यवसायमा पनि उत्तिकै सक्रिय श्रेष्ठले २०२० सालमा स्थापित बागलुङ उद्योग वाणिज्य सङ्घको संस्थापक सचिव समेत भएर काम गरेका थिए । कुनै बेला राजनीतिक गतिविधिमा पनि सक्रिय श्रेष्ठ अहिले अध्यात्म चिन्तनमा व्यस्त छन् । रासस
प्रकाशित मिति: १६ बैशाख २०७४, शनिबार १२:५५